|
काठमाडौं– यसपालीको दसैंमा केन्द्रीय बैंकको अनुमानभन्दा कम नयाँ नोट साटिएको छ । नेपाल राष्ट्र बैंकले अनुमान गरेभन्दा कम नयाँ नोट साटेको जानकारी दिएको हो ।
राष्ट्र बैंकले यसपालि दसैंका लागि ५७ अर्बका नयाँ नोट साट्न तयार पारेको थियो । तर, सर्वसाधारणले त्योभन्दा ४ अर्ब कम नयाँ नोट साटेको प्रवक्ता पंगेनीले बिहीबार नागरिकलाई बताए । 'सर्वसाधारण नयाँ नोट लिन बैंक तथा वित्तीय संस्थासम्म जान सक्ने अवस्था नभएकोले पनि अनुमान अनुसार नसाटिएको हुनुपर्छ,' उनले भने, 'विगतमा पठाएको नोटले नपुगेकोले यसपालि दसैंमा बढी नै साट्ने योजना बनाएका थियौं । तैपनि माग नहुँदा छुट्ट्याइएको नोट पनि साटिएन ।'
पोहोर दसैंमा राष्ट्र बैंकले ४७ अर्ब रुपैयाँ नयाँ नोट साटेको थियो । तैपनि नोट नपाएको भन्दै सर्वसाधारण राष्ट्र बैंकविरुद्ध नारावाजीमा उत्रेका थिए । यसपालि नयाँ नोटको माग बढी आउने अनुमान गरेर पोहोरभन्दा १० अर्ब रुपैयाँ बढी तयार पारिएको थियो ।
नयाँ नोटको माग कम हुनुमा लगातारको बन्द र भारतले लगाएको अघोषित नाकाबन्दीको हात रहेको बताइन्छ । नयाँ नोट लिन बैंक तथा वित्तीय संस्थासम्म सजिलै पुग्ने स्थिति नभएका कारण मागमा कमी आएको बैंकरको ठहर छ ।
यो वर्ष राष्ट्र बैंकले असोजको तेस्रो सातादेखि सर्वसाधारणलाई नयाँ नोट सहटी सुविधा उपलब्ध गराएको थियो । राष्ट्र बैंकले लामो समयदेखि हिन्दुको चाड दसैं र तिहारलाई लक्ष्य गरी विभिन्न दरका नयाँ नोट वितरण गर्दै आएको छ ।
राष्ट्र बैंक आफैंले र बैंक तथा वित्तीय संस्थामार्फत सर्वसाधारणलाई नयाँ नोट साट्ने सुविधा दिएको छ । यस वर्ष पनि सर्वसाधारणका लागि बैंक तथा वित्तीय संस्था, तिनका शाखा र राष्ट्र बैंकबाट नयाँ नोट साट्ने व्यवस्था मिलाएको थियो ।
राष्ट्र बैंकले ५, १०, २०, ५०, १००, ५०० र हजार दरका नयाँ नोट वितरण गर्दै आएको छ । नाकाबन्दी, तराई बन्द लगायत कारणले नयाँ नोटको माग कम हुने अनुमान राष्ट्र बैंकले गरेको थियो । 'हामीले जुन अनुमान गरेका थियौं, त्यही भयो,' प्रवक्ता पंगेनीले भने, 'बिहान–बेलुका कसरी खाना पकाउने भन्ने समस्या भएको बेला नयाँ नोटको जोहो गर्नतिर लाग्ने कुरै भएन ।' यद्यपि यस्तो असहज स्थितिमा पनि पोहोरभन्दा ६ अर्ब बढीका नयाँ नोट वितरण गरिएको उनको भनाइ थियो ।
राष्ट बैंकले सर्वसाधारणलाई बढीमा प्रतिव्यक्ति २२ हजार रुपैयाँ नयाँ नोट साट्ने सुविधा दिएको थियो । उसले विगतको तुलनामा यस वर्ष बैंक तथा वित्तीय संस्थालाई कम मात्र नयाँ नोट दिएको थियो । सुरुमा धेरै नोट लाने, तर वितरण नगरी २÷३ महिनापछि फिर्ता ल्याउने प्रचलन बढेकाले यो वर्ष कम दिइएको केन्द्रीय बैंकको भनाइ छ ।
दसैंअघि सर्वसाधारणलाई वितरण गरेको नयाँ नोट बैंकिङ प्रणालीमा फर्किन थालिसकेको छ । 'व्यक्तिमा गएको नयाँ नोट स–साना पसल, थोक बिक्रेता हुँदै बैंक तथा वित्तीय संस्थामा आउन थालेको छ,' पंगेनीले भने, 'अधिकांश नयाँ नोट आइसके पनि केही तिहारपछि मात्र आउने छ ।'
|
0 comments:
Post a Comment