|
काठमाडौँ ६ मंसिर । संयुक्त राष्ट्रसंघले नेपालमाथिको पारवहन अवरोध हटाउन भारतलाई आग्रह गरेको छ । भारतले अघोषित नाकाबन्दी लगाएको दुई महिनापछि राष्ट्रसंघीय महासचिव बान की मुनका प्रवक्ताले नेपाली समयअनुसार शुक्रबार राति वक्तव्य जारी गरी यस्तो आग्रह गरेका हुन् ।
वक्तव्यमा महासचिव मुनले सबै पक्षलाई नेपालको स्वतन्त्र पारवहन अधिकारमाथिको अवरोध हटाउन आग्रह गरेका छन् । यसअघि देशभित्रको आन्तरिक समस्या समावेशी, लोकतान्त्रिक र शान्तिपूर्ण रूपमा सम्बोधन गर्न राष्ट्रसंघले नेपाललाई आग्रह गर्दै आएको थियो ।
भारतको नाम उल्लेख नगरी राष्ट्रसंघले नेपाल–भारत सिमानामा अत्यावश्यकीय सामानको आपूर्तिमा अवरोध भएकोमा चिन्ता व्यक्त गरेको हो । ‘नेपाल–भारत सिमानामा रोकिएका अत्यावश्यकीय वस्तुको आपूर्तिमाथिको अवरोधप्रति महासचिवले गम्भीर चिन्ता प्रकट गर्नुभएको छ,’ प्रवक्ताले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अवरोध, विध्वंस र जीवनरक्षाका लागि औषधिलगायतका आवश्यक वस्तुहरूको अभावमा मानवीय अप्रेसनमा समेत प्रभाव पारेका घटनाप्रति महासचिव थप चिन्तित हुनुहुन्छ । उहाँले यीलगायत नेपालको स्वतन्त्र पारवहन अधिकारको अवरोध हटाउन सबै पक्षलाई आग्रह गर्नुभएको छ ।’
मधेस आन्दोलन र भारतीय नाकाबन्दीका कारण सीमापारि अर्बौँ रुपैयाँका औषधि र मेडिकल सामग्री रोकिएका छन् भने अस्पतालहरूले अप्रेसनमा समेत कटौती गर्नुपरेको छ । मानवीय संकटोन्मुख परिस्थितिप्रति राष्ट्रसंघले पहिलोपटक गम्भीर चिन्ता प्रकट गरेको छ । महासचिव मुनले संवाद र अहिंसाबाटै समस्याको समाधान निकाल्न तथा शान्तिपूर्ण प्रदर्शन र भेला हुन पाउने अधिकारको सम्मान गर्न पनि आग्रह गरेका छन् ।
उनले सबै प्रकारका मतभिन्नतालाई शान्तिपूर्ण र लचिलो उपायबाट हल गर्न आग्रह गर्दैै लोकतान्त्रिक, समावेशी, शान्तिपूर्ण र समुन्नत नेपालको भविष्यका लागि राष्ट्रसंघले सहयोग गरिरहने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
|
0 comments:
Post a Comment