|
दुवै पार्टीले कुनै नाम सार्वजनिक गर्ने भन्दा पनि अन्य दलहरुसँग छलफल गरेर उम्मेदवारी चयन गर्ने रणनीति बनाएका छन्। उम्मेदवारीबारे टुंगो लगाउन एमाले स्थायी समितिको बैठक सोमबार बिहान बोलाइएको छ। कांग्रेसको शनिबार बैठक बसे पनि निर्णय केही भएन।
कांग्रेसले समर्थन जुटाउनका लागि एमाओवादी र मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)लगायतका अन्य दलहरुसँग अनौपचारिक रुपमा वार्ता गरिरहेको छ। सरकारमा सहभागी भएका एमाओवादी र मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)ले एमालेले उम्मेदवारी दिए समर्थन गर्नुपर्ने नैतिक बन्धन भए पनि प्रधानमन्त्री र राष्ट्रपति पद एकै दलले लिन नहुनेमा उनीहरु सचेत देखिएका छन्। त्यसैले राष्ट्रपति दिएर पनि कांग्रेसलाई समेट्नुपर्ने पक्षमा एमाओवादी र मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) केही सकारात्मक देखिएका छन्।
राष्ट्रपतिका लागि केही नाम अहिले चर्चामा छन्। एमालेबाट राष्ट्रपति पदका लागि पार्टी उपाध्यक्ष विद्या भण्डारी र सभामुखबाट राजीनामा दिएका सुवास नेम्वाङको नाम अगाडि सारेको छ ।त्यसैगरी झलनाथ खनाल र माधव नेपालको नाम पनि चर्चामा आए पनि नेपालले आफू इच्छुक नरहेको बताइसकेका छन्।
एमालेका संस्थापक नेता स्व.मदन भण्डारीकी पत्नी विद्यालाई पहिलो महिला राष्ट्रपति बनाउनुपर्ने पक्षमा प्रधानमन्त्री ओलीसहितका नेताहरु छन् भने एउटा पक्षले संविधानसभा र संसद्को सफल नेतृत्व गरिसकेका र समन्वयकारी भूमिका कारण विवादमा नआएका नेम्वाङलाई नै बनाउनुपर्ने माग अघि सारेको छ ।
त्यसैगरी कांग्रेसबाट पुराना नेता केबी गुरुङ र दलित समुदायका मानबहादुर विश्वकर्माको नाम चर्चामा छ। तर पछिल्लोपटक खिलराज रेग्मीको नाम पनि कांग्रेस बृत्तबाटै चर्चामा ल्याइएको छ। कांग्रेसभित्रबाटै चर्चामा ल्याइएका रेग्मीको हकमा एमाओवादी सकारात्मक हुनसक्ने बताइएको छ। दक्षिण छिमेकीले समेत रुचाएका रेग्मीको नाम अचानक चर्चामा ल्याउनुलाई अर्थपूर्ण मानिएको छ।
एमालेभित्र पनि दुवै पद आफै लिनुभन्दा राष्ट्रपति पद दिएर कांग्रेसलाई सरकारमा सहभागी बनाउनुपर्ने र त्यसले नयाँ संविधानको कार्यान्वयन यात्रा सहज हुने, तीन दलको एकता पनि कायम हुने तर्क अघि सारिएको छ। यसबारेमा कांग्रेस र एमालेका युवा नेताहरुबीच अनौचारिक तहमा वार्ता भइरहेको छ।
त्यसैगरी मधेसी मोर्चाका महन्थ ठाकुरलाई राष्ट्रपति बनाए तराई मधेसलाई समेटिने र आन्दोलनको पनि सम्बोधन हुने तर्क पनि एउटा कोणबाट उठाइएको छ। त्यसैगरी अहिलेका राष्ट्रपति रामवरण यादवलाई नै निरन्तरता दिनुपर्ने पक्षमा पनि एउटा पक्षबाट लबिङ भइरहेको छ ।
सहमतिका आधारमा राष्ट्रपति र उपराष्ट्रपति चयन गर्ने दलहरुको प्रयास सफल हुन सकेन। सहमतिका आधारमा आइतबार दिउँसो १ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समयसिमा तोकिएको थियो। तर सत्तारुढ दल र प्रमुख प्रतिपक्षी कांग्रेसका नेताहरुबीच विभिन्न चरणमा भएका औपचारिक तथा अनौपचारिक वार्ताबाट सहमति हुन नसकेपछि अब दुवै पदमा कात्तिक ११ गते मतदान हुनेछ ।
राष्ट्रपति र उपराष्ट्रपति दुवै पदमा बहुमतीय प्रक्रिया प्रारम्भ भएको छ। संसद् सचिवालयले दुवै पदमा उम्मेदवारी दर्ता र मतदानलगायत निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ।नेपालको संविधानको धारा २९७ को उपधारा ९२० बमोजिम राजनीतिक सहमतिका आधारमा ती पदमा उम्मेदवारीको प्रस्ताव दर्ता नभएपछि बहुमतीय प्रक्रिया प्रारम्भ हुने भएको हो ।
संविधानको धारा २९७ को उपधारा ९३० बमोजिम अब राष्ट्रपति र उपराष्ट्रपति पदमा उम्मेदवारी प्रस्ताव दर्ता गर्नुपर्नेछ।उक्त प्रयोजनका लागि यही कात्तिक १० गते बिहान १० बजेदेखि अपराह्न १ बजेसम्म उम्मेदवारको प्रस्ताव दर्ता गर्नुपर्नेछ ।
सहमतिमा उम्मेदवारी दिने म्याद सकिए पनि दलहरुबीच सहमति खोज्ने प्रयास भने जारी छ ।राष्ट्रपति तथा उपराष्ट्रपति पदमा सहमतिका आधारमा उम्मेदवारी दिने पहल स्वरुप प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बोलाएको सर्वदलीय बैठकमा कुनै सहमति हुन सकेन। गम्भीर छलफल नै नभइकन बैठक सकिएको छ ।
|
0 comments:
Post a Comment