|
उम्मेदवारी दर्ताका लागि गुरुङसहित कांग्रेसका नेता तथा सभासद्हरु संसद् सचिवालय पुगेका छन्। संसद् भवन नयाँ बानेश्वरमा मंगलबार बिहान बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले केबी गुरूङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
बिहान पार्टी सभापति सुशील कोइरालाको निवासमा बसेको पदाधिकारी बैठकले उम्मेदवार तय गर्ने जिम्मा केन्द्रीय समितिलाई दिएको हो ।
उपराष्ट्रपतिमा अमिय कुमार यादवलाई उठाउने निर्णय भएको छ। उनी सिराहका सभासद् हुन्।
कांग्रेसले आफ्नो उम्मेदवारको पक्षमा समर्थन जुटाउन संसद्मा रहेका दलहरुसँग विभिन्न चरणमा वार्ता तथा परामर्श गरिरहेको छ । एमालेले पार्टी उपाध्यक्ष विद्या भण्डारीलाई उम्मेदवार बनाइसकेको छ ।
कांग्रेस सभापति सुशील कोइरालाले सोमबार नै केबी गुरुङलाई राष्ट्रपतिको उम्मेदवारका रुपमा प्रस्ताव गरेका छन्। लामो राजनीतिक इतिहास बोकेका गुरुङ कांग्रेस संस्थापक नेता बीपी कोइरालाका अनुयायी हुन्।
बीपीले २०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति लिएर नेपाल फर्कनुअघि गुरुङ, वासु कोइराला र धर्म गौतमलाई तत्कालीन राजाले के गर्छन् भनेर परीक्षण गर्न नेपाल पठाइएको थियो। नेपाल आउनु अघिल्लो दिन बीपीले गुरुङसहित तीनैजनालाई बोलाएर सँगै डिनर खाएका थिए।
त्यसलाई गणेशमान सिंहले भने 'नेपाल जानु सुसाइट र भारतमै बस्नु पोइजन' भनेका थिए। उनीहरू २०३३ साल कात्तिक २५ गते नेपाल आएका थिए । उनीहरूलाई तत्कालीन शासकले एयरपोर्टबाटै पक्राउ गरेको थियो।
गुरुङलाई ५५ नाल बारुद भित्र्याएको अभियोग लगाएको थियो। उनीहरूलाई मार्ने तयारी गरिरहेका बेला जनमतसंग्रह घोषणा भएकाले उनीहरू बच्न सफल भएका थिए। जनमतसंग्रह हुनु केही दिनअघि गुरुङकी पत्नीलाई उनका भाइले अन्तिम भेट भन्दै जेलमा भेट्न लगेका थिए। गुरुङ अहिले संसद्को संसदीय सुनुवाइ समितिका सभापति छन्।
|
0 comments:
Post a Comment