|
काठमाडौं: नेपाली चलचित्रको बजार पारदर्शी बनाउन लागू गरिने भनिएको ई टिकेटिङ प्रणाली अनिश्चित भएको छ । नेपाली चलचित्रको आम्दानीलाई पारदर्शी बनाउने उद्देश्यले बक्स अफिस स्थापना गर्न पहिलो चरणको कार्यक्रमअन्तर्गत ई टिकेटिङ स्थापना गरिने चलचित्र विकास बोर्डले घोषणा गरेको थियो । बोर्डले कात्तिक १ गतेदेखि उपत्यकाका हलमा ई टिकेटिङ प्रणाली लागू गर्ने भने पनि अहिलेसम्म लागू भएको छैन ।
यसैगरी माघ १ गतेदेखि मोफसलका हलमा यो प्रणाली लागू हुने बोर्डले घोषणा गरेको थियो । चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईले विभिन्न कारणले ई टिकेटिङ व्यवस्था लागू हुन ढिलो भएको बताए । ‘अहिले केही प्राविधिक कारणले ढिलो भएको हो’, उनले भने, ‘यसलाई बोर्डले प्रमुख प्राथमिकतामा राखेको छ । केही ढिलो भए पनि यो प्रणाली लागू हुन्छ ।’
अध्यक्ष राईका अनुसार केही हल अझै पनि ई टिकेटिङ प्रणाली लागू गर्न भौतिक तथा प्राविधिक रूपमा असक्षम भएकाले ढिलाइ भएको हो । यसका लागि हलको जनशक्तिलाई प्रशिक्षण दिने विषयमा कुरा चलिरहेको राईले बताए । ‘ई टिकेटिङका लागि आवश्यक पूर्वाधार र जनशक्ति स्थापना गर्न आर्थिक रूपमा पनि कसरी सहयोग गर्ने भन्ने विषयमा सरोकारवाला पक्षबीच कुरा भइरहेको छ’, उनले भने, ‘सबै सकारात्मक छौं, प्राविधिक कारणले ढिलो भएको हो ।’
सहुलियत वा शून्य ब्याजदरमा ऋण उपलब्ध गराउने प्रयास भइरहेको उनले बताए । ‘ऋण उपलब्ध गराउन सम्भव नभए त्यहाँ कार्यरत जनक्तिलाई दक्ष बनाएर यो प्रणाली लागू गरिन्छ’,राईले भने । यस्तै ई टिकेटिङ संयोजक तथा बोर्डका संयोजक सुरेशदर्पण पोखरेल लामो समयदेखि अमेरिकामा रहेको र प्रदर्शकको संगठन नेपाल चलचित्र संघको बैठक बसेर यससम्बन्धी पहलमा ढिलाइ भएकाले ई टिकेटिङ लागू हुन ढिलो भएको अध्यक्ष राईले बताए ।
इन्धन अभावबाट उत्पन्न असहज परिस्थितिका कारण पनि यो व्यवस्था लागु हुन ढिलो भएको हो । भारतको अघोषित नाकाबन्दीपछि उत्पन्न इन्धन संकटले गर्दा चलचित्रको आम्दानी पारदर्शी बनाउने योजनामा अवरोध आएको छ । चलचित्र निर्माता संघका अध्यक्षसमेत रहेका बोर्ड अध्यक्ष राईले चलचित्रको आम्दानी पारदर्शी बनाउने तथा हलको वर्गीकरण गर्ने योजनालाई आफ्नो प्रमुख प्राथमिकता बताउँदै आएका छन् । केही मल्टिप्लेक्स हलले कम्प्युटराइज्ड प्रविधिबाट टिकट कारोबार गरिरहेका छन् भने धेरैजसो सिंगल स्क्रिनमा भने यो व्यवस्था छैन । एकै छातामुनि धेरै हल भएका गुण, गोपीकृष्ण, अष्टनारायणजस्ता हलले ई टिकेटिङ लागू गरेका छैनन् ।
चलचित्र विकास बोर्डले गत भदौमा नेपाल चलचित्र संघका पदाधिकारीसँगको छलफलमा उपत्यकाका ई–टिकेटिङ प्रणाली लागू भइरहेका हलको विवरण तथा उक्त प्रणाली तत्काल जडान गर्न असक्षम रहेका हल यकिन गरी त्यसको विवरण संघले बोर्डमा पेस गर्न आग्रह गरेको थियो । हलको अवस्थाबारे मौखिक बोर्डमा जानकारी आए पनि लिखित जानकारी आएको छैन । ‘इन्धन नभएर हल नै बन्द हुने अवस्था छ । यस्तो बेलामा कसरी ई टिकेटिङका बारेमा ध्यान दिने ? ’, नेपाल चलचित्र संघका उपत्यका सभापति गोपाल कायस्थले भने, ‘नियमित सो घटाएर चलचित्र प्रदर्शन गर्नुपर्ने अवस्था छ ।’
सबै हलमा ई टिकेटिङको व्यवस्था भए पनि तत्काल बक्स अफिस स्थापना हुने होइन । यसका लागि थप नेटवर्किङ र उपकरण आवश्यक पर्छ । हलमा ई टिकेटिङको व्यवस्था भएपछि यसका डाटालाई नेटवर्कमार्फत एउटा सर्भरमा जोडेर पारदर्शी बक्स अफिस स्थापना गरिन्छ । कार्यान्वयनको चरणमा रहेको चलचित्र नीतिमा पनि चलचित्र वितरण तथा प्रदर्शनमा आर्थिक पारदर्शिताका निम्ति बक्स अफिस प्रणालीको व्यवस्था गरिने उल्लेख छ ।
|
0 comments:
Post a Comment