|
धनगढी : धनगढीका लागि पेट्रोलियम पदार्थ लोड दिने, इन्डियन आयल कर्पोरेशन (आईओसी) को बन्थरा डिपो पुगेको नेपाल आयल निगम धनगढीका प्रमुख नेतृत्वको टोली निराश भएर फर्किएको छ ।
भारतले नेपालका लागि इन्धन आपूर्तिमा कटौती गरेको झण्डै एक महिनापछि, नेपाल आयल निगम सुदूरपश्चिम क्षेत्रीय कार्यालय धनगढीका प्रमुख शरद पौडेल, पेट्रोलियम पदार्थ दुवानी ब्यवसायी संघका अध्यक्ष मनिराम पाण्डे र पेट्रोलियम पदार्थ डिलर्स एशोसिएशनका अध्यक्ष देबबहादुर खत्रीसहितकोे टोली सोमबार भारतको बन्थरा डिपो गएको थियो ।
भारतले लामो समयदेखि पेट्रोलियम पदार्थको लोड अनियमित गरेपछि निगमको नेतृत्वको टोली उत्तरप्रदेशको शाहजहाँपुर जिल्लामा रहेको आईओसीको बन्थरा डिपो गएको हो ।
आईओसीको बन्थरा डिपोका प्रमुख जयराज हन्सदाले, माथिको आदेश भएकाले हप्तामा पाँच दिन, दैनिक एक लाख ३० हजार लिटर भन्दा बढी इन्धन लोड दिन नसक्ने बताएपछि निगम नेतृत्वको टोली निरास भएर फर्किएको हो ।
‘यो राजनीतिक समस्या हो, आईओसीको मुम्बईमा रहेको हेडक्वार्टरले नै दैनिक १३० किलोलिटर अथवा एकलाख ३० हजार लिटर भन्दा बढी ईन्धन लोड नदिन भनेको रहेछ’ बन्थरा डिपोका प्रमुखलाई उधृत गर्दै नेपाल आयल निगम क्षेत्रीय कार्यालय धनगढीका प्रमुख शरद पौडले भने ।
‘नाकाबन्दी अघि, दैनिक पाँच सय किलो लिटर अथवा पाँच लाख लिटर ईन्धन निर्वाध लोड दिने गरेको बन्थरा डिपोलाई, आजभोली एकलाख दैनिक तीस हजार लिटर लोड दिन पनि दैनिक मुम्बईमा रहेका आईओसीको आदेश पर्खिनुपर्ने नियम बनाइएको रहेछ’ निगमका प्रमुख पौडेलले भने ।
धनगढीबाट सबैभन्दा नजिक पर्ने भएकाले आईओसीको बन्थरा डिपोबाट धनगढीका लागि डिजेल, पेट्रोल र मट्टितेल आउने गर्दछ ।
बन्थरा डिपोका प्रमुख हन्सदाले लोड दिने काम आफुहरुको हातमा नरहेको र आदेश आएको भन्दा बढी दिएमा कारवाही गर्ने चेतावनी आएको समेत निगम नेतृत्वको टोलीलाई अवगत गराएका छन् ।
निगमको टोली बन्थरा पुगेकै दिन सोमबार पाँच ट्यांकर अथवा ९२ हजार लिटर डिजेल र दुई ट्यांकरमा ३२ हजार लिटर पेट्रोल लोड भएको छ भने मंगलबारमात्रै ७ ट्यांकरमा एक लाख ४० हजार लिटर डिजेल र २ ट्यांकरमा ३२ हजार लिटर ईन्धन लोड भएको निगमले जनाएको छ ।
नेपालमा संविधान जारी भएसँगै असोज ३ गते पछि भारतले नेपालका लागि इन्धनको आपूर्ति ७० प्रतिसतले कटौती गरेको गरेको छ ।
|
0 comments:
Post a Comment