विश्वका उत्कृष्ट २५ गन्तव्यमा काठमाडौं

kathmanduकाठमाडौं, १० चैत । विनाशकारी भूकम्प र भारतीय नाकाबन्दीबाट पीडित मुलुकको पर्यटन उद्योगलाई खुसीको खबर छ । संसारकै सबैभन्दा ठूलो ट्राभल वेबसाइट अमेरिकाको ट्रिप एडभाइजर ले यो वर्ष ं(सन् २०१६) का लागि छनोट गरेको संसारका उत्कृष्ट २५ गन्तव्यको सूचीमा काठमाडौं २३ नम्बरमा परेको छ ।kathmandu
यो सूचीमा परेको काठमाडौं दक्षिण एसियाकै पहिलो गन्तव्य सहर हो । पहिलो स्थानमा भने बेलायतको लन्डन सहर परेको छ । दोस्रोमा टर्कीको इस्तानबुल सहर छ । काठमाडौंले अस्ट्रेलियाको सिड्नी र हंगेरीको बुडापेस्टलाई उत्कृष्ट गन्तव्यको सूचीमा पछाडि पारेको छ । ट्रिप एडभाइजरले लाखौं पर्यटकको छनोटपछि संसारका उत्कृष्ट २५ गन्तव्य सूची सार्वजनिक गरेको हो । यी गन्तव्य घुमेका पर्यटकबाट प्राप्त प्रतिक्रिया र सुझाव समेटेर उसले सूची सार्वजनिक गरेको हो ।
‘ट्रिप एडभाइजरको उत्कृष्ट गन्तव्यको सूचीमा काठमाडौं पर्नु हाम्रो पर्यटन क्षेत्रका लागि ठूलो उपलब्धि हो,’ मुलुकका प्रमुख टुर तथा ट्राभल व्यवसायीहरूको छाता संगठन नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का पूर्वअध्यक्ष रामकाजी कोनेले मंगलबार भने, ‘यसबाट आगामी वर्ष मुलुकको पर्यटक आगमनमा आशालाग्दो प्रभाव देखिने निश्चित छ । हामीले आशा गर्नुपर्ने ठाउँ धेरै छन् । यसबाट हामी उत्साहित छौं ।’
ट्रिप एडभाइजरको सूचीमा पर्नु भनेको भूकम्प र नाकाबन्दीपछि पनि संसारभरका पर्यटकका लागि नेपाल सुरक्षित र घुम्नैपर्ने गन्तव्य रहेको पुष्टि भएको उनले बताए । ट्रिप एडभाइजरको उत्कृष्ट सूचीलाई सम्बद्ध सबैले क्यास गर्नुपर्ने उनले बताए । मुलुकको अन्तर्राष्ट्रिय प्रचार–प्रसार र प्रवद्र्धनको जिम्मा लिएको नेपाल पर्यटन बोर्डले यसमा बढी काम गर्नुपर्ने उनको भनाइ छ ।
ुसंसारका ठूला टुर तथा ट्राभल अपरेटरहरूले ट्रिप एडभाइजरको यो सूचीलाई आफ्ना ब्रोसर (जानकारी पुस्तिका) मा राख्ने भएकाले यसबाट नेपाललाई उल्लेख्य फाइदा पुग्छ,ु गण्डकी ट्राभल्सका अध्यक्षसमेत रहेका कोनेले भने, ‘त्यहीअनुसार सरकार, पर्यटन बोर्ड र निजी क्षेत्रले हातेमालो गर्दै गए हाम्रो पर्यटन उद्योगले छलाङ मार्नेमा कुनै शंका छैन ।’
ट्रिप एडभाइजरको उत्कृष्ट सूची, बेलायती राजकुमार ह्यारीको नेपाल भ्रमण, पोखरामा हालै सम्पन्न सार्क विदेश मन्त्रीस्तरीय बैठक र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्झौताले समग्र पर्यटन उद्योगमा सकारात्मक सन्देश गएको उनले बताए । संसारभरका पर्यटकले एक पटक वा धेरै पटक घुमेर काठमाडौंसहित उत्कृष्ट २५ गन्तव्य छनोट गरेका हुन् । ट्रिप एडभाइजर वेबसाइटको सुझाव पछ्याउँदै संसारका लाखौं पर्यटकले आफ्ना भ्रमण गन्तव्य तय गर्ने गरेको कोनेको भनाइ छ ।
पर्यटन व्यवसायीहरूका अनुसार समूहमा भन्दा एक्लै घुम्न रुचाउने लाखौं पर्यटकले ट्रिप एडभाइजरलाई पछ्याउने गर्छन् । यो वेबसाइट यस्तो हो, जसले विश्व पर्यटन बजारलाई ठूलो प्रभाव पार्न सक्छ । ‘उत्कृष्टको सूचीमा परेको नेपालको राजधानी काठमाडौं ऐतिहासिक सम्पदा, प्राचिन मठमन्दिर तथा चित्त हर्ने गाउँहरूले घेरिएको उपत्यका हो,’ ट्रिप एडभाइजरले काठमाडौंबारे आफ्नो उत्कृष्ट सूचीमा लेखेको छ, ‘स्थानीयसँगको घुलमिल, विश्व सम्पदा सूचीमा रहेको दरबार स्क्वायर तथा पर्यटक र पदयात्रीले छुटाउनै नहुने ठमेल काठमाडौंका थप विशेषता हुन् ।’
सन् २०१६ मा संसारका विभिन्न गन्तव्य घुम्ने योजना बनाइरहेका पर्यटकलाई यो सूचीले महत्वपूर्ण सहयोग पुर्‍याउने ट्रिप एडभाइजरले जनाएको छ । ट्रिप एडभाइजरको यो सूचीको तेस्रो स्थानमा मोरक्कोको माराकेच, चौथो स्थानमा फ्रान्सको पेरिस, पाँचौमा कम्बोडियाको साएम रिप, छैठौंमा चेक गणतन्त्रको प्राग, सातौंमा इटालीको रोम, आठौं भियतनामको हनोई, नवौं अमेरिकाको न्युयोर्क, दसौं इन्डोनेसियाको उबुड, एघारौं स्पेनको बार्सिलोना र बाह्रौं स्थानमा पोर्चुगलको लिस्बन सहर परेको नागरिक दैनिकमा समाचार छ ।
- See more at: http://www.lightnepal.com/7246#sthash.JmIKyFWr.dpuf
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment