|
काठमाडौं, १४ कात्तिक । उपराष्ट्रपतिको निर्वाचन अघि बसेको सत्तारुढ दलको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दलको साझा उम्मेदवार नन्दबहादुर पुनलाई मतदान गर्न सबैलाई आग्रह गरेका छन् ।
व्यवस्थापिका–संसद् भवन नयाँ बानेश्वरमा शनिबार बसेको सत्तारुढ दलको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले गठबन्धनमा समस्या आए लोकतन्त्र, शान्ति र समृद्धिको प्रक्रियासँगै जान अप्ठ्यारो पर्ने भएकाले इमान्दारितामा दरिद्रपन नदेखाउन आग्रह गरे ।
निर्वाचनका सबै प्रक्रिया पूरा भएपछि भूकम्पपछिको पुनःनिर्माण र नवनिर्माणमा सरकार केन्द्रित हुने र सरकारभन्दा बाहिर रहेका दललाई सरकारमा सहभागी गराउने तथा आन्दोलनमा रहेका दललाई समेत विश्वासमा लिएर अगाडि बढ्ने उनको भनाइ छ ।
यस्तै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अग्निप्रसाद खरेलले राष्ट्रपतिको निर्वाचनमा देखिएको गल्ती तथा कमजोरी नदोहोर्याउन सांसदलाई निर्देशन दिए । राष्ट्रपतिको निर्वाचनमा एउटै उम्मेदवारलाई दुई–दुई स्थानमा मत दिएको, हस्ताक्षर गरेको, अनावश्यक स्थानमा रेजा लगाएको पाइएकाले त्यस्तो नगर्न उनले आग्रह गरे ।
बैठकमा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको राजनीतिक परिवर्तन विश्वले अनुकरण गर्न लायक भएकाले त्यसलाई संस्थागत गर्न पनि साझा उम्मेदवार पुनको विजय आवश्यक रहेको बताए ।
|
0 comments:
Post a Comment