|
छनोट चरणअन्तर्गत सोमबार राति भएको प्ले अफको दोस्रो लेग खेलमा आयरल्यान्डले बोस्निया हर्जगोभिनालाई २—० गोलले हरायो। आयरल्यान्ड ३-१ कुल गोल भिन्नताका आधारमा युरो कपको अन्तिम चरणमा पुगेको हो।
यसअघि बोस्निया हर्जगोभिनाको मैदानमा भएको पहिलो लेग खेल १-१ गोलको बराबरीमा सकिएको थियो।घरेलु मैदानमा भएको प्ले अफको दोस्रो लेग खेलमा आयरल्यान्डका लागि दुवै गोल जोनाथन वाल्टर्सले गरे।
आफूमाथि लागेको प्रतिबन्धको अवधि पूरा गरेर मैदानमा फर्किएका वाल्टर्सले खेल सुरु भएको २४ औं मिनेटमै टोलीका लागि पहिलो गोल गरेका थिए। उनले पहिलो गोल पेनाल्टीमार्फत गरेका थिए । स्टोकका स्ट्राइकर वाल्टर्सले ७० औं मिनेटमा टोलीको अग्रतालाई दोब्बर बनाएका थिए।
'अन्योलका बीच हामीले ठूलो फड्को मारेका छौं। यो उपलब्धिका लागि टोलीमा रहेका हरेक सदस्यको भूमिका उत्तिकै महत्वपूर्ण रह्यो', खेलपछि वाल्टर्सले भने। उनले फ्रान्समा हुने युरो कपमा पनि आफ्नो टोलीले उत्कृष्ट प्रदर्शन गर्ने दाबी गरे। छनोट चरणको पछिल्ला ६ खेलमा वाल्टर्सले गरेको गोलसंख्या पाँच पुगेको छ।
आयरल्यान्डका प्रशिक्षक मार्टिन ओनिलले पनि फ्रान्सको यात्रा टोलीका लागि महत्वपूर्ण उपलब्धि भएको प्रतिक्रिया दिए। उनले वाल्टर्सको खेलको पनि प्रशंसा गरे। 'वास्तवमै वाल्टर्स बुझिनसक्नुका खेलाडी हुन्, उनको प्रदर्शनले खेलले कतिबेला कुन मोड लिन्छ भन्नै सकिन्न', प्रशिक्षक मार्टिनले भने।
उनले जितपछि आफ्ना खेलाडीको मनोबल बढेको धारणा पनि व्यक्त गरे। खेल सुरु हुनुअघि हालै फ्रान्समा भएको आतंककारी आक्रमणमा परी निधन भएका व्यक्तिहरूप्रति श्रद्घाञ्जलि अर्पण गर्न एक मिनेट मौन धारण पनि गरिएको थियो। बोस्निया हर्जगोभिना हालसम्म युरो कपको अन्तिम चरणमा छनोट हुन सकेको छैन।
यसअघि आइतबार भएको खेलमा सफलता हात पार्दै हंगेरी पनि युरो कपमा छनोट भएको थियो। हंगेरीले प्ले अफको दोस्रो लेगमा नर्वेमाथि २-१ गोलको रोमाञ्चक जित हासिल गरेको थियो।
हंगेरी ३० वर्षपछि ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिताको अन्तिम चरणमा छनोट भएको हो । हंगेरी समग्रमा ३—१ कुल गोल भिन्नताका आधारमा युरो कपमा छनोट भएको हो।
नर्वेको घरेलु मैदानमा खेलिएको प्ले अफको पहिलो लेग खेलमा पनि हंगेरी १—० गोलले विजयी भएको थियो। सन् १९८६ मा विश्वकपको अन्तिम चरणमा छनोट भएयता हंगेरीले हात पारेको यो नै सबैभन्दा ठूलो सफलता हो।
हंगेरीले यसअघि सन् १९७२ मा युरो कप खेलेको थियो। नर्वेले पछिल्लो पटक सन् २००० मा युरो कप खेलेको थियो। सन् १९८१ पछि हंगेरीले पहिलो पटक नर्वेलाई हराएको हो।f
|
0 comments:
Post a Comment