|
संविधान निर्माण भएपछि उपत्पन्न परिस्थितिको समीक्षा गर्न आइतबारबाट सुरु भएको केन्द्रीय समिति बैठकमा सोमबार सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेलले प्रधानमन्त्री उम्मेदवारीको बचाउ गरेका हुन्।
प्रधानमन्त्रीमा उम्मेदवारी दिनुको स्पष्ट कारण उल्लेख नगरे पनि उनीहरुले एक–अर्कालाई आरोप लगाएका छन्। सभापति कोइरालाले सत्ता साझेदार एमालेले संविधान संशोधन र पुनर्निर्माण प्राधिकरण गठनमा असहयोग गरेकै कारण पार्टीले उम्मेदवारी दिनुपरेको बताए। लोकतन्त्रमा हार र जित हुने भन्दै उनले त्यसलाई अन्यथा लिन नहुने तर्क गरे।
प्रधानमन्त्रीमा उपसभापति पौडेललाई अघि सार्ने आफूले तयारी गरे पनि वरिष्ठ नेता शेरबहादुर देउवाले असहयोग गरेपछि आफैँ उम्मेदवारी दिएको बताए। 'मैले पौडेलजीलाई छोड्न खोजेको थिएँ, देउवाजीले मान्नुभएन,' कोइरालालाई उद्धृत गर्दै एक सदस्यले नागरिकलाई भने, 'उहाँले संसदीय दलको निर्वाचन नहुने हो भने तपाइँ नै उठ्नुस् भनेपछि उम्मेदवारी दिएँ।'
केन्द्रीय सदस्य र नेताहरुले पार्टीको आलोचना मात्र गरेको प्रति असन्तुष्टि जनाउँदै कोइरालाले सञ्चारमाध्यममा जथाभावी नबोल्न पनि निर्देशन दिए। 'पार्टीको निर्णयवरुद्ध बोल्नु राम्रो भएन,' उनले भने, 'दुईवटा पार्टीजस्तो देखियो।'
१३औँ महाधिवेशनमा सभापति उम्मेदवार बन्ने संकेत गर्दै उनले आफू स्वस्थ रहेको बताए। 'दस वर्षअघि जिब्रोको क्यान्सर भएको हो, त्यो ठिक भइसक्यो, एकपटक फलोअपमा गएर आउँछु,' उनले भने, 'सक्रिय भइन्जेल गर्ने हो, सिरक ओढेर राजनीति गर्दिनँ।'
उपसभापति पौडेललाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने विषयमा सभापति कोइरालाले आफूसँग कहिल्यै सल्लाह नगरेको वरिष्ठ नेता देउवाले बताए। मधेसकेन्द्रित राजनीतिक दल प्रधानमन्त्री निर्वाचनमा मतदान गर्न आउने भएपछि उम्मेदवारी दिने निष्कर्षमा पुगेको देउवाले बताए। 'मधेसकेन्द्रित दलले मतदान गरेर बहुमत पुग्छ भने उम्मेदवारी दिनुपर्छ भन्ने भएको हो,' देउवाले भने, 'पौडेललाई बनाऊँ भनेर मसँग कहिल्यै भन्नुभएको थिएन, यसरी नभएको कुरा गर्ने हो? प्रधानमन्त्रीको उम्मेदवार बन्न पनि रोक्छन्, प्रस्तावक बस्दा पनि सुख छैन।'
सभापति कोइरालाले झुट बोलेको आरोप लगाउँदै देउवाले भने, 'अब म एक्लै भेट्दै भेट्दिन, ढाँट्नु हुन्छ!'
सभापति कोइराला र वरिष्ठ नेता देउवाले आफूलाई रोक्न खोज्दा पार्टीले प्रधानमन्त्रीसहितका सबै पद गुमाएको उपसभापति पौडेलले गुनासो गरेका थिए। सभापति र वरिष्ठ नेताबीच भएको कुरा आफूलाई जानकारी नभएको बताउँदै पौडेलले भने, 'देउवाजीले जहिले पनि कि त सभापति नै उठ्नुपर्ने नभए संसदीय दलको चुनाव गर्नुपर्ने भन्नुभयो। प्रधानमन्त्री निर्वाचन हुन १२ घन्टा बाँकी रहँदा कसरी दलको निर्वाचन सम्भव हुन्थ्यो?'
आफू संसदीय दलको नेता भएका बेला कार्यसमितिबाट निर्णय गराएर देउवा प्रधानमन्त्रीको उम्मेदवार भएको सुनाउँदै उनले भने, 'म संसदीय दलको नेता हुँदाचाहिँ केन्›ीय समितिले निर्णय गर्न हुने, मलाई बनाउने बेला किन नहुने? यो के नियत हो?'
