|
मंसिर ४, २०७२- नेपाल वायु सेवा निगम (नेवानि) को बोइङले बिहीबार भारतको कोलकाताबाट हवाई इन्धन (एटीएफ) आयात नगरेका कारण शुक्रबार आधाभन्दा बढी आन्तरिक उडान नहुने भएका छन्।
विमानस्थलमा रहेको आयल निगमको डिपोले शुक्रबार कमर्सियल विमानहरूका लागि हवाई इन्धन बिक्री नगर्ने भनेपछि १६ वटा हेलिकप्टरसहित विमानहरूको छाता संगठन वायुसेवा सञ्चालक संघले विज्ञप्ति जारी गरी आन्तरिक उडान प्रभावित हुने जनाएको हो।
‘निगमले अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडानका वायु सेवालाई शुक्रबारदेखि लागू हुने गरी इन्धन उपलब्ध नगराउने मौखिक जानकारी दिएको छ,’ संघका प्रवक्ता घनश्यामराज आचार्यले यात्रुलाई लक्षित गरी जारीे विज्ञप्तिमा छ, ‘हवाई इन्धन उपलब्ध नभएसम्म आन्तरिक उडान प्रभावित हुने छन्।’ संघले टिकट खरिद गरिसकेका यात्रुहरूसँग क्षमा याचना गर्दै सम्बन्धित एयरलायन्सहरूसँग समन्वय गर्न भनेको छ।
भारतले गरेको अघोषित आर्थिक नाकाबन्दी सुरु भएपछि असोज पहिलो सातादेखि हवाई इन्धन सडकमार्गबाट सहजै आयात हुन सकिरहेको छैन। इन्धन आयात रोकिएपछि नेपाल वायुसेवा निगमले आफ्ना यात्रु बोक्ने बोइङ विमानबाट निगमका लागि हवाई इन्धन भारतबाट आयात गर्दै आएको छ।
बिहीबार चालक दलका सदस्यको अभाव भएपछि निगमको बोइङले भारतबाट इन्धन आयात गरेन। ‘क्र्यु मेम्बरको अभावले बिहीबार इन्धनका लागि कार्गो उडान भएन शुक्रबारदेखि पुन: सुचारु हुने छ,’ नेवानिका प्रवक्ता रामहरि शर्माले भने। उनले नेवानिका विमानहरूको पहिलो प्राथमिकता यात्रु उडान भए पनि सम्भव भएसम्म निगमका लागि इन्धन आयात गर्ने उडान कटौती पनि नगर्ने रणनीति भएको बताए।
|
0 comments:
Post a Comment