|
सप्तरी, ६ मंसिर । संघीय सीमांकन हेरफेरको माग राखेर तीन महिना भन्दा बढी समयदेखि आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको निशानामा अब पूर्व–पश्चिम राजमार्गमा रहेका पुल पर्न थालेका छन् ।
उनीहरुले राजमार्गमा रहेका पुलहरु भत्काएर सम्पर्क विहीन बनाउन खोजेका हुन् । शनिबार राति प्रहरीसँगको झडपका क्रममा तीन जनाको ज्यान गएपछि सप्तरीमा आक्रोशित मोर्चा कार्यकर्ताले पूर्व–पश्चिम राजमार्गस्थित बरमझियामा रहेको सुन्दरी खोलामा रहेको पक्की पुल भत्काइदिएका हुन् ।
पछिल्लो मृतकको संख्यासहित शनिबार राति भारदह र रुपनीमा प्रहरीको गोली लागेर ज्यान गुमाउनेको संख्या तीन पुगेको छ । उक्त घटनापछि उग्र बनेका मोर्चाका कार्यकर्ताले सुन्दरी खोलामाथिको पक्की पुल आधा भत्काइदिएका हुन् ।
पुल भत्काउने क्रममा भएको झडपमा प्रहरी र प्रदर्शनकारी गरी ६ जना भन्दा बढी घाइते भएका छन् । पुल भत्काइएपछि त्यहाँबाट सवारीसाधन एकतर्फीमात्र चलाउन मिल्ने भएको छ ।
त्यस्तै, प्रदर्शनकारीहरुले सप्तरीकै रुपनी मोडस्थित प्रहरी बिट र सवारी साधानमा पनि आगो लगाएका छन् । मोर्चाका कार्यकर्ताहरुले गरेको आगजनीबाट प्रहरी बिट क्षतिग्रस्त भएको छ । अहिले पनि मोर्चाका कार्यकर्ताले ठाउँ–ठाउँमा उग्र प्रदर्शन गरिरहेका छन् भने प्रहरीसँग पनि झडप भइरहेको छ ।
तस्विर : चन्दन यादव
- See more at: http://medianp.com/2015/11/73344.html#sthash.S7mERyuA.dpuf
|
0 comments:
Post a Comment