तीनै जना नेताहरुबीच प्रधानमन्त्रीको उम्मेदवार को हुने भनेर छलफल नै नभएको सुनाउँदै पौडेलले भने, 'देउवाजीसँग मेरो गुनासो छ, तीन जना बसेर कुरा गर्नै चाहनुभएन।'
पार्टीको नियम आफूलाई मात्र लागेको धारणा राख्दै पौडेलले भने, 'म संसदीय दलको नेता हुँदा एक व्यक्ति, एक पद भन्ने पछि त्यो पनि लागू नहुने।'
केन्द्रीय समितिबाट नै प्रधानमन्त्रीको उम्मेदवार टुंगो लगाउन आफ्नो प्रस्तावलाई अस्वीकार गरेको प्रति लक्षित गर्दै पौडेलले भने, 'तीन जना नेतालाई श्रीपेच लगाउने काम तपाइँहरुले नै गर्नुभएको हो।'
पार्टीका तीन शीर्ष नेता असफल भएको भन्दै दोस्रो पुस्ताले छोड्नुपर्ने आवाज उठाइरहेका बेला पौडेलले त्यसको बचाउ गरे। संविधानसभाबाट संविधान लेख्नको नेतृत्व तीनै जनाले गरेर जिकिर गर्दै पौडेलले भने, 'बिपी कोइरालाले पनि नसक्नुभएको काम हाम्रो पुस्ताले गरेको छ, यो सफल पुस्ता हो।'
पार्टीका शीर्ष नेताको आलोचना गर्न भन्दा राम्रो काम गरेर नेतृत्वको दाबी गर्न चुनौती दिँदै उनले भने, 'हामीसँग जस्तो योग्यता र क्षमता तपाईंहरुसँग छैन।'
एमालेलाई प्रधानमन्त्री दिने कुनै सहमति नभएको दाबी गर्दै पौडेलले भने, 'सहमति भन्ने कुरा राष्ट्रघाती हो, भद्र सहमति सहमति केही भएको थिएन।'
नेता पूर्णबहादुर खड्काले एमालेसँग भद्र सहमति भएको दाबी गर्दै सभापति सुशील कोइरालाले त्यसको पालना नगरेको बताए। 'आठ प्रदेश भए माओवादी संविधान बनाउन तयार भएपछि एमाले नेता विष्णु पौडेलले एमालेलाई प्रधानमन्त्री दिए मान्ने कुरा आयो,' खड्कालाई उद्धृत गर्दै स्रोतले भन्यो, 'सभापतिजीलाई सोध्दा हुन्छ भन्नुभएको हो। यस विषयमा मलाई भन्दा धेरै महामन्त्री सिटौलाजीलाई थाहा छ तर उहाँ बोल्नुहुन्न, सहमति भएकै हो।'
एमालेले संविधान संशोधनसहितका विषयमा असहयोग गरेको भए त्यति बेला नै भन्नुपर्ने धारणा राख्दै उनले भने, 'उम्मेदवारी दिने बेलामा मात्र त्यो कुरा बाहिर ल्याउनु गलत भयो।'
मित्रशक्तिहरुले कांग्रेस र एमाले एकै ठाउँमा बस्न हुन्न भनेको भए पनि उम्मेदवारी नदिई प्रतिपक्षमा बसेको भए राष्ट्रपतिसहितका पद पार्टीले पाउने तर्क गरे। 'तपाईं (सुशील कोइराला) शिखरमा पुग्नुभएको थियो, उम्मेदवार बनेर धुलोमा पुग्नुभयो,' खड्कालाई उद्धृत गर्दै एक सहभागिले भने, '३ सय १० देखि ३ सय ३१ को ग्यारेन्टी गर्नेले आत्मालोचना गर्नुपर्छ।'
गणतन्त्र ल्याउन नेतृत्व गरेको पार्टी पूर्व राजा ज्ञानेन्द्र शाह अध्यक्ष रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको समर्थनमा प्रधानमन्त्री हुन लागेको भन्दै उनले नेतृत्वको आलोचना गरे।
केन्द्रीय समितिमा बोल्ने अधिकांश सदस्यले प्रधानमन्त्रीमा पार्टीको उम्मेदवारी ठिक नभएको तर्क गरेका थिए। उचित समयमा उचित निर्णय लिन नसकेको स्वीकार गर्दै आगामी बाटो खोज्नु पर्ने धारणा राखेका थिए। सभापति कोइरालामाथि सदस्यहरू बढी आक्रामक देखिए पनि प्रधानमन्त्रीसहितका पद गुम्नुको जिम्मा तीनै जनाले लिनुपर्ने तर्क गरेका हुन्।
०००
केन्द्रीय सदस्य रामशरण महतले शीर्ष नेताहरु पार्टी सञ्चालमा असफल भएको बताउँदै कांग्रेसले विदेशीको इसारामा उम्मेदवारी दिक्एो सन्देश प्रभावह भएको धारणा राखे। राम्रो कुर्सीमा जानुभन्दा बसेको कुर्सी पनि गयो,' महतले भने, 'प्रतिकुलतालाई अनुकुलता बनाउने दायित्