|
ब्रसेल्स: बेल्जियमको राजधानी ब्रसेल्समा मंगलबार बिहान भएका तीन शृंखलाबद्ध र सुनियोजित विस्फोटमा ३४ जना मारिएका छन् । विस्फोटमा परी एक सयजनाभन्दा बढी घाइते भएका छन् ।
ब्रसेल्स विमानस्थल र मेट्रो स्टेसनमा आक्रमण भएपछि हवाई सेवासहित सबै सार्वजनिक यातायात बन्द गरिएका छन् भने सर्वसाधारणलाई घरबाहिर ननिस्कन भनिएको छ । विमानस्थलमा भएका दुई विस्फोटमध्ये एक आत्मघाती हमला भएको र तीनैवटा आक्रमण आतंकवादी भएको बेल्जियमका उच्च अधिकारीले बताएका छन् । अधिकारीहरूले मालबेक मेट्रो स्टेसनमा भएको विस्फोटमा २० जना मारिएको र ५५ जना घाइते भएको बताएका छन् ।
अधिकारीहरूका अनुसार जाभेन्टम विमानस्थलमा भएको विस्फोटमा १४ जना मारिएको र ८१ जनाभन्दा बढी घाइते भएका छन् । मालबेक मेट्रो स्टेसन युरोपियन युनियनको केन्द्रीय कार्यालयनजिकै छ ।
बेल्जियमका प्रधानमन्त्री चाल्र्स मिसेलले मंगलबार ‘देशका लागि कालो दिन' भएको बताएका छन् । विश्वभरिका नेताहरूले ब्रसेल्स घटनालाई ‘आतंकवादी आक्रमण' को संज्ञा दिएका छन् ।पेरिस आक्रमणका एकमात्र जीवित संदिग्ध सलाह एब्देस्लामलाई ब्रसेल्स प्रहरीले समातेको चार दिनपछि यो शृंखलाबद्ध आक्रमण भएको हो ।
विमानस्थलमा पहिलो आक्रमण डिपार्चर हलमा स्थानीय समयअनुसार बिहान ८ बजे भएको थियो भने तत्कालै अर्को विस्फोट भएको थियो । डिपार्चर हलको अमेरिकन एयरलाइन्सको काउन्टरनजिकै विस्फोट भएको हो । पेरिस आक्रमणमा संलग्न आईएसका लडाकुले ब्रसेल्समै बसेर योजना बनाएको भन्दै त्यहाँ केही दिनअघिसम्म सुरक्षाकर्मीले ठूलो खोजी अभियान सुरु गरेका थिए ।
यो आक्रमणपछि ब्रसेल्समा लेभल ४ को आपत्कालीन अवस्था घोषणा गरिएको छ । ब्रसेल्स एयरपोर्टले यात्रुलाई सजिलो बनाउन हेल्पलाइन नम्बर पनि सुरु गरेको छ । आफूलाई बमसँगै उडाउनुअघि आक्रमणकारीले गोली चलाएका थिए ।
एक प्रत्यक्षदर्शी जेफ भर्सेलले ब्रसेल्सबाट रोम जान चेकइन गरिरहेकै बेला विस्फोटको आवाज सुनेको एनबीसी न्युजलाई बताए । ‘एउटा विस्फोट हुनेबित्तिकै अर्को विस्फोटको आवाज आयो र सबै सखाप भयो', उनले भने, ‘चारैतिर धुलैधुलो र सिसैसिसा थियो । भुइँमा जताततै मानिस लडेका थिए । छत खसेको थियो । सबै तहसनहस भएको थियो ।'
विमानस्थलमा आक्रमण भएको आधा घन्टाभन्दा कम समयमै मालबेक मेट्रो स्टेसनमा विस्फोट भएको थियो । ‘मानिसहरू आतंकित थिए । जताततै रगतैरगत थियो । धेरै घाइते थिए । छतले थिचिएका मानिस कराइरहेका थिए । धेरै खुट्टा घाइते भएका कारण हिँड्न सकिरहेका थिएनन् । मानिस भागिरहेका थिए', उनले भने । विस्फोटलगत्तै सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्बिरमा स्टेसनबाट धुवाँको मुस्लो उडिरहेको देखिएको थियो भने घाइतेहरूको पेटीमा उपचार भइरहेको थियो ।
विस्फोटपछि मालबेक मेट्रो स्टेसन खाली गराइएको छ भने सबै मेट्रो स्टेसन बन्द गरिएका छन् । विस्फोटपछि सुरक्षा एजेन्सीले कारबाही जारी राखेका छन् । सर्च अपरेसनका क्रममा विस्फोट नभएको बमसहित दुईवटा आत्मघाती बेल्ट पनि बरामद भएका छन् ।
विस्फोट कसरी भयो भन्ने अहिलेसम्म खुलेको छैन । पेरिस हमलाका एक नाइके सालेह आब्देस्लामको गिरफ्तारीपछि ब्रसेल्सलाई उच्च सतर्क अवस्थामा राखिएको थियो ।
बेल्जियमस्थित पुलिसले यस आक्रमणमा संलग्न संदिग्ध दुई आतंकवादीको तस्बिर सार्वजनिक गरेको छ । यी पनि सन् २०१५ नोभेम्बरमा पेरिस आक्रमणमा संलग्नहरू भएको बेल्जियम पुलिसले दाबी गरेको छ । यी दुईको नाम नाजिम लाचराऊ र मोहम्मद अबरिनी रहेको जानकारी प्रहरीले दिएको छ । ब्रसेल्स आक्रमणपछि युरोप, अमेरिका र एसिया क्षेत्रका अधिकांश सहरका विमानस्थलमा सुरक्षाव्यवस्था कडा पारिएको छ ।

|

0 comments:
Post a Comment