|
लोककथनअनुसार परापूर्वकालमा यसै रातमा वैकुण्ठबाट श्री लक्ष्मी मत्र्यलोक हेर्न आउँदा मध्यरात परिसकेकाले सबै मानिस बत्ती निभाई सुतिसकेका थिए। ‘कहाँ उज्यालो छ? र ‘को जागा छ?’ भन्दै देवी श्रीलक्ष्मी हिंडदा एउटा गरिब किसानको झुप्रोमा बत्तीको उज्यालो देखेर त्यसै घरमा प्रवेश गरेकाले त्यस किसानको घरमा धनधान्यपूर्ण भएकाले त्यसै दिनदेखि यस पूर्णिमाको नाम ‘को जाग्रत’ पूर्णिमा रहेको मानिन्छ।
यसै रातदेखि चौमास व्रत (हरिशयनीदेखि हरिबोधनी एकादशीसम्म) बस्नेहरूले बाँसको लिङ्गो गाडेर हरिबोधनी एकादशीसम्म आकाशदीप बाल्ने गर्छन्। त्यसको विकल्पमा घरघरमा छाना वा कौसीमा समेत आकाशदीप बाल्ने गरिन्छ। आकाशदीपलाई आलोकदीप पनि भनिन्छ र यसै शब्दको अपभ्रंश भएर नेपालभाषामा ‘आलुमत:’ भन्न थालिएको बताइन्छ। जनश्रुतिअनुसार कात्तिक पवित्र महिना भएकाले यस महिनाको अँध्यारो रातमा आकाशचरी, गन्धर्ब, किन्नर, सिद्ध ऋषि आदिले कतै बाटो नभुलुन् भनेर त्यसरी आकाशदीप बालेको भन्ने लोककथन छ।
|
0 comments:
Post a Comment