|
काठमाडौं, कात्तिक ११ । कमरेड सागरसँग भेट राजनीतिक यात्राकै क्रममा मदन भण्डारीसँग विद्या भण्डारीको पहिलो भेट ०३६ मा भएको थियो । मदन भण्डारीले आफ्नो परिचय कमरेड सागर नामबाट दिएका थिए । उनलाई सागर नै मदन भण्डारी हो भन्ने थाहा थिएन । कार्यकर्ता प्रशिक्षण दिन मदन भण्डारी सागर बनेर भोजपुर आएका थिए । पछि बिस्तारै सम्बन्ध बढ्दै गयो ।
उनी र मदन भण्डारीबीच भोजपुरमा करिब दुईपटक मात्र भेट भएको थियो । तेस्रो भेट विराटनगरमा भएको थियो । उनीहरूबीच सम्बन्ध बढाउने काम भने हाल संघीय समाजवादी फोरमका वरिष्ठ नेता रहेका अशोक राईले गरेका थिए । उनले खाना खाने ठाउँ एकै स्थानमा बनाइदिनेदेखि बसमा यात्रा गर्दा पनि एकै स्थानमा सिट मिलाइदिने गर्थे । उनले मदनलाई विद्या भण्डारीबारे सबै भनेका थिए । अशोक राईलाई विद्या भण्डारी र उनको परिवारबारे राम्रो जानकारी थियो ।
मदन र विद्याबीच सम्बन्ध विस्तारदेखि विवाह गराउनसम्म अशोक राईको मुख्य भूमिका थियो । घरसँग सम्बन्धविच्छेद र विवाह उनी राजनीतिमा लागेको थाहा नपाउँदासम्म उनको घरपरिवारसँग सम्बन्ध राम्रो थियो । तर, अनेरास्ववियुको पाँचौँ राष्ट्रिय सम्मेलनमा सहभागी हुन काठमाडौं गएपछि भने घरका सबैले थाहा पाए । त्यो सम्मेलनमा उनी कलेजबाट प्रतिनिधि बनेकी थिइन् । घरमा थाहै नदिई सम्मेलनमा गएपछि उनका काका खगेन्द्र खोज्नलाई धरानसम्म पुगेका थिए ।
सम्मेलन सकाएर फर्केपछि भने परिवारसँगको सम्बन्ध चिसिँदै गयो । उनलाई विवाह गर्न दबाब बढ्न थाल्यो । त्यसैवेला पार्टीले पनि मदन भण्डारीसँग विवाह गर्ने प्रस्ताव ल्यायो । सुरुमा विवाह नगर्ने सोचमा रहेकी विद्या पार्टीले पटक–पटक कुरा उठाएपछि भने सोच्न बाध्य भइन् । विवाहको कुरा चलेको दुई वर्षपछि पार्टीमा निवेदन दिइन् । पार्टीले सहमति दिएपछि ०३९ साउन २४ गते पार्टीकै व्यवस्थापनमा मदन भण्डारीसँग उनको विवाह भयो । उनी एक्लैको निर्णयमा विवाह भएको थियो ।
विवाहमा उनका माइती पक्षका कोही पनि सामेल थिएनन् । उनको आमासँगको भेट पनि ठूली छोरीको जन्म भएपछि मात्र भएको थियो । विवाहपछि उनी विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसमा स्नातक अध्ययन गर्न भर्ना भइन् । सोही वर्ष उनले स्ववियु निर्वाचनमा कोषाध्यक्ष पदमा चुनाव जितिन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
|
0 comments:
Post a Comment