नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा कसरी आए राजनीतिमा? के हो उनको खुवी? – - See more at:

काठमाडौं : नेपाली काङ्ग्रेसको १३ औं महाधिवेशनबाट सभापतिमा चयन भएका शेरबहादुर देउवाको राजनीतिक जीवन संघर्षपूर्ण छ। सामान्य किसानको परिवारमा जन्मिएका देउवा नेपाली नेतामात्र रहेनन् पटकपटक प्रधानमन्त्रीसमेत बनिसकेका छन्। राजनीतिका सिंढीहरुमा सफलतासँग असफलताका अपजसहरु पनि उनीसँगै जोडिने गर्छन्। नेपाली कांग्रेस विभाजन, संसद विघटन, राजदरबारसँगका सम्बन्ध र त्यसैसँग जोडिएका राजनीतिक घटनाक्रमहरुमा देउवाको आलोचना हुने गर्छ। सबैभन्दा ठूलो राजनीतिक दल उनको काँधमा आएको छ यतिखेर। उनको नेतृत्वले काङ्ग्रेसको भविष्य कस्तो हुने निर्धारण गर्नेछ भने पछिल्लो समय कोइराला वंश परम्पराको ओरिपरि घेरिँदै आएको राजनीतिलाई चिरेको छ। सँगै राष्ट्रिय राजनीतिमा पनि यसले नयाँ आयमहरुका लागि ठाउँ खुला गर्दैछ। -

को हुन् देउवा ?
नेपाली काङ्ग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाको जन्म २००३ सालमा डडेल्धुरा जिल्लाको असीग्राम गाविस वडा नम्वर ५ रूवाखोलामा भएको हो। उनकी एक पत्नी छिन- आरजु राणा देउवा। उनका एक छोरा छन्। हाल देउवा काठमाडौंको बुढानिलकण्ठमा रहँदै आएका छन्।
अध्ययन र विद्यार्थी राजनीति
त्रिभुवन विश्वविद्यालयबाट मानविकी र कानूनमा स्नातक गरेका देउवाले राजनीतिशास्त्रमा स्नातकोत्तर तह उत्तीर्ण गरेका छन्। उनी सन् १९८८–८९ मा बेलायतको प्रतिष्ठित शैक्षिक संस्था लण्डन स्कूल अफ इकोनोमिक्सको राजनीतिशास्त्र विषयका रिसर्च फेलो थिए।
सुदूर पश्चिमाञ्चल विद्यार्थी संघको संस्थापक सदस्य भई प्रजातान्त्रिक आन्दोलनमा समर्पित भएका शेरबहादुर देउवा नेपाली काङ्ग्रेसको छात्र विभाग– नेपाल विद्यार्थी संघको संस्थापक सदस्य पनि हुन्। पछि उनले नेपाल विद्यार्थी संघको अध्यक्षका हैसियतले नेपालको प्रजातान्त्रिक आन्दोलनमा विद्यार्थी समूहलाई समाहित गर्न नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए।
अन्तर्राष्ट्रिय समाजवादी आन्दोलनमा देउवा
प्रजातान्त्रिक समाजवादमा विश्वास राख्ने नेपाली काङ्ग्रेसको नेताका हैसियतले शेरबहादुर देउवा विश्व समाजवादी आन्दोलनसँग पनि अभिन्न रूपले जोडिएका छन्। सन् २००८ देखि २०१२ सम्म सोसलिष्ट इन्टरनेसनलका उपाध्यक्ष रहेका देउवा सन् २०१३ देखि हालसम्म त्यो अन्तर्राष्ट्रिय समाजवादी संगठनको एसिया क्षेत्रको अध्यक्ष र अन्तराष्ट्रिय उपाध्यक्ष छन्।
सरकारमा देउवा
नेता देउवाले सुरूमा गृहमन्त्रीको पद सम्हाले। गिरिजाप्रसाद कोइरालाको मन्त्रिपरिषदमा गृहमन्त्री रहेका उनले सन् १९९५ देखि २००५ सम्मको एक दशकमा तीन पटक मुलुकको प्रधानमन्त्रीको पद सम्हाले। ५० वर्ष भन्दा बढी समय राजनीतिमा समर्पित देउवा सन् ६० को दशकदेखि हालसम्म निरन्तर प्रजातान्त्रिक राजनीतिमा सक्रिय छन्।
जेल जीवन र नजरबन्द
विद्यार्थी राजनीतिकालदेखि नेपाली काङ्ग्रेसले चलाएको प्रजातन्त्रको पुनर्वहालीको आन्दोलनका क्रममा पटक–पटक गरी करिब १० वर्षभन्दा बढी समय देउवाले जेल जीवन यापन गरेका छन्। सन् २००४–२००५ मा ज्ञानेन्द्र शाहले तत्कालीन प्रधानमन्त्री देउवालाई असक्षम बताउँदै पदबाट बर्खास्त गरी प्रतिशोधका आधारमा १० महिना नजरबन्दमा समेत राखेका थिए।
सांसदका रुपमा देउवा
