कार्तिक १४, २०७२- धनगढी क्रिकेट एकेडेमी युवा खेलाडीलाई एक्सपोजर दिने योजनासहित मुम्बई र गोवा भ्रमणमा निस्कँदै थियो। त्यसैका लागि बडादसैंको दिन काठमाडौंबाट धनगढी पुगेको थिएँ। लखनऊ हुँदै शनिबार मुम्बई प्रस्थान गरेका थियौं। त्यही रेलको यात्रामै थाहा भयो, भारत भ्रमणमा रहेको दक्षिण अफ्रिकाले अन्तिम वान–डे अन्तर्राष्ट्रिय क्रिकेट मुम्बईमै खेल्दैछ भन्ने। अनि हेर्न पाइने हो, होइन भन्ने खुल्दुली लाग्न थाल्यो। एक खेल पत्रकारका रूपमा मुम्बईमै पुगेर पनि विश्व क्रिकेटका दुई उत्कृष्ट टिमको प्रतिस्पर्धा हेर्न पाइएन भने पूरा यात्रा नै खल्लो हुने लाग्न थाल्यो। चार वर्षअघिको विश्वकप क्रिकेटको फाइनल भएको वानखेडे स्टेडियमभित्र रहेर खेल हेर्ने आफ्नो मनको भित्री चाह कसैलाई पोख्ने अवस्था थिएन। हाम्रो पूरा टिम २२ जनाको थियो। भारत र दक्षिण अफ्रिकाको पाँच खेलको वान–डे सिरिज २–२ को स्थितिमा थियो। मुम्बईमा जसले जित्यो उसैले सिरिज कब्जा गर्ने थियो। त्यसैले वान–डे सिरिजको ‘फाइनल’ को टिकट पाउन सजिलो थिएन, तैपनि भारतीय क्रिकेटको मुटु मुम्बईमा। झिसमिसे उज्यालोमै मुम्बई पुगेलगत्तै एमसीए (मुम्बई क्रिकेट एसोसिएसन) का प्रशिक्षक गोकुल विष्टसँग भेट भयो। धनगढी एकेडेमीका अध्यक्ष सुवास शाहीले विष्टमार्फत नै मुम्बई र गोवा भ्रमण तय गरेका थिए। उनीसँग दक्षिण अफ्रिकाको भारत भ्रमणबारे कुरा गर्न थाले। चुरो कुराचाहिँ फाइनल वान–डेको टिकट पाउनु थियो। उनले आफ्ना लागि आएको एउटा विशेष पास भएको र त्यसमा आफू नगएर हामीलाई पठाउने पनि बताए। चौबीस घन्टाको रेल यात्राको थकान मेट्नु युवा खेलाडीलाई आवश्यक थियो। उनीहरूलाई जसरी पनि टार्न सकिने भयो। अब रह्यौं, सुवासजी र म। अर्को पास वा टिकट नपाएको स्थितिमा म एक्लैलाई खेल हेर्न जानुपर्ने सुवासजीले बताए। तर, उनैका लागि राखिएको पास लिएर खेल हेर्न मनले मानिरहेको थिएन। घाम चर्कंदै गर्दा फेरि प्रशिक्षक विष्ट देखिए र उनले तपाईंकै लागि आएको भन्दै दुई पास दिएपछि बल्ल वानखेडे छिर्नेमा ढुक्क भएँ। उनलाई धन्यवाद दिंदै हतारहतार हामी स्टेडियमतिर लाग्यौं। “एबीभी, एबीभी” करिब १ किमिको लाइन पार गर्दै वानखेडे स्टेडियममा प्रवेश गर्दा ११ ओभरको खेल भइसकेको थियो। पाहुना टिमका हसिम अमला पेभेलियन फर्किसकेका थिए। क्रिजमा थिए, क्विन्टन डे कक र फाप डु प्लेसिस। यी दुवैले शतक बनाए। विश्व क्रिकेटकै महान् ब्याट्सम्यान हुने अनुमान गरिएका २२ वर्षीय डे कक १ सय ९ रनमा आउट भए। त्यसपछि दक्षिण अफ्रिकी कप्तान एबी डे भिल्लियर्स क्रिजमा आए। प्लेसिसले १ सय ३३ रन जोडेपछि चोटका कारण मैदान छाडे। यी दुईले चौका र छक्का बर्साउँदै करिब ३० हजार भारतीय समर्थकलाई निराश पारेका थिए। अहिलेको विश्वकै सर्वाधिक आकर्षक क्रिकेटर हुन्, भिल्लियर्स। यी आक्रामक ब्याट्सम्यानले करोडौंको मन जितेका छन्। उनले वानखेडेमा भारतीविरुद्ध ६१ बलमै १ सय १९ रन बनाए। उनले तीन चौका र ११ छक्का प्रहार गर्दा भारतीय दर्शकले ‘एबीभी, एबीभी’ भन्दै उनको समर्थनमा हुटिङ गरिरहेका थिए। यसले खेलको कुनै निश्चित सीमा हुँदैन भन्ने सावित गरिरहेको थियो। विश्वकप र अरू प्रतियोगितामा बलरहरूलाई पूरा धुलाई दिइरहेका भिल्लियर्सको खेल टेलिभिजन स्क्रिनमा हेरेको थिएँ। नसोचिएको रूपमा यसपालि प्रत्यक्ष स्टेडियममै हेर्न पाएँ। अहिलेका लिजेन्ड अमलाको ब्याटिङ कला छुटे पनि उनको राम्रो क्याचको साक्षात्कार गर्न पाइयो। क्रिकेट इतिहासमै वान–डेमा एकै टिमका तीन खेलाडीले