|
काठमाडौं, ११ चैत । आफ्नै घरेलु मैदानमा जारी आइसीसी टी ट्वान्टी विश्ककप क्रिकेट प्रतियोगितामा भारतले बंगलादेशलाई एक रनले पराजित गरेको छ ।
बेङ्लोरमा बुधबार राति भएको खेलमा भारतले अन्तिम तीन बलमा लगातार तीन विकेट लिँदै जित हात पारेको हो ।खेलको अन्तिम ओभरमा बंगलादेशका लागि ११ रन आवश्यक थियो । भारतीय टिमका कप्तान महेन्द्र सिंह धोनीले बलिङको जिम्मा हार्दिक पाण्डेयलाई दिए ।
पहिलो बलमा एक रन दिएर बंगलादेशलाई दबाबमा राखेका उनले दोस्रो र तेस्रो बलमा लगातार चौका ब्यहोरे । तीन बल बाँकी रहँदा बंगलादेश जितको निकट पुगिसकेको थियो । उसलाई जितका
लागि केवल दुई रन जरुरी थियो भने बराबरी गर्न एक रनमात्र भए पुग्थ्यो ।
तर पाण्डेयको चौथो बलमा बंगलादेशका ब्याट्सम्यान मुस्फिकर रहिम बाहिरिए । पाँचौ बलमा महमदुल्लाह पनि बाहिरिए । अन्तिम बलमा बंगलादेशलाई जितका लागि दुई रन जरुरी थियो भने भारतका लागि विकेटको आवश्यकता थियो ।
निकै रोमाञ्चक मोडमा पुगेको म्याचमा अन्तिम बल फाल्ने क्रममा पाण्डेयले ब्याट्सम्यानलाई बिट गर्दै बल विकेट किपरको हातमा र्पुयाए । यही क्रममा रन लिन ब्याट्सम्यानहरु दौडिएपछि धोनीले स्टम्प उडाउँदै टिमलाई जित दिलाए ।
यसअघि खेलमा पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४६ रन बनाएको थियो । भारतका लागि सुरेश रैनाले सर्वाधिक ३० रन जोडे । त्यस्तै शिखर धवनले २३, विराट कोहलीले २४ र रोहित शर्माले १८ रन बनाए ।
जवाफमा १४७ रनको लक्ष्य पछ्याएको बंगलादेशले २० ओभरमा ९ विकेट गुमाएर १४५ रन मात्रै बनाउन सक्यो । बंगलादेशका लागि तमिम ईकबालले सर्वा्धिक ३५ रन जोडे । त्यस्तै सब्बीर रहमानले २६, शकीब अल हसनले २२ र सौम्य सरकारले २१ रन बनाए ।
जितसँगै भारतले सेमिफाइनल पुग्ने सम्भावना बलियो पारेको छ भने तीन खेलमा पराजय व्यहोरिसकेको बंगलादेश सुपर टेनबाटै घर फर्किने निश्चित भएको छ ।
|
0 comments:
Post a Comment