|
काठमाडौं, ४ मंसिर । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले शनिबारबाट राजमार्ग ठप्प पार्ने बताएको छ । मधेसी मोर्चाले तीन महिनादेखि जारी आन्दोलनलाई सरकारले बेवास्ता गरेकोले अब राजमार्ग ठप्प पारेर काठमाडौंलाई अस्तव्यस्त पारिदिने निर्णय गरेको छ ।
शुक्रबार जनकपुरमा मधेसी मोर्चाको धनुषा, महोत्तरी, सिरहा र सर्लाहीका नेता कार्यकर्ताहरुको अन्तरजिल्ला बैठकले यस्तो निर्णय गरेको हो ।
अहिलेसम्म नाकाबन्दी र आमहड्ताल गर्दा पनि राजमार्ग खुल्ला रहँदा कुनै न कुनै माध्यमबाट काठमाडौंसम्म उपभोगका सामग्रीहरु पुग्ने गरेकोले काठमाडौंलाई ठप्प पार्न यस्तो निर्णय लिईएको मोर्चाका नेताहरुले जनाएका छन् ।
मधेसी मोर्चाले भारतबाट ल्याइने डिजेल, पेट्रोल र इन्धनहरुमा कालोबजारी र तस्करी गरेको पाईएमा सवारी साधन सहित ठाउँको ठाउँ जलाउने निर्णय गरेको छ ।
मोर्चाले मंसिर ६ गते मधेसका जिल्लाहरु वृहत मशाल जुलुश प्रर्दशन र ७ गते घरघरमा श्रद्धान्जली सभा स्वरुप साँझको बेला एक मिनेट सबैलाई मौन धारण गर्न अनुरोध गरेको छ ।
|
0 comments:
Post a Comment