दोस्रोपल्ट शतक बनाएका हुन्। दुवै उपलब्धि दक्षिण अफ्रिकाले हात पार्यो। यी सन् २०१५ भित्रै भए। पहिलोपल्ट जनवरी, २०१५ मा वेस्ट–इन्डिजविरुद्ध जोहानेसबर्ग र अहिले भारतविरुद्ध वानखेडेमा। उसले ४३८/४ को स्कोर बनायो, जुन भारतीय भूमिमै सर्वाधिक हो। समुद्री किनार नजिकको यो पिचले सिमरलाई सहयोग गर्छ। ठूलो स्कोर बनेको पिचले पछिल्लो समय स्पिनरलाई साथ दिइरहेको थियो। तर, खेल हेर्दा लाग्यो, हरभजन सिंहले किन संन्यास नलिएको? भारतमा पेस बलर नै छैनन्? तर, त्यही पिचमा प्रोटियसका तीव्र गतिका बलर डेल स्टेयन र कागिसो रबाडाले भने सानदार बलिङ गरे। अजिंक्या रहाने (८७) र शिखर धवन (६०) ले भारतलाई केही आस दिलाएका थिए। कप्तान महेन्द्रसिंह धोनी पनि चल्न सकेनन्। वान–डेको कीर्तिमान रोहित शर्मा, सुपरस्टार विराट कोहलीको पनि केही सीप चलेन र भारत २ सय २४ रनमै अलआउट भयो। हारपछि भारतीय टिमका निर्देशक (कार्यवाहक प्रशिक्षक) रवि शास्त्रीले क्युरेटर सुधीर नाइकको आलोचना गरे। यसैलाई लिएर शास्त्रीकै पनि खुबै आलोचना भइरहेको छ। तेन्दुलकर स्ट्यान्ड एमसीएका तत्कालीन अध्यक्ष बारिस्टर सेसराओ क्रिष्णराओ वानखेडेको नाम दिइएको वानखेडे स्टेडियम ४१ वर्षअघि बनाइएको थियो। मन्सुर अली खान (नवाफ अफ पतौडी) को टिम भारतविरुद्ध इंग्ल्यान्डका क्लायब लोयड, वेस्ट–इन्डिजविरुद्ध सुनील गवास्कर दोहोरो शतक बनाएर हिरो भएका यहीं हो। यही पिचमा इंग्ल्यान्डका इयान बोथमले एकै टेस्टमा १३ विकेट लिनुका साथै शतक प्रहार गरेका थिए। हाल भारतीय टिमका प्रशिक्षक (टिम निर्देशक) रहेका रवि शास्त्रीले फस्ट क्लास क्रिकेटको एकै ओभरमा ६ छक्का प्रहार गरेका थिए। भारतले विश्वकप क्रिकेटको दोस्रोपल्ट उपाधि जितेको वानखेडेमै हो। फाइनल र सेमिफाइनलसहित तीन विश्वकप (१९८७, १९९६ र २०११) का ६ खेल वानखेडेमा आयोजना भए। क्रिकेटका ‘भगवान्’ सचिन तेन्दुलकरको अन्तिम खेल दुई वर्षअघि वानखेडेमै भएको थियो। त्यसैले क्रिकेटप्रेमीका लागि वानखेडे स्टेडियमको विशेष महत्त्व रहने गर्छ। ‘सचिन तेन्दुलकर स्ट्यान्ड’ बाटै भारत–दक्षिण अफ्रिकाको फाइनल वान–डे हेरियो। यही बिजनेस क्लासमा रहेका सचिनलाई भने स्क्रिनमा मात्र देखियो। मुम्बईका चर्चित क्रिकेटरहरू सचिन, गवास्कर र विजय मर्चेन्टको नामकरण गरिएकोसहित प्यारापिटलाई आठ स्ट्यान्डमा छुट्याइएको रहेछ। अर्को सपना धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाही ‘ड्रिम फाप्ला’ को अभियानमा अघि बढिरहेका छन्। यो धनगढीमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट स्टेडियम बनाउने अभियान हो, जसले नेपाल सरकारको ‘रेड बुक’ मा यसैपालि प्रवेश पायो। वानखेडेभित्रको व्यवस्थापन हेरेपछि उनले भने, ‘फाप्लालाई पनि यस्तै रूप दिनेछौं।’ नेपालमा सरकारी काम निकै सुस्त हुने भएकाले उनी निजी–सरकारी साझेदारीलाई अघि बढाउने अभियानमा छन्। उनले फाप्ला ‘सपना’ बुन्दै गर्दा मलाई कौतुहल भयो, ‘यस्तो स्टेडियममा रहेर आफ्नै देशको खेल हेर्न पाउँदाको अनुभव कस्तो हुन्छ होला?’ यसको जवाफ दिन सजिलो छैन। त्यसका लागि सरकार, नेपाल क्रिकेट संघ, व्यवसायी र आमनेपालीले ठूलै मिहिनेत गर्नुपर्नेछ। कान्छो संस्करणकै भए पनि नेपालले विश्वकप खेल्ने सपना गतवर्ष पूरा गर्यो। आफ्नै राष्ट्रिय टिमको खेल घरेलु स्टेडियममा हेर्ने आस गर्न सकिन्छ तर तत्काल विश्वास गरिहाल्ने अवस्था भने छैन।
This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
0 comments:
Post a Comment