|
काठमाडौं: नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय फोटो महोत्सव आयोजना हुने भएको छ।
फोटो सर्कल तथा अन्य केही संस्थाले राजधानीमा मंगलबारदेखि ६ दिनसम्म फोटो महोत्सव आयोजना गर्न लागेको हो। महोत्सव पाटनको सार्वजनिक स्थलमा आयोजना हुने बताइएको छ।
महोत्सवमा नेपाली तथा विदेशी गरी १८ जना फोटोग्राफरको सन् ५० को दशकपछि नेपालमा खिचिएको फोटो प्रदर्शन गरिनेछ भने ३१ राष्ट्रका फोटोग्राफरको ८० वटा उत्कृष्ट कामलाई स्लाइड शोमार्फत पनि देखाइने भएको छ। स्लाइड शो पाटनको नागबहाल, मंगहिटीलगायतका स्थानमा रहनेछ।
महोत्सवमा ऐतिहासिक फोटो प्रदर्शनी, स्लाइड शो, कलाकारसँग अन्तरसंवाद र कार्यशाला आयोजना हुनेछन्। सो अवसरमा दृश्यलाई प्राथमिक भाषा बनाएर काठमाडौंको विगत, वर्तमान र भविष्यबारे संवाद पनि हुनेछ।
पहिलो संस्करणमा समयलाई विषयवस्तु बनाइने भएको छ । फाटो प्रदर्शनीले नेपालको आधुनिक इतिहासका घटनाक्रमलाई प्रस्तुत गर्नेछ।
फिलिप ब्लेंकिन्सप, विकास रौनियार, किशोर शर्मा, केभिन बुब्रिस्कि, प्रषित स्थापित, फ्रेडेरिक लिक्लु, तोउमो मिन्निनेलगायतका फोटोग्राफरले खिचेका फोटो महोत्सवमा प्रदर्शनीमा राखिनेछ। नेपाल पिक्चर लाइब्रेरीले संकलन गरेका फोटो पनि प्रदर्शनीमा रहने भएको छ।
लाइब्रेरीले आमजनताको घरमा रहेका पुराना फोटो संकलन गर्दै तीसम्बन्धी रोचक तथ्यहरू अभिलेख राख्दै आएको छ। महोत्सवमा फोटोग्राफरका लागि उपयोगी कार्यशालासमेत आयोजना गरिने आयोजकले जनाएको छ।
महोत्सवमा आयोजना हुने फोटो बिक्रीबाट उठेको रकम भूकम्प प्रभावित पाटनको संरचना पुनर्निर्माणमा खर्च गरिने बताइएको छ।
|
0 comments:
Post a Comment