|
म खुशीले रोएँ ह्यारी । म चाहन्थे मेरा आँसुहरु निरन्तर झरिरहून्, त्यसको एउटा खहरे बनोस् र हाम्रा दु:खहरु बगाओस् । मैले यो चिट्ठी तिमीलाई अंग्रेज़ीमा लेखिन किनकी यो तिमीलेमात्रै होइन हाम्रा धेरै नेपालीले पढ्नु छ । यहि चिट्ठीले हामीमध्ये कसैको आँखा खोल्छ कि भन्ने मलाई लागेको छ ।
ह्यारी,
तिमी त युवराज मान्छे, त्यो पनि संसारकै शक्तिशाली देशमध्ये एकको । तिमी त आफ्नो जागिर गर्छौ, देशको लागि सेना भएर लड्छौ, तर हामी साधारण नेपालीभन्दा पनि सामान्य छौँ, हामीलेभन्दा बढी शिर निहुराएर शिष्टाचार गर्छौ । तर उफ़ ! हाम्रा युवराजहरु के-के गर्छन् यो सानो चिट्ठीमा के लेख्नु र ? बि.बि.सी.लाई सोध न है ।
प्यारो राजकुमार, तिमी त लडाईंको मैदानमा खट्ने मान्छे, गुण पनि त गोर्खालीकोजस्तै छ नि है । त्यसैले त तिमी हाम्रा झुप्रोमा अटाएछौ, हाम्रा त्रिपालमुनि अटाएछौ, भत्केका घरहरुमा अटाएछौ, यो भन्दा बढी श्रद्धा अरु के हुन सक्थ्यो र ? तिमीले मलाई मात्रै होइन धेरै भूकम्पपीडितलाई धुरुक्कै रुवायौ ह्यारी ।
हाम्रा युवराज र नवयुवराजहरु आफ्नै देश लुट्न उद्दत छन् तर तिमी त लुटिएको देशमा मलमपट्टी लगाउँदैमा व्यस्त छौ । तिमी भत्किएका बस्तिमा पीडा सुन्दैछौ रे, तर त्यहिँका भूकम्पपीडितका नाममा आएको जस्ता र त्रिपाल निलेर बसेका छन्, हाम्रा नवयुवराजहरु ।
|
0 comments:
Post a Comment