|
काठमाडौं, ४ मंसिर । भारतीय नाकाबन्दीपछि कुल खपतको एक तिहाइ इन्धन आयात गर्ने सम्झौता गरेको नेपालले व्यापारिक सम्झौताका लागि शनिबार मात्रै आफ्नो टोली चीन पठाउने भएको छ ।
बिहीबार र शुक्रबारै चीन जाने तयारी गरेको सरकारी प्रतिनिधि टोली शनिबार र आइतबार चीनमा सार्वजनिक विदा हुने भएकाले शनिबार त्यस तर्फ जान लागेको बताइएको छ । नेपाल आयल निगमसहित परराष्ट्र, कानुन, अर्थ मन्त्रालयका प्रतिनिधि सम्मिलित वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव शम्भु घिमिरे नेतृत्वको टोलीले चीनमा पुगेर व्यापारिक सम्झौता गरे लगत्तै इन्धन आयात थाल्ने बताइएको छ ।
टोलीले सोमबारदेखि चाइना नेशनल पेट्रोलियम कर्पोरशन (पेट्रो चाइना) सँग खरिद समझौताबारे छलफल थाल्नेछ । दक्षिणी छिमेकी भारतले पटक पटक मुलुकमा नाकाबन्दी गर्न थालेपछि नेपालले त्यसको विकल्पका रुपमा उत्तरी छिमेकी चीनसँग कुल खपतको एक तिहाइ इन्धन आयत गर्न थालेको हो ।
पेट्रो चाइनासँग इन्धन खरिदका विषयमा प्रारम्भिक सम्झौता भइसकेको छ भने अब व्यापारिक सम्झौता गर्न थालेको हो । हालै चीन भ्रमण पूरा गरी फर्केका वाणिज्य तथा आपूर्ति गणेशमान पुनले नेपाललाई चाहिए जति इन्धन दिन बेइजिङ सरकार तयार रहेको जानकारी दिएका छन् । तर, चीनबाट इन्धन आयात गर्न भने बाटोको कारण त्यत्ति सहज नभएको विज्ञहरु बताउँछन् । हिमाली क्षेत्र पर्ने र हिउँदयाममा हिउँ पर्ने सम्भावना र निकै साँघुरा बाटोका कारण चीनबाट इन्धन आयात गर्न कठिन हुने उनीहरुको भनाइ छ ।
चीनबाट मुख्यगरी तातोपानी र केरुङ नाकाबाट इन्धन आयात गरिनेछ तर तातोपानी नाका पूर्णरुपमा सञ्चालनमा आउन सकेको छैन भने केरुङ तर्फको बाटो निकै जीर्ण र साँघुरो रहेको छ ।
|
0 comments:
Post a Comment