|
एसएलआरसमेत बरामद
काठमाडौं: रौतहटबाट एसएलआर बन्दुकसहित भागेका भगौडा प्रहरी जवान छोटेलाल ठकुरलाई प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको छ।
राजधानीको सुन्धारास्थित लुम्बिनी पाहुनाघरमा लुकेर बसेको सुराकीका आधारमा महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले आइतबार बिहान पक्राउ गर्न खोज्दा पेस्तोल ताकेपछि गोली प्रहार गरी नियन्त्रणमा लिएको हो।
महाशाखाको टोलीले लुम्बिनी पाहुनाघरको कोठा नम्बर २०२ मा ठाकुर लुकेर बसेको थाहा पाएपछि पक्राउ गर्न पुग्दा उनीसँग रौतहट गौरका राजकुमार पटेल साथमा थिए। प्रहरीले ठाकुरको दुवै खुट्टामा गोली हानेको छ। ठाकुरलाई उपचारार्थ वीर अस्पतालमा भर्ना गरिएको छ भने पटेललाई अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको छ।
प्रहरीले पटेल र ठाकुर बसेको कोठाबाट एउटा चाइनिज ठूलो पेस्तोल, त्यसमा लोड भएको सात राउन्ड गोलीसहितको म्यागेजिन र एउटा कटुवा पेस्तोल, ठाकुरको प्रहरी जवानको परिचयपत्र बरामद गरेको छ।
महाशाखाका डीएसपी रमेश थापाका अनुसार बरामद पेस्तोल प्रहरीकै भएको पत्ता लागेको छ । महाशाखाले प्रहरी मुख्यालयमा रहेको हतियार अभिलेख हेर्दा उक्त पेस्तोल प्रहरीले नै प्रयोग गरेको तथ्य खुलेको हो। तत्कालीन विद्रोही माओवादीले द्वन्द्वकालमा लुटेको हतियार खरिद बिक्री हुँदै ठाकुरको हातमा पुगेको आशंका प्रहरीको छ।
२०६९ मा जिल्ला प्रहरी कार्यालय रौतहटमा दरबन्दी रहेका बारा कवही जब्दीका ठाकुर एसएलआर बन्दुकसहित भागेपछि भूमिगत सशस्त्र समूहसँग आबद्ध रहेर लुटपाट एवं फिरौती माग्ने कार्यक्रमा संलग्न रहेको सूचना प्रहरीले पाएपछि उनको खोजीकार्य जारी राखेको थियो।ठाकुरले एक वर्ष एसएलआर बन्दुक घरमै राखेर अग्नि भनिने सुनिल जैसवाललाई बिक्री गरेका थिए।
सशस्त्र प्रहरीको हबल्दार जैसवाल पनि हतियारसहित भागेका भगौडा हुन्। ठाकुर एसएलआरसहित भाग्दा रौतहटका प्रहरी इन्चार्ज एसपी पीताम्बर अधिकारी थिए।नारायणी अञ्चल प्रहरीका तत्कालीन प्रमुख एसएसपी सर्वेन्द्र खनालले सुनिल जैसवाललाई २०७२ मा भारतस्थित पटना प्रहरीको सहयोगमा पक्राउ गरी नेपाल ल्याएका थिए। बेचिएको हतियार भने अहिलेसम्म भेटिएको छैन।
ठाकुरले बन्दुक एक लाख ७० हजारमा बिक्री गरेको खुलेको छ।महाशाखाका एसएसपी सर्वेन्द्र खनालका अनुसार ठाकुर भारत-नेपाल आउजाउ गर्ने अपराधी हुन्। उनी भारत र नेपाल दुवै मुलुकको मोस्ट वान्डेट सूचीमा थिए।
'भारतमा समेत ज्यान केस लागे पनि नेपाल आउजाउ गर्दै आएको सूचना प्रहरीसँग थियो। काठमाडौंमा हतियार देखाएर फिरौती उठाउने समूह लुकेर बसेको जानकारी पाएपछि आइतबार पक्राउ गर्न खोज्दा प्रहरीमाथि नै फायर गर्न खोजेपछि गोली प्रहार गर्नुपरेको हो', एसएसपी खनालले भने।
सुटरसमेत रहेका अग्नि र ठाकुर मिलेर आपराधिक समूह नै बनाई विभिन्न भूमिगत समूहसँग मिलेर फिरौती उठाउँदै आएका थिए।
|
0 comments:
Post a Comment