बेलायती राजकुमार ह्यारीले दिनभर ढुंगा बोके

गोरखा, १३ चैत । नेपाल भ्रमण ६ दिन लम्ब्याएर स्कुल पुनर्निर्माणका लागि उत्तरी गोरखाको लापुबेसी पुगेका बेलायती राजकुमार ह्यारीले शुक्रबार दिनभर डोकोमा ढुंगा बोकेका छन् । काठमाडौंबाट एकाएक हराएका राजकुमार ह्यारी बिहीबार गोरखाको आरुघाटमा मोटर छाडेर साढे तीन घन्टा पैदल दूरी तय गर्दै लापुबेसी पुगेका हुन् ।
राजकुमार ह्यारी लापुबेसीस्थित प्रभातकिरण माध्यमिक विद्यालय निर्माणमा १६ जना ब्रिटिस आर्मीसँगै श्रमदानमा जुटेका छन् । उनको टोलीमा ३ जना नेपाली र उनीसहित १४ जना ब्रिटिस आर्मी छन् । मिडियाको पहुँचभन्दा टाढा रहेर ६ दिनसम्म श्रमदान गर्न लापुबेसी आइपुगेका उनी स्थानीय लापु गेस्टहाउसमा बसेका छन् । बिहीबार राति त्यहीं बसेका उनी शुक्रबार पनि सोही गेस्टहाउसमा बसेका थिए । गाउँमा जे पाइन्छ, त्यही खाने उहाँको इच्छा छ ।
त्यसैअनुसारको व्यवस्था भएको छ, व्यक्तिगत रूपमा श्रमदान गर्न आएको उल्लेख गर्दै उनको टोलीमा दोभासेको काम गर्दै आएका बेलायती सैनिक उमेश पुनले भने, ‘नेपाल भ्रमण औपचारिक भए पनि यो श्रमदान व्यक्तिगत हो । त्यसैले उहाँले समाचार बन्न चाहनुभएको छैन । त्यहाँ पुगेका सञ्चारकर्मीलाई भेट्न र फोटो खिच्न निषेध गरिएको छ ।
बेलायती सैनिकको संस्था टिम रुबिकन भोलिन्टियर ग्रुप ले उक्त विद्यालय भवन निर्माण गरिरहेको छ । त्यसमा १२ जना बेलायती सैनिक एक महिनादेखि स्वयंसेवकका रूपमा कार्यरत छन् । ६ दिन श्रमदान गर्ने गरी ह्यारीसहित पाँचजना शुक्रबारदेखि त्यहाँ थपिएको जानकारी विद्यालयका प्रधानाध्यापक जीव गुरुङले दिए ।
राजकुमार ह्यारीलगायत श्रमदानमा खटेका सबै सैनिकले ‘टिम रुबिकन’ लेखिएको सेतो टिसर्ट र हाफप्यान्ट लगाएर डोकोमा बूढीगण्डकीकिनारबाट विद्यालयसम्म ढुंगा ओसारेका थिए । खाजा खाएर बिहान ८ बजेदेखि काममा खटेका ह्यारीले मध्याह्न १२÷१ बजे खाना खाँदै आराम गरेका थिए । त्यसपछि पुनः पाँच बजेसम्म ढुंगा फुटाउने र बोक्ने काम गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेश गुरुङले बताए ।
ह्यारीले शनिबार जंगलबाट काठ बोक्ने पनि उनले बताए । उनीहरूसँगै ८०(९० जना गाउँले पनि विद्यालय निर्माणमा सरिक हुनेछन्।गोरखाको प्रभातकिरण मावि नै किन छानेको भन्ने प्रश्नमा दोभासे पुनले भने, ‘टिम रुबिकन भोलिन्टियर ग्रुपका तर्फबाट विद्यालय निर्माण गर्न हामी धेरै ठाउँ गएर हेर्‍यौं ।
सिन्धुपाल्चोक र रसुवाका गाउँ घुम्यौं तर लापुबेसीको यो विद्यालयको दृश्यले हाम्रो मन छोयो । अनि पुनर्निर्माणको काम थालेका हौं ।’ बेलायती सैनिकको टोलीले ११ कोठे पक्की भवन बनाएर फर्कने गरी काम गरिरहेको छ। राजकुमार ह्यारी श्रमदान गरेर फर्केपछि मात्र यसबारे सार्वजनिक गर्ने पनि पुनले बताएको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment