|
काठमाडौँ १७ मंसिर । ०४८ पछि पटकपटक मन्त्री भएका उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री विजयकुमार गच्छदारको सुनसरी, मोरङ र ललितपुरमा जग्गा छ । गच्छदारले जग्गा आफ्नै, श्रीमती र छोराको नाममा राखेका छन् । सुनसरीको दुहवी नगरपालिका–१० मा दुई कट्ठा सात धुर जग्गा छ । सोही जग्गामा दुई कोठाको टिनको छाना भएको र चार कोठाको पक्की घर छ । गच्छदारकी श्रीमती निर्मलाको नाममा विराटनगर उपमहानगरपालिका–१५ मा १७ कट्ठा दुई धुर जग्गामा पाँच कोठाको पक्की घर छ ।
सुनसरीको दुहबीमा सगोलमा रहेको पुख्र्यौली जग्गाबाट सात बिघा १४ कट्ठा ६ धुर अंश प्राप्त हुने गच्छदारले बताएका छन् । घरमा दोस्रो तला निर्माणाधीन छ । उनले जग्गा ०३८ मा खरिद गरेको उल्लेख गरेका छन् । श्रीमती निर्मलाकै नाममा विराटनगर–७ मा १७ धुर जग्गा छ । छोरा सुभाष गच्छदारको नाममा ललितपुरको बुङमतीमा १३ आना जग्गा छ । उनले जग्गा स्वआर्जनबाट किनेको उल्लेख गरेका छन् ।
गच्छदारसँग ७५ तोला सुन र दुई सय ७५ तोला चाँदी छ । सुन र चाँदी पुख्र्यौली तथा स्वआर्जनबाट प्राप्त भएको उनले उल्लेख गरेका छन् । गच्छदारसँग २१ लाख ७० हजार रुपैयाँ बैंक मौज्दात छ । गच्छदारपत्नी निर्मलाको नाममा स्ट्यान्डर्ड चार्टर्ड बैंकमा १० लाख ८० हजार, राष्ट्रिय वाणिज्य बैंकमा साढे ९९ हजार, नेपाल बंगलादेश बैंकमा तीन लाख ७२ हजार र सिन्सियर सेभिङ एन्ड क्रेडिट को–ओपरेटिभमा एक लाख ६३ हजार रुपैयाँ मौज्दात छ ।
भाडामा लगाइएको बा.२च ९६५६ नम्बरको गाडीबाट भाडा, कृषि तथा तलबभत्ताको आम्दानी र छोराले अमेरिकाबाट पठाएको रकम भएको सम्पत्ति विवरणमा उल्लेख छ । यसैगरी, विजय गच्छदारको नाममा सिन्सियर सेभिङ एन्ड क्रेडिट को–ओपरेटिभमा ९४ हजार, राष्ट्रिय वाणिज्य बैंकमा एक लाख २६ हजार र एभरेस्ट बैंकमा ८६ हजार नगद मौज्दात छ ।
गाडी भाडा र तलबभत्ताबाट रकम प्राप्त भएको गच्छदारको बताएका छन् । छोरा सुभाषले कमाएको १५ लाख रुपैयाँ एभरेस्ट बैंकमा मौज्दात छ । गच्छदारपत्नी निर्मलासँग माछापुच्छ्रे र नेपाल बंगलादेश बैंकको क्रमश: १६० र ४२ कित्ता सेयर छ । सांसद सुविधाबाट किनेको बा.२च ९६५६ नम्बरको गाडी छ, त्यसलाई उनले भाडामा लगाएको सम्पत्ति विवरणमा उल्लेख छ ।
गच्छदारपत्नी निर्मलाले कृषि व्यवसायका लागि साझेदारीमा विराट मल्टी एग्रो कम्पनी स्थापना गरेकी छिन् । फर्मका लागि सुनसरीमा जग्गा खरिद गरी मत्स्य, बंगुर र गाईपालन तथा अन्य कृषि व्यवसाय सञ्चालनका लागि बैंकबाट ऋण लिने प्रक्रियामा रहेको गच्छदारले बताएका छन् । उनीसँग राइफल र बाह्रबोरको एक–एक थान बन्दुक छ । उनीसँग तीनवटा फ्रिज, टिभी तीनवटा छन् ।आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
|
0 comments:
Post a Comment