बाहिरिए चेल्सी र आर्सनल

लिग कप फुटबल प्रतियोगिता
लन्डन: इङ्लिस प्रिमियर लिग च्याम्पियन चेल्सी र आर्सनल लिग कप फुटबल प्रतियोगिताको उपाधि होडबाट बाहिरिएका छन्। 
 
चौथो चरणको मंगलबार राति भएको खेलमा तुलनात्मक रूपमा कमजोर प्रतिद्वन्द्वी स्टोक सिटीले चेल्सीलाई पेनाल्टी सुटआउटमा ५—४ गोलले हरायो । निर्धारित र थप गरिएको समयको खेल १—१ गोलको बराबरीमा सकिएपछि हारजितको निर्णय पेनाल्टी सुटआउटबाट निकालिएको थियो।
 
चेल्सी प्रिमियर लिगसँगै लिग कपको पनि साबिक विजेता हो। स्टोकको मैदानमा भएको उक्त खेलको ५२ औं मिनेटमा जोनाथन वाल्टरले स्टोकलाई अग्रता दिलाएका थिए। 
 
निर्धारित समयको अन्तिम मिनेटमा चेल्सीको लोइक रेमीले जवाफी गोल फर्काएका थिए। त्यसलगत्तै स्टोकका फिल ब्राडस्लीले दोहोरो पहेँलो कार्ड पाएपछि स्कोट १० खेलाडीमा समेटिएको थियो। 
 
अन्तिम पेनाल्टी प्रहार गर्न आएका इडेन हाजार्डले गोल गर्न नसकेपछि चेल्सी उपाधि होडबाट बाहिरिन बाध्य बन्यो।चेल्सीका प्रशिक्षक जोसे मोउरिन्होले नतिजा निराशाजनक भएको प्रतिक्रिया दिए।
 
'कुन खेलाडीले कस्तो खेल्यो भन्ने कुराको अर्थ हुँदैन, महत्वपूर्ण खेलमा नतिजा नै सबैभन्दा ठूलो कुरा हो, जसमा हामी चुक्यौं', उनले भने। जारी सिजनमा खेलिएका १६ मध्ये आठ खेलमा प्रशिक्षक मोउरिन्होको टोली पराजित भएको छ।
 
यो सिजनको लिग कप अर्को बलियो टोली आर्सनलका लागि पनि निराशाजनक रह्यो। दोस्रो श्रेणीको क्लब सेफिल्ड वेडनसडेले घरेलु मैदानमा आर्सनललाई ३—० गोलले पराजित गर्‍यो।
 
खेल सुरु भएको २८ औं मिनेटमा रोस वालेसले सेफिल्डका लागि पहिलो गोल गरे। ४० औं मिनेटमा लुकासले टोलीको अग्रतालाई दोब्बर बनाए। एकतर्फी खेलको ५२ औं मिनेटमा साम हचिन्सनले सेफिल्डका लागि तेस्रो गोल थपे।
 
अन्य खेलमा सफलता हात पार्दै एभर्टन र हल सिटी पनि अघिल्लो चरणमा पुग्न सफल भए। एभर्टनले नर्विचलाई पेनाल्टी सुटआउटमा ४-३ गोलले पराजित गर्‍यो। यी दुवै टोलीबीचको निर्धारित र थप गरिएको समयको खेल १-१ गोलको बराबरीमा सकिएको थियो। 
 
हल सिटीले पनि लिसेस्टरलाई पेनाल्टी सुटआउटमा ५-४ गोलले हरायो। निर्धारित र थप गरिएको समयको खेल १-१ गोलको बराबरीमा सकिएको थियो।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment