![]() |
काठमाडौं, ११ मंसिर । केही दिन अघि पर्साको वीरगञ्जमा प्रदर्शनकारी र प्रहरीबीचको झडपमा एक भारतीय नागरिकको ज्यान गएको थियो । नेपालमा नाकाबन्दी लगाएर मौन बसेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वीरगञ्ज घटनाकै दिन नेपाली समकक्षी केपी शर्मा ओलीलाई टेलिफोन गरी आफ्नो नागरिक मारिएको प्रति धम्कीपूर्ण भाषामा आपत्ति जनाए । र सीमानाकालाई फेरि निकै कडाइ गरे । मोदीको धम्कीपूर्ण आपत्ति प्रति पनि प्रधानमन्त्री ओलीले प्रतिवाद गरिएको भन्ने खबर आएको थियो । र राष्ट्रको नाममा गरिएको सम्बोधनमा पनि प्रधानमन्त्री ओली राष्ट्रवादमा कटिबद्ध रहेको झल्को दिएका थिए ।
तर अहिले आएर उनले लिएको भनिएको राष्ट्रवाद र विदेशी हस्तक्षेपको विरुद्धको अडान सबै सामू घाम झैं छर्लङ भएको छ । निकै खरो रुपमा प्रतिपक्षको कमजोरीलाई उखान टुक्का प्रयोग गरेर आलोचना गर्ने र आफूलाई राष्ट्रवादी नेता भन्न रुचाउने प्रधानमन्त्री ओलीको बुधबारको सुनसरी घटना र सोही दिन भारतीय दूतावासले निकालेको विज्ञप्ति पछिको अवस्थाले नेपाली जनता सामू छर्लङ भएको हो ।
निकै जटिल र संगीनमोडमा मुलुक उभिएका बेला गएको असोज २४ गते सत्तारोहण गरेका एमालेका अध्यक्ष ओलीले हालसम्म जनअपेक्षा अनुसार काम गर्न त सकेनन् । तर आफ्नो भूमिमा आएर भारतीय सुरक्षाकर्मीले गोली चलाएर आफ्ना नागरिकलाई घाइते बनाउँदा र भारतमा घटना भएको र नेपाली घाइते नभएको पनि झुठो विज्ञप्ति जारी गर्ने भारतीय राजदूतलाई केही गर्न हिम्मत नगर्ने प्रधानमन्त्री ओलीको राष्ट्रवाद जनताले व्यवहारमा हेर्न पाएनन् ।
निकै आशा र अपेक्षा गरिएका प्रधानमन्त्री ओलीले सत्ता सम्हालेको ढेड महिना नाघिसक्दा पनि भारतीय नाकाबन्दीले सकसपूर्ण पारेको जनजीवन सहज बनाउन त सकेनन् नै कालाबजारी, महङ्गी र अनियमितता नियन्त्रणमा माखो पार्न नसक्दा जनता निराश बनेका छन् । काठमाडौं लगायतका सहरी क्षेत्रमा कामकाजी नागरिकहरु ज्यान जोखिममा राखेर यात्रा गर्न बाध्य भएका छन् भने इन्धनको अभावमा चुल्हो निभेको छ र औषधि अभावमा उपचार नपाएर अकालमा ज्यान गुमाउनु पर्ने अवस्था सृजना भएको छ ।
दुई देशबीचको सम्बन्ध सुमधुर बनाउन पुलको काम गर्ने राजदूत अर्थात नेपालका लागि भारतीय राजदूत रञ्जित रेको भूमिका नेपाली जनताले रुचाएका छैनन् । यस अवस्थामा नेपालको भूमिमा गोली चलेको र खोका भेटिएको उक्त घटनालाई भारतमा भएको तथा कुनै पनि नेपाली घाइते नभएको भनि झुठो विज्ञप्तिमा निकाल्ने राजदूत रेले नेपाल–भारतबीचको सम्बन्धलाई कता तर्फ अघि बढाइरहेका छन् भन्ने जो कोहीले सजिलै बुझेका छन् । यो सबै बाल्कोनीमा बसेर हेरिरहेको नेपाल सरकारले न त राजदूत रेलाई बोलाएर स्पष्टीकरण लिन सक्यो न दुई देशबीको सम्बन्ध विगार्न उद्दत देखिएका उनलाई फिर्ता पठाउन नै सक्यो । अझ भन्यौँ नेपालको आन्दोलनमा सहभागी हुँदा आफ्ना नागरिक मरेको विषयमा धम्की दिने मोदीलाई प्रधानमन्त्री ओलीले नेपाली भूमिमा प्रवेश गरी एसएसबीले चलाएको गाली लागेर आफ्ना नागरिक घाइते हुँदा उनै मोदीलाई टेलिफोन गर्न सकेनन् । वीरगञ्ज घटनापछि परराष्ट्र मन्त्रालय छाडेर सिधै टेलिफोन गरी धम्की दिने मोदीलाई ओलीले पनि फोन ागरी परराष्ट्रमन्त्रालय मार्फत भारतको ध्यानाकर्षण गराएका छन् । मोदीको धम्की र राजदूत रेको सक्रियताले ओलीको राष्ट्रवाद धरापमा परेको टिप्पणी हुनै लाग्दा प्रधानमन्त्री ओली नेतृत्वको पार्टी एमाले निकट युवा संघले राजदूत रेलाई देश निकाला गर्न माग गर्दै प्रदर्शनका उत्रिएको छ । यसले पनि ओलीको व्यवहार स्वयम् उनको पार्टी र कार्यकर्तालाई चित्त बुझेको छैन भन्ने देखाउँछ ।
भारतीय नाकाबन्दी नेपालले भनेको छ भारतले नेपालमा भइरहेको आन्दोलनले आपूर्तिमा व्यवधान खडा भएको भन्दै नाकाबन्दी शब्दलाई खारेज गरेको छ । शक्तिशाली भूकम्प गएको केही महिनामै भएको भारतीय नाकाबन्दीका कारण्ण इन्धन, औषधि, खाद्यपदार्थ लगायतका अत्यावश्यकीय बस्तुको अभाव हुँदा मुलुकमा मानवीय संकट देखा पर्न थालिसकेको छ भने विश्वभरबाट चिन्ता व्यक्त हुन थालेको छ । नेपालमा भारत विरोधी भावना बढ्दै गएको छ । यस अवस्थमा प्रधानमन्त्री ओलीले दुई देशबीचको सम्बन्धमा आँच नआउने गरी मुलुकभरको जनजीवन सामान्य बनाउनुको विकल्प छैन । तर उनको कूटनीतिक र राजनीतिक क्षमता कस्तो छ भन्ने आगामी घटनाक्रमले देखाउँदै जानेछ ।
![]() |
0 comments:
Post a Comment