|
काठमाडौं, १२ चैत । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले हालै चीनसँगको भएको पारवहन सम्झौता देखि नेपालको नयाँ संविधानको स्वागत गर्ने चीनको कार्यप्रति टिप्पणी गरेका छन् ।
रिपोर्टर्स क्लव नेपालले शुक्रबार काठमाडौंमा गरेको साक्षात्कारमा उनले नेपाली जनताले स्वागत र नस्वीकारेको संविधानलाई छिमेकीमूलक चीनले स्वागत गर्नुको कुनै अर्थ नभएको बताए ।
उनले भने,‘ सम्झौतामा नयाँ केही छैन । यो सन् २००९ मै अघि बढीसकेको कुराहरु हुन । ठूला कुरा पाईयो भन्ने केही छैन । कुनै डंका पिटाउनु पर्दैन । जलस्रोत, सञ्चार, यातायात, मानव संसाधानको विकास र तत्कालीन आवश्यकतामा केही गर्न प्रधानमन्त्रीले सकेनन् ।’
नेपाल र चीनबीच पारवहन सहित १० बुँदे भएको सम्झौता र १५ बुँदे संयुक्त विज्ञप्तिप्रति भारत बेखुस रहेको कतिपयले बताउने गरेका छन् । यही अवस्थामा बिहीबार नेपालका लागि भारतीय राजदूत रञ्जित रेले आमन्त्रण गरेको दिवा भोजमा सरिक भएका यादवको शुक्रबार उक्त धारणा सार्वजनिक भएको हो ।
बिहीबार यादव सहित मधेशी मोर्चाका नेताहरु लैनचौरस्थित भारतीय दूतावास गएका थिए भने सो क्रममा राजदूत रेसँगको भएको भेटवार्ता गोप्य राखिएको छ । राजदूत रेसँग भएको भेटवार्ताका विषयमा केही सार्वजनिक नगरेका यादवले चीनसँग भएको पारवहन सम्झौता प्रधानमन्त्री केपी शर्मा ओलीको खुबीले नभएको टिप्पणी गरे ।
पूर्व परराष्ट्रमन्त्री समेत रहेका अध्यक्ष यादवले पहिले देखि नै चीनले पारवहन सम्झौताको गृहकार्य र नेपालसँग छलफल गरिरहेकाले अहिले त्यसले पूर्णता मात्रै पाएको दावी गरे । चीनले नेपाललाई सक्दो सहयोग गर्न चाहेको भएपनि ओली नेतृत्व सरकारसँग त्यसलाई प्राप्त गर्ने क्षमता नभएको दावी गर्दै माग्नेको भाँडो नै सानो भएको टिप्पणी गरे ।
उनले चीन सधै सम्बन्ध राम्रो रहिआएको नेपालको निकटतम छिमेकी मुलुक भएकोमा अझै राम्रो हुनु पर्ने धारणा राख्दै अहिले प्रधानमन्त्री ओलीको खुबीले त्यस्तो नभएको दावी गरे । उनले प्रधानमन्त्री ओलीले नेपालको भूराजनीतिलाई नबुझेसम्म मुलुक आगाडि बढ्न नसक्ने भन्दै नेपाल, भारत र चीनवीच सम्बन्ध राम्रो रहँदै आए पनि कहिले काही नजानेर द्विविधाले समस्या आउने गरेको दावी गरे ।
मुलुकको समस्या समाधानकोलागि सरकारसँग चैत महिनासम्मको मात्रै समय भएको भन्दै यादवले यो महिनामा पनि समस्या समाधान नभए आन्दोलन निश्चित रहेको बताए । उनले भने,‘ तराई, पहाड, हिमाल मिलेर अब शान्तिपूर्ण, अहिंसात्मक संयूक्त जनआन्दोलन हुन्छ । नेपाली जनता अब अधिकार विहीन भएर महंगी, भ्रंष्टाचार र कालाबजारी सहेर बस्दैन । जनता विद्रोहमा जान्छ । सरकारसँग चैत महिना भरिको अवसर छ तर मलाई लाग्दैन यो सरकारले समयमको सदुपयोग गर्ला ।’
संबैधानिक राजतन्त्र र हिन्दु राष्ट्रको अभियान चलाउने उपप्रधानमन्त्री कमल थापासँग संविधान, लोकतन्त्र र विधिको शासनको पक्षमा बोल्ने हैसियत नभएको भन्दै उनले संघीयता, लोकतान्त्रिक गणतन्त्रको नेतृत्व कुनै पनि हालतमा गर्न नसक्ने ठोकुवा गरे ।
|
0 comments:
Post a Comment