बाबुराम अब पार्टीमा

काठमाडौं: एमाओवादी परित्याग गरेका बाबुराम भट्टराईले सञ्चालन गरिरहेको नयाँ शक्ति अभियानलाई पार्टीमा रुपान्तरण गर्ने उदघोष गरेका छन् ।
 
सशस्त्र युद्धलाई शान्ति प्रक्रियामा रुपान्तरण गरेको झण्डै एकदशकपछि पूरानो पार्टी छोडेर नयाँ पार्टी गठन गर्ने तयारीमा रहेका भट्टराईले आफूहरुको अभियान नयाँ पार्टी बनाउनका लागि भएको उदघोष गरेका हुन । 
 
माओवादीले सशस्त्र युद्धलाई अन्त्य गरेको शनिवार नौ बर्ष पूरा भएको छ । ०६३ मंसिर ५ गते बिस्तृत शान्ति सम्झौतामा हस्ताक्षरसँगै माओवादीले सशस्त्र युद्ध अन्त्य गरेको हो ।
 
‘अन्तत बनाउने पार्टी नै हो । हामीले बनाउने पार्टी खुला र पारदर्शी हुनेछ’शनिवार बानेश्वरमा आयोजित पत्रकार भेटघाटमा भट्टराईले भने । मुलुकभर नयाँ शक्ति अभियानको नामबाट संगठन बनाउन केन्द्रित रहेका भट्टराईले आइतवार काठमाडौमा एमाओवादीमा रहेका आफू समर्थकहरुको राष्ट्रिय भेला काठमाडौमा बोलाएका छन । 
 
आफूलाई समर्थन गर्ने साँसदहरुलाई पनि भट्टराईले एमाओवादीमै राखेका छन । ‘नयाँ शक्ति अभियानमा लाग्न प्रेरित गर्छौ । कतिपय पार्टीलाई नयाँ शक्ति अभियानमा सामेल गराउने कुराकानी पनि भइरहेको छ’ भट्टराईले भने । नयाँ पार्टीको बैचारिक धरातल माक्र्सवाद र उदारीकरणको मध्यमार्गी हुने संकेत भट्टराईले गरे ।
 
‘हामी माक्र्सवादका राम्रा पक्षलाई ग्रहण गर्छौ । नेपाल सुहाउँदो बिचार र वादको प्रयोग गर्छौ’ भट्टराईले भने । पूर्णकालीन कार्यकर्ता उत्पादन नगर्ने पनि उनले बताए । ‘बिकासमुखी राजनीति गर्ने हुनाले उत्पादन र श्रमसँग जोडिएका नेता कार्यकर्ता रहन्छन । ती कार्यकर्ताले निश्चित समय पार्टीका लागि छुटयाउँछन’ भट्टराईले भने‘हामी हाम्रा नेता कार्यकर्ताको भरणपोषणको व्यवस्था पनि फरक ढंगले गर्छौ र पार्टीलाई पारदर्शी बनाउँछौ ।’
 
संविधानसभाबाट संविधान घोषणा लगत्तै मुलुकलाई आर्थिक समृद्धिमा लैजानका लागि आफूले एक बर्ष अघि नै नयाँ शक्ति अभियान सञ्चालन गर्नु पर्ने आवश्यकतामा जोड दिएको पनि भट्टराईले स्मरण गराए । 
 
असोज ३ गते संविधानसभाबाट संविधान घोषणा भएपछि भट्टराईले असोज ९ गते एमाओवादी र व्यवस्थापिका संसदको सदस्य पद परित्याग गरेका थिए । आफूलाई शान्ति प्रक्रियाको सुत्राधारको रुपमा दावी गर्दै भट्टराईले मधेशमा जारी आन्दोलन आन्दोलनकारी नेताको नियन्त्रणबाट बाहिर जान थालेकोमा चिन्ता व्यक्त गरे । 
 
‘मधेशमा भइरहेको आन्दोलन अराजकतातिर जाँदैछ । राजनीतिक दलको हातबाट आन्दोलन फुत्किदैछ । आन्दोलन अराजक तत्वको हातमा जान सक्छ,मधेश आन्दोलन क्रोनिक बन्दै गएको छ’ भट्टराईले भने । भारतले लगाएको नाकावन्दी र मधेश आन्दोलनलाई एउटै टोकरीमा राख्न नहुने तर्फ संकेत गर्दै भट्टराईले भने ‘मधेशको समस्या आन्तरिक हो । 
 
त्यसलाई हामी आफैले समाधान गर्न सक्छौ । भारतको नाकावन्दी बेठिक छ ।’ भट्टराईले देशभक्त र राष्ट्रवादी छुटयाउन पनि आग्रह गरे । उनले भने ‘हामी देशभक्त हौ,अन्धराष्ट्रवादी होइनौ ।’
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment