|
करिब अढाइ महिने आमहड्ताल र महिना दिनको नाकाबन्दीले जनजीवनमा नराम्ररी प्रभावित भएपछि मधेश भ्रमणमा निस्केका संग्रौलाले अधिकारका लागि भइरहेको आन्दोलनलाई राज्यले भनसुन गरी मिलाउनुपर्नेमा उल्टो उक्साउने र चिढाउने काम गरिरहेको आरोप लगाए।
'सप्तरी, सिरहा र धनुषा घुमेपछि मैले मधेशको आन्दोलन नितान्त अधिकारवादी भएको र संयमित तथा मर्यादित रहेको पाएँ', संग्रौलाले आइतबार स्थानीय सञ्चारकर्मीसँग कुरा गर्दै भने, 'आन्दोलनकारीलाई थप आक्रोसित बनाउने काम राज्यले गरिरहेको छ।' संविधान जारी गर्ने बेलामा काँग्रेस, एमाले र एमाओवादीले जारी भएलगत्तै पहिलो बैठकबाट संशोधन गरी मधेशको जायज मागलाई सम्बोधन गर्ने एकस्वरमा भने पनि संविधान संशोधनलाई थाती राखी सत्ताको लुछाचोरीमा ती दलका अगुवाहरु केन्द्रित भएपछि जनतामा आक्रोस बढिरहेको उनले बताए ।
धनुषा, सिरहा र सप्तरीका युवाहरुले भद्र माग सम्बोधन गराउन पनि बन्दुकै उठाउनुपर्छ? भनेर प्रश्न गरिरहेको बताउँदै संग्रौलाले आफुले मधेशको मुद्दा सम्बोधन गर्न ढिलाइ भए मधेशमा पृथकतावादी आन्दोलनले मजबुती पाउने बताए। 'म त त्यहाँ सम्म सोचेको पनि छुइन तर, सरकारले यस्तै अलमल गरिरहयो भने सिके राउतहरुको संख्या थपिन सक्छ जो देशकै लागि दुर्भाग्य हुन्छ', उनले थपे ।
आफुले मुलुकको अस्थिर राजनीतिक परिस्थिति बारे अवगत गराउँदा काठमाडौंका मिडिया र सरकारका आसेपासेले दिल्लीको दलाल र विखण्डनकारीको आरोप लगाएको उनले दुखेसो पोखे । राणाविरोधी आन्दोलन, पञ्चायत विरुद्धको आन्दोलन र राजतन्त्र विरोधी आन्दोलनमा पनि यस्ता आरोप आएको बताउँदै उनले भने, 'अहिलेको आन्दोलन संयमित ररिहनुपर्छ, जीत सुनिश्चित छ ।'
'मधेशको मुद्दा सम्बोधन भए लगत्तै मधेशी समुदाय आन्दोलन छाडेर देश विकासमा केन्द्रित हुन्छ, भारतले त्यसै पनि सीमा क्षेत्रबाट दिल्ली फर्किनुपर्छ' उनले भने, 'यो यथार्थ बुझ्दा बुझ्दै पनि बुद्धिले काम गर्न छाडेका नेताहरुले भारतसँग लम्पसार परेर प्रभो नाकाबन्दी फिर्ता लिइदिनोस् भन्नु दुर्भाग्य हो ।'
|
0 comments:
Post a Comment