|
काठमाडौं, १४ मंसिर । मधेश आन्दोलन र भारतीय नाकाबन्दी खुलाउने विषयमा सोमबार भएको त्रिपक्षीय वार्ता निष्कर्ष विहीन भएको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा सोमबार भएको त्रिपक्षीय वार्ता सत्तारुढ दल, प्रमुख विपक्षी दल कांग्रेस र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आ–आफ्नो अडान दोहोर्याउँदा निष्कर्ष विहीन भएको हो ।
मधेश आन्दोलन र त्यसपछि भारतीय नाकाबन्दीका कारण मुलुकभरको जनजीवन सकसपूर्ण बनिरहेका बेला राजनीतिक दलहरुको निष्कर्ष विहीन वार्ता जनता निराश हुन थालेका छन् । सोमबारको वार्तामा सरकारले संविधान संशोधन मार्फत माग पूरा गर्न भन्दै आन्दोलन स्थगित गर्न गरेको आग्रहमा मोर्चाले पहिले माग पूरा हुनु पर्ने अडान दोहोर्याएका छन् ।
संघीय सीमांकन हेरफेरको माग राखेर साढे तीन महिनादेखि मोर्चाले तराई क्षेत्रमा आन्दोलन जारी राख्दा इन्धन, औषधि लगायतका अत्यावश्कीय वस्तुको मुलुकमा चरम अभाव देखिएको छ । यसै सन्दर्भमा बस्ने गरेका दलीय वार्ता र हुने गरेका छलफल निरन्तर निष्कर्ष विहीन हुँदै आएका छन् ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आ–आफ्ना अडान छाडेर देश र जनताको भलाइका लागि सोच्न मोर्चालाई आग्रह गरेको सत्तारुढ दल मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले जानकारी दिए । लामो समयदेखि आन्दोलन गर्दा देश संकटमा परेको र जनताले पीडा भोगेको भन्दै ओलीले आन्दोलन स्थगित गर्न गरेको आग्रह मोर्चाले अस्वीकार गरेको छ ।
एमाले नेता माधवकुमार नेपालले सात प्रदेशको अहिलेको सीमांकन स्थगनको प्रस्ताव राखेको त्रिपक्षीय वार्तामा मधेसी मोर्चाका नेताहरुले सरकारले दमन गरेको भन्दै चर्को विरोध गरेको छ ।
दलीय अडानका कारण सोमबारको त्रिपक्षीय वार्ता मूख्य एजेण्डामा प्रवेश नगरी स्थगित भएको हो भने थप तयारीका साथ चाँडै अर्को वार्ता हुने नेताहरुले जानकारी दिए ।
|
0 comments:
Post a Comment