|
वीरगञ्जमा अड्किएका दुई सयभन्दा बढी गाडीहरु भारत प्रवेश
वीरगन्ज : वीरगन्ज : डेढ महिनादेखि वीरगञ्ज नक्शौल नाकाको दसगजामा धर्ना दिएर आपूर्ति ठप्प पार्दै आएका मधेसी मोर्चाका आन्दोलनकारीहरुलाई प्रहरीले सोमबार हटाएको छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त सुरक्षा फौजले सोमबार बिहान चार बजेदेखि पाँच बजेको समयमा धर्नाकारीहरुलाई दसगजा क्षेत्रबाट हटाएको हो। धर्नाकारीलाई हटाएपछि दसगजामा अहिले प्रहरी तैनाथ छन्। धर्नाकारीहरु हटेपछि वीरगञ्ज नाका खुलेको छ।
दसगजा क्षेत्रमा आन्दोलन तथा धर्ना राष्ट्रिय तथा अन्तराष्ट्रिय कानुन तथा प्रचलन विपरीत मानिन्छ। स्थानीय समुदाय र सुरक्षा निकायले पटकपटक आग्रह गर्दा पनि अवरोध नहटेपछि प्रहरीले सोमबार आफै हटाएको हो।
वीरगञ्जमा अड्किएका दुई सयभन्दा बढी गाडीहरु भारत प्रवेश गरेका छन्। भारततिर अड्किएका गाडीहरु नेपाल प्रवेश गराउने तयारी भइरहेको छ । दुवै पक्षका अधिकारीहरुबीच छलफल भइरहेको छ।
धर्नाकारीलाई हटाउने क्रममा केही तनाव भएको थियो। प्रहरीले सामान्य बल प्रयोग गरेको दाबी गरेको छ। प्रहरीले हटाएका धर्नाकारीहरुले नाका नजिकै वीरगञ्ज क्षेत्रमा प्रदर्शन गरिरहेका छन्। उनीहरु पुरानै धर्नास्थल दसगजातिर जाने कोसिस गरिरहेका छन्।
डेढ महिनासम्म नाकामा आन्दोलन गरेर वीरगञ्ज नाका मधेसी मोर्चाका कार्यकर्ताले ठप्प पारेका थिए। झन्डै सत्तरी प्रतिशत आपूर्तिको हुने मुख्य नाका ठप्प हुँदा इन्धनलगायतका वस्तुको आपूर्ति ठप्प भएको थियो ।यसले गर्दा जनताले सास्ती भोग्नु परेको छ।
|
0 comments:
Post a Comment