|
काठमाडौं: दुई महिनादेखि भारतले लगाइरहेको अघोषित नाकाबन्दीविरुद्ध चलचित्रकर्मी संगठित रूपमा उत्रिएका छन् । उनीहरूले अग्रज कलाकार हरिहर शर्माको संयोजकत्वमा ‘चलचित्रकर्मी राष्ट्रिय जागरण अभियान नेपाल’ गठन गरेर विभिन्न कार्यक्रम अघि बढाएका छन् ।
यसै क्रममा कलाकारहरूको टोलीले शनिबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर नाकाबन्दी अन्त्य गरी जनजीवन सामान्य बनाउन अनुरोध गर्दै ज्ञापनपत्र बुझाए । ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले समस्या समाधान गर्न आफू प्रयत्नरत रहेको बताएका थिए । उनले सबै नेपालीजस्तै आफू पनि चिन्तित रहेको बताए ।
अभियानले शनिबार नै पत्रकार सम्मेलन आयोजना गरी आगामी कार्यक्रम सार्वजनिक गरेको छ । अभियानले सोमबार भारतीय दूतावास, संयुक्त राष्ट्रसंघको नेपालस्थित कार्यालय तथा अन्य सम्बन्धित निकायमा पनि ज्ञापनपत्र बुझाउने भएको छ । यस्तै मंगलबार दिउँसो १ बजे रत्नपार्कस्थित शान्ति वाटिकाबाट चलचित्रकर्मीको अगुवाइमा मौन र्याली आयोजना गर्ने भएको छ ।
अभियानले भारतलगायत अन्तर्राष्ट्रिय चलचित्रकर्मीलाई नेपाली जनताले भोगिरहेको संकटलाई सम्बोधन गर्न अनुरोध गर्ने संयोजक शर्माले जानकारी दिए । ‘यो कष्ट कहिलेसम्म हो ? समाधान के हो ? हालसम्म जिम्मेवार पक्षले जानकारी नगराउनु विडम्बना बनेको छ’, पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा उल्लेख छ, ‘आमनागरिकले कर तिरिरहेका छन् तर सरकारले समस्या समाधान गर्न ठोस उपाय अपनाएको छैन ।’
नाकाबन्दी संयुक्त राष्ट्रसंघको बडापत्र, अन्तर्राष्ट्रिय सन्धिसम्झौता, अन्तर्राष्ट्रिय मूल्यमान्यता तथा मापदण्डविपरीत भएकाले अमानवीय नाकाबन्दी तत्काल खोल्न सम्बन्धित पक्षलाई चलचित्रकर्मीले आग्रह गरेका छन् ।
उनले यी कार्यक्रमसँगै कलाकारले आफ्ना प्रस्तुतिमार्फत नाकाबन्दीविरुद्ध जनतालाई जागरुक गराउन पहल गर्ने पनि जानकारी दिए ।चलचित्र कलाकार संघका अध्यक्ष नवल खड्काले सार्वभौम जनताको अधिकार हनन गर्न कसैको पनि अधिकार नभएको बताए ।
नाकाबन्दीको विरोधमा जनतालाई जागरुक बनाउन सबै कलाकारले प्रयास गर्ने उनको भनाइ थियो । उनले मधेसी जनताको समस्या समाधान गरेर नाकाबन्दी हटाउन सरकारले कूटनीतिक पहल गर्नुपर्ने बताए ।
कलाकार मोहन निरौलाले मानवीय संवेदनाको ख्याल गर्दै शान्तिपूर्ण रूपमा आफ्ना राजनीतिक मागलाई अघि बढाउन आन्दोलनरत पक्षलाई अनुरोध गरे ।
भारतीय फिल्मकर्मीको पनि बिरोध
राजधानीमा सञ्चालन भइरहेको दक्षिण एसियाली वृत्तचित्र महोत्सव ‘फिल्म साउथ एसिया’मा सहभागी भारतीय चलचित्रकर्मीले भारतले नेपालमा लगाएको नाकाबन्दीको विरोध गरेका छन् । शनिबार महोत्सवमै वक्तव्य जारी गरी उनीहरूले भारतीय नकाबन्दी झेलिरहेका नेपालीसँग ऐक्यबद्धता जनाएका हुन् ।
‘इतिहासदेखि नै नेपाल र भारतबीचको अन्योन्याश्रित सम्बन्ध विश्वमै उदाहरणीय रूपमा रहेको छ’, महोत्सवमा सहभागी फिल्मकर्मीको विज्ञप्तिमा उल्लेख छ, ‘एक असल छिमेकीका रूपमा भारतले नेपाललाई सहयोग गर्नसक्छ ।’ नेपालको आन्तरिक मामिलामा गरिएको हस्तक्षेपप्रति फिल्मकर्मीले असन्तुष्टि जनाएका छन् ।
वक्तव्यमा भनिएको छ, ‘नेपालले अरूको हस्तक्षेपबिना नै आन्तरिक समस्या समाधान गर्न सक्नेमा हामीलाई विश्वास छ ।’ उनीहरूले वक्तव्यमार्फत भारत सरकार र अन्तर्राष्ट्रिय समुदायसँग छिटोभन्दा छिटो नाकाबन्दीको समस्या समाधान गर्न माग गरेका छन् ।
मानवताविरोधी गतिविधि नाकाबन्दीले नेपालको अर्थतन्त्र, नेपालीको स्वास्थ्य, दैनिकीमा पारेको समस्यालाई देखेपछि चलचित्रकर्मीले दुःख व्यक्त गरेका छन् ।
वक्तव्य जारी गर्ने फिल्मकर्मीमा दीप्ति मुरली, हेमन्त गाबा, इफ्फत फतिमा, नकुल सिं सहनी, प्रतीक शेखर, सञ्जय कक, सुभ्रा दीक्षित, श्वेता घोष, स्मिता भन्नियार, वैभव सोर्त रहेका छन् ।
महोत्सवमा उपस्थित नभए पनि अन्य फिल्मकर्मी फरिदा पाचा, कविता बल, नन्दन सक्सेना, समीर फारुकी, शबानी हसनवालिया, सन्ध्या कुमार, सुव श्री कृष्णन र तरुन भारतीयले वक्तव्यमा समर्थन जनाएका छन् ।
|
0 comments:
Post a Comment