|
विराटनगर: संयुक्त मधेसी मोर्चाका कार्यकर्ताले शनिबार पनि सुनसरीको दुहबीमा सिकिस्त बिरामी बोकेको एम्बुलेन्समा आक्रमण गरेका छन् । मोर्चाका कार्यकर्ताले शुक्रबार पनि मोरङको कटहरीमा बिरामी बोकेकै एम्बुलेन्समा आक्रमण गरेका थिए ।
दुहबीमा एम्बुलेन्समाथि आक्रमण हुँदा चालक विराटनगर–११ का आनन्द विक गम्भीर घाइते भएका छन् । उनको विराटनगर सिटी अस्पतालमा उपचार भइरहेको छ । अस्पतालका चिकित्सक शीतल यादवका अनुसार विकको दायाँ कन्चटमा अढाइ इन्च गहिरो घाउ लागेको छ । उनको टाउकोमा पनि गहिरो चोट छ ।
मोर्चाका कार्यकर्ताको आक्रमणबाट को१च ४६१५ नम्बरको एम्बुलेन्समा क्षति पुगेको छ । मोर्चाका कार्यकर्ताले बिरामीलाई ताकेरै ढुंगा हानेपछि गाडीभित्रै रुवाबासी चलेको थियो । आक्रमणबाट मुस्किलले ज्यान बचेको चालक विकले बताए ।
शनिबार गोल्डेन अस्पतालबाट रेफर भएका संखुवासभाका बिरामी शरध्वज तामाङलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानतर्फ लैजाने क्रममा दुहबी बजारमा आक्रमण भएको हो ।
आक्रमणलगत्तै एम्बुलेन्समा आगजनी गर्न खोजिए पनि प्रहरीले हस्तक्षेप गरेर मोर्चाका कार्यकर्ता लखेटेको थियो । चालक विकले भने, ‘प्रहरी नआएको भए गाडीमै आगजनी गर्ने थिए ।
मुखमा अक्सिजन मास्क लगाएका सिकिस्त बिरामी छन् । धरान हिँडेको भन्दाभन्दै ढुंगा बर्साए । तोडफोड गरे । आगै लगाउन खोजे ।’
आफूलाई ताकेरै कन्चटमा प्रहार गरेको जानकारी दिँदै विकले भने, ‘गाडीबाट ओर्लन्छौं, त्यसपछि जे गर्नुहुन्छ गर्नुहोस् भन्दाभन्दै ढुंगा बर्साएर लाठी र रडले गाडीमा प्रहार गरे ।’
क्षेत्रीय प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी निरीक्षक श्यामल सुब्बाका अनुसार घाइते विकलाई उद्धार गरी थप उपचारका लागि विराटनगर र एम्बुलेन्सका बिरामी तामाङलाई धरान पठाइएको छ ।
विककी पत्नी गीताले अस्पतालमा भनिन्, ‘ज्यान नै मार्ने नियतले आक्रमण गरेका रहेछन् ।’ पत्नी, तीन छोरा र एक छोरी रहेका विकले आफ्नै कमाइबाट परिवार पाल्दै आएका छन् ।
घटनाको विरोधमा विराटनगरका एम्बुलेन्स चालकले आइतबारदेखि एम्बुलेन्स नचलाउने चेतावनी दिएका छन् । मोरङ ट्याक्सी व्यवसायी संघका कोषाध्यक्ष अनुराग श्रेष्ठले असुरक्षा भएकाले एम्बुलेन्स चलाउन नसकिने बताए ।
मोर्चाका कार्यकर्ताले शुक्रबार विराटनगरतर्फ बिरामी बालिका बोकेर आउँदै गरेको को१च ७३७९ नम्बरको एम्बुलेन्समा आक्रमण गरेका थिए ।
एम्बुलेन्समाथि लगातार आक्रमण हुन थालेपछि चालकले मोरङका प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीलाई भेटेर सुरक्षा दिलाउन माग गरेका छन् ।
चालकले सडकमा एम्बुलेन्स तेस्र्याएर आक्रमणको विरोध गरेका छन् । उनीहरूले घटनामा संलग्नलाई कारबाही गर्न माग गरेका छन् । प्रहरीले एम्बुलेन्स र बिरामीलाई आक्रमण गर्नेलाई नछोडिने बताएको छ ।
|
0 comments:
Post a Comment