|
काठमाडौँ, १५ कातिक । प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक प्रशासनलाई जनमुखी, नतिजामुखी र व्यावहारिक बनाई जनतालाई केन्द्रबिन्दुमा राखेर सेवा प्रवाह गर्न निर्देशन दिएका छन् । उच्चस्तरीय प्रशासन सुधार अनुगमन समितिको प्रतिवेदन ग्रहण गर्दै ओलीले सार्वजनिक प्रशासनमा संलग्न कर्मचारीले दलीय आडमा काम गर्ने प्रवृत्ति त्यागेर नियमित अनिवार्य रुपमा न्यूनतम आठ घन्टा परिणाम देखिने गरी काम गरेको हुनुपर्ने बताएका हुन ।
हडताल, तालाबन्दी जस्ता कार्य कहीँ कतैबाट गर्न आवश्यक नभएको बताउँदै प्रधानमन्त्री ओलीले ढिलासुस्ती अन्त्य गरी परिवर्तनको अनुभूति दिने गरी कार्य गर्न गराउन नेपाल सरकारका सचिवहरुलाई निर्देशन दिए । सरुवा र बढुवा स्वच्छ र वस्तुगत हुन, कर्मचारीलाई काम तोकेर जिम्मेवारी दिने व्यवस्था गर्न, एकद्वार प्रणालीबाट सेवा प्रवाह गर्ने व्यवस्था गर्न र समयमै विकास निर्माणका निम्ति बजेट निकासा गर्न समेत प्रधानमन्त्री ओलीले निर्देशन दिएका छन् ।
जनतालाई सुविधा दिने उद्देश्यले कानुन बनाउनुपर्ने, राज्यको कामकारबाही निष्पक्ष र तटस्थ हुन कर्मचारीले त्यस्ता निकायमा राजनीतिकरण गर्न नहुने ओलीको भनाइ छ ।
|
0 comments:
Post a Comment