समसामयिक राजनीतिक वृत्तमा शेरबहादुर देउवा वरिष्ठ, प्रतिष्ठित र परिपक्व नाम हो। २०४६ सालमा नेपालमा प्रजातन्त्रको पुनर्स्थापना भएपछिका तीनवटा संसदीय निर्वाचनमा आफ्नो गृह जिल्ला डडेलधुराको एकल निर्वाचन क्षेत्रबाट भारी बहुमतले विजयी हुँदै संसदमा प्रतिनिधित्व गरेका थिए। २०६४ र २०७० मा सम्पन्न संविधानसभाका दुवै चुनावमा डडेलधुरा र कञ्चनपुर तथा डडेलधुरा र कैलाली गरी दुई–दुई ठाउँबाट देउवाले अत्याधिक मतान्तरका साथ विजय हात पार्दै कीर्तिमानी कायम गरेका थिए।
देउवा कार्यकालका उपलब्धी
शेरबहादुर देउवा पहिलो पटक प्रधानमन्त्री भएको समयमा सन् १९९६ मा नेपाल र भारतको सीमाना भएर बग्ने महाकाली नदीको पानीमा दुवै देशको बराबर हक लाग्ने गरी भारतसँग महाकाली सन्धि गरेर पूर्ववर्ती प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका पालामा भएको महाकाली सम्बन्धी सम्झौतासँग जोडिएका अन्यौल र विवादको नेपालका हित हुनेगरी समाधान गरेका थिए।
उनले आफ्नो कार्यकालमा नेपालमा मूल्य अभिवृद्धि कर लागू गरी मुलुकको आर्थिक विकासमा ठूलो टेवा पुर्‍याएका थिए।
उनकै प्रधानमन्त्रित्वकाल सन् २००२ मा अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाइ सुदृढ र शक्तिसम्पन्न बनाउने कानून तर्जुमा गरी संसदबाट पारित गराएका थिए। उनको त्यो कदमले मुलुकबाट भ्रष्टाचारको अन्त्य गर्ने विधिवत् प्रक्रिया सुचारू भएको थियो।
आफैँ पनि पछिडिएको सुदूरपश्चिमाञ्चल क्षेत्रबाट आएका देउवाले देशका पिछडिएका भूभाग, सीमान्तकृत वर्ग, महिला, दलित, जनजाति र मधेसलाई राष्ट्रिय विकास प्रक्रियाको मूलधारमा ल्याउन कर्णाली – दलित – महिला – जनजाति – मधेश (कदमजम) को अवधारणा ल्याई ती वर्ग र समुदायलाई प्रत्यक्ष लाभ हुने विभिन्न कार्ययोजना लागू गर्ने प्रयत्न गरेका थिए।
उनकै पालामा कमैया मुक्तिको घोषणा हुनुका साथै मुक्त कमैयाहरूलाई पुनर्स्थापना गरिएको थियो। त्यसका साथै प्रधानमन्त्रीका हैसियतमा उनले भूमिहीन थारूहरूलाई जग्गा उपलव्ध गराउने र सीमान्तकृत वर्गका जनतालाई सुविधा दिन विभिन्न कार्यक्रमहरू सञ्चालन गराएका थिए।
देउवाले देशमा लागू भएको भूमिसुधार कार्यक्रममा समयानुकूल सुधार गरी जमीनको दोहोरो स्वामित्वको प्रथालाई अन्त्य गरेका थिए। उनको नेतृत्वमा संसदले मुलुकी ऐनको ११ औं संशोधन गरेर महिलालाई समान अधिकार र सम्पत्तिमाथिको हक सुनिश्चित गराएको थियो। उनकै पालामा विशेष वर्ग एवम् समुदायको हितपोषण गर्ने हेतुले राष्ट्रिय महिला आयोग, आदिवासी जनजाति आयोग, दलित आयोगजस्ता विभिन्न आयोगहरू गठन गरिएका थिए।
सुदूरलाई देशसँग जोड्ने नेता
पूर्व–पश्चिम राजमार्गको कर्णाली–चिसापानी पश्चिमको खण्डमा २२ वटा पक्की पुलको निर्माण गराई मुलुकको बाँकी भागबाट अलग–थलग रहेको सुदूरपश्चिमाञ्चललाई राष्ट्रिय यातायात सञ्जालसँग जोडेका थिए।
र, पार्टी सभापति
गिरिजाप्रसाद कोइरालासँग तिक्ततापूर्ण सम्बन्ध र पार्टीभित्रको चरम विवादपछि प्रधानमन्त्री रहेकै समय शेरबहादुर देउवाले कांग्रेस पार्टी फुटाएर नेपाली कांग्रेस प्रजातान्त्रिक गठन गरेका थिए। त्यसका सभापति थिए देउवा। पार्टी फुटपछि नेपाली कांग्रेसले राष्ट्रिय राजनीतिमा कमजोर भूमिका निर्वाह गर्न थाल्यो। र फेरि गिरिजाप्रसाद कोइराला-शेरबहादुर देउवाकै पहलमा पार्टी एकिकरण भयो। एकिकरणपछि पनि पार्टीमा लामो समय ६०/४० को भागवन्डा कायमै रहिरह्यो।
देउवा सभापति भएपछि भागवन्डाको राजनीति सकिने घोषणा गरेका छन्। अबका दिनमा उनैले स्थापित गरेका कतिपय मान्यताहरु विरुद्ध उनी लाग्नुपर्ने अवस्था आउँदैछ। त्यसमा उनी कति सफल हुन्छन् त्यो समयले बताउने छ। पहिलो पोस्ट बाट साभार 
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment