|
काठमाडौं,असोज ११ । पूर्वमन्त्री एवं वरिष्ठ चिकित्सक उपेन्द्र देवकोटाको संयोजकत्वमा गठन गरिएको राष्ट्रिय जागरण अभियान, नेपालले नेपालको आन्तरीक राजनीतिमा गैर कुटनीतिक एवं अमर्यादित रुपमा हात हालेर भारतले नाकाबन्दी लगाउने, संविधान मान्नका लागि सर्तहरु राख्ने र यहाँका असन्तुष्ट समुहहरुलाई उकास्ने काम गरेको भन्दै त्यसका विरुद्ध सबै देशभक्त नेपालीहरु एकजुट भएर सामना गर्न आव्हन गरेको छ ।
अभियानले भारतले सधै नेपालको संक्रमणकालको मौका ढुकेर नेपालमा हस्तक्षप गरिरहेको दावी गरेको छ । भारतको यस्तो प्रवृत्तिका विरुद्धमा सबैले नागरिकले लड्नु पर्ने बताएको छ ।
अभियानले नेपालमा भारतको राजनीतिक हस्तक्षेप र नाकाबन्दीभित्रको वास्तविकतालाई जनताका बीचमा लैजान असोज १२ गतेदेखि काठमाडौं केन्द्रीत अभियान सुरुगर्ने र यसलाई देशव्यापी बनाउदै जाने बताएको छ ।
अभियानका प्रवत्ता डा.विनोद न्यौपानेले जारी गरेको विज्ञप्ति मार्फत भारतबाट बारम्बार हुने यस्ता अवरोधहरुको अन्य स्थायी विकल्पहरु खोज्न नेपाल सरकार समक्ष माग समेत गरेको छ ।
विज्ञप्तिमा भनिएको छ – आजको अवस्था सिर्जना हुनुमा इतिहासमा आफूले जान-अञ्जानमा गरेका गम्भीर गल्तीहरु जिम्मेवार रहेको तथ्यलाई मनन् गरेर जनताबाट विश्वास आर्जन गर्नका लागि दलहरुले जनताका बीचमा गएर प्रायश्चित गर्न जरुरी रहेको छ ।
|
0 comments:
Post a Comment