|
अफगान–पाकिस्तानको ज्यादै विकट पहाडी क्षेत्रमा भूकम्प गएका कारण त्यस क्षेत्रमा उद्धार दल पठाउन कठिन भएको दुवै देशका सरकारले जनाएका छन्। विकट पहाडी क्षेत्र भएका कारण भूकम्प प्रभावित क्षेत्रमा के कति क्षति पुगेको छ भन्ने अझै यकिन हुन सकेको छैन । ती क्षेत्रमा अझै पनि सरकारी उद्धार टोली पुग्न सकेका छैनन् । ती क्षेत्रमा तालिबानको सशक्त उपस्थिति छ । तालिबान विद्रोहीलाई उद्धार कार्यमा लाग्न अफगान सरकारले आग्रह समेत गरेको छ ।
पाकिस्तानी क्षेत्रमा भूकम्पका कारण काराकोरम हिमाली क्षेत्रका कम्तीमा दुई हिमताल फुटेको र यसले त्यहाँ बाढीको खतरा बढाएको पाकिस्तानी अधिकारीहरुले जनाएका छन् । उता अफगानको हिमाली क्षेत्रमा भूकम्पपछि अनुकम्पनका डरले स्थानीय घरबाहिर ठिहीमा बस्न बाध्य छन् । निरन्तर वर्षाका कारण त्यस क्षेत्रमा हवाई उद्धार पनि कठिन भएको अफगान अधिकारीले जनाएका छन्। अफगान क्षेत्रमा पीडितलाई बाँड्न पर्याप्त खाद्यसामग्री र अन्य अत्यावश्यक औषधि नरहेको कुनार प्रान्तका प्रहरी प्रमुख अब्दुल हबिब सैयद खिलले बताएका छन्।
'चार दिनदेखि लगातार पानी परिरहेकाले यहाँ ज्यादै चिसो छ,' उनले भने, 'यस्तो अवस्थामा उद्धार कार्य झन् कठिन भएको छ ।'
अफगानी राष्ट्रपति असरफ घानीले दुर्गम क्षेत्रमा गएको भूकम्पका कारण ती क्षेत्रका सर्वसाधारणको जीवन धरापमा परेको जनाएका छन् । मुख्य कार्यकारी अब्दुल्लाह अब्दुल्लाहको अनुमान छ– भूकम्पका कारण मर्नेको संख्या अझै बढ्न सक्छ ।
भूकम्पमा स्कुल भवनले थिची १२ स्कुले बालिकाको निधन भएको अफगानको टाक्कर प्रान्तका अधिकारीले जनाएका छन् । यसबीच, मंगलबार पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले खैबर पख्तुन्वा राज्यको साङ्ला जिल्लाको भ्रमण गरेका छन् । साङ्लामा भूकम्पका कारण कम्तीमा ४९ व्यक्तिको निधन भएको छ । प्रधानमन्त्री सरिफले भूकम्प प्रभावितलाई उद्धार र पुनःस्थापना गर्न पाकिस्तान सक्षम भएको जनाएका छन् ।
भूकम्पपछि फेसबुकले 'सेफ्टी चेक' एप सुरु गरेको छ । जसअन्तर्गत भूकम्प प्रभावित क्षेत्रका व्यक्तिले सो एप प्रयोग गरी आफू सुरक्षित भएको जनाउ दिन सक्छन् । गुगलले पनि यस्तै एप 'पर्सन फाइन्डर' सुरु गरेको छ ।
युएस जियोलजिकल सर्भेका अनुसार हिन्दुकुश क्षेत्रमा २ सय किमीमुनि भूकम्प गएको हो । भूकम्पपछिका कैयौं अनुकम्प गएको र त्यसले पश्चिमी क्षेत्रलाई प्रभावित पारेको जनाइएको छ । अधिकांश अनुकम्प ४.० मापन गरिएका छन् ।
भूकम्पको धक्का काबुलदेखि नेपाल तथा भारतको राजधानी नयाँदिल्लीसम्म अनुभव गरिएको थियो । भूकम्पका कारण इन्डियन प्लेट र युरेसियन प्लेट हरेक वर्ष ४ देखि ५ सेमी नजिक हुने गरेको अध्ययनले देखाएको छ ।
सन् २००५ मा पाकिस्तानी कस्मिर क्षेत्रमा ७.५ म्याग्निचुडको भूकम्पले ७५ हजारभन्दा बढीको निधन भएको थियो ।
गएको वैशाखमा नेपालमा गएको भूकम्पका कारण ९ हजारभन्दा बढी मानिसको निधन भएको थियो भने ९ लाख मानिस घरबारविहीन छन् ।
भूकम्पको भविष्यवाणी
भूकम्पको भविष्यवाणी गर्न वैज्ञानिकहरु सक्षम नभएको जानकारहरु बताउँछन् । विज्ञहरुका अनुसार केही सेकेन्डअघि मात्रै यसबारे जान्न सकिए पनि यसले ठूलो धनजन क्षति रोक्न सकिन्न।जापानमा भूकम्प जानु केही सेकेन्डअघि पत्ता लगाउने प्रविधि बनाइएको छ । यो प्रविधिबाट बुलेट रेल र परमाणु संयन्त्र स्वतः बन्द गर्ने सुविधा मात्रै छ ।
विज्ञहरुका अनुसार भूकम्पको प्राथमिक तरंग ६ किमि प्रतिसेकेन्डको तीव्रताले चल्छ । त्यसपछिका तरंग भने ४ किमि प्रतिसेकेन्डको तीव्रताले चल्छन् । यस हिसाबले भूकम्प केन्द्रभन्दा १ सय किमी टाढासम्म ८ सेकेन्डपहिले भूकम्प जाने पत्ता लगाउन सकिन्छ । यति थोरै समयान्तरमा क्षति कम गर्न खासै भूमिका खेल्न नसकिने विज्ञ बताउँछन् ।
जनावरले पत्तो पाउँछन्
भूकम्प जाने कुराको जानकारी सुरुमा भ्यागुता, मुसा, साँप र कुकुरहरुलाई हुने विज्ञ बताउँछन् । यस्ता कुरामा भने गहन अनुसन्धान अहिलेसम्म हुन सकेको छैन । सन् २००९ मा इटालीको के ला अकिला नामक स्थानमा भूकम्प आउनुभन्दा तीन दिनपहिले एउटा तलाउबाट सबै भ्यागुता निस्केर गाउँतिर लागेका थिए । यो तलाउ भूकम्प केन्द्रबाट ७६ किमि टाढा थियो ।यस्तै, चीनको हाइचेङ सहरमा १९७५ मा भूकम्प आउनु एक महिनाअघिदेखि नै जाडो याममा नदेखिने सर्पहरु जमिनमा घिस्रन थालेका थिए ।
यस्ता कैयौं उदाहरण भए पनि वैज्ञानिकको अनुसन्धान यसतर्फ केन्द्रित हुन नसकेको विज्ञ बताउँछन् । -
|
0 comments:
Post a Comment