|
इन्डोनेसियाको जकार्ता तथा वाङ्डुङमा कात्तिक ९ देखि १३लसम्म हुने वाङ्डुङ सम्मेलनको ६०औँ वर्षगाँठसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको सफलताको सन्देश दिँदै प्रधानमन्त्री ओलीले नेपाल विश्वका कुनै पनि भागमा कसैबाट पनि कानुन विरोधी, अमानवीय र असमान व्यवहार नभई सबै राष्ट्र स्वतन्त्र भएको हेर्न चाहेको पनि स्पष्ट पारेका छन् ।
नेपाल–भारत सीमा क्षेत्रमा भारतीय पक्षबाट अघोषित नाकाबन्दी जारी रहेको समयमा प्रधानमन्त्री ओलीबाट सो विचार व्यक्त भएको छ ।
५७ वर्ष अगाडि स्थापित नेपाल अफ्रोएसियाली जनएकता सङ्गठन (आप्सो) का वर्तमान अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले नेपालमा नयाँ संविधान जारी भएपछि मुलुकले गणतन्त्रलाई संस्थागत गरेको पनि अन्तर्राष्ट्रिय समुदायलाई स्पष्ट पारेका छन् ।
सन्देशमा नेपालले गत असोज ३ गते नयाँ संविधान जारी गरेसँगै मुलुकमा औपचारिकरुपमा गणतन्त्र, धर्म निरपेक्षता, बहुदलीय प्रजातन्त्र, जनताको विश्वव्यापी मानवअधिकारलाई सुनिश्चित गरिएको उल्लेख गरेका छन् ।
प्रधानमन्त्री ओलीले नेपाल असंलग्न आन्दोलनको पनि संस्थापक सदस्य रहेको स्मरण गर्दै नेपाल सदैव हरेक मुलुकका लागि संयुक्त राष्ट्र सङ्घद्वारा परिभाषित स्वतन्त्रता र सम्मानका मान्यतामा प्रतिबद्ध रहेको पनि बताएका छन् ।
सम्मेलनमा भाग लिन नेपालका तर्फबाट सो सङ्गठनका उपाध्यक्ष डा प्रदीपकुमार खड्काको नेतृत्वमा टोली प्रस्थान गरिसकेको आप्सोका महासचिव डा गोपाल पोखरेलले जानकारी दिए ।
|
0 comments:
Post a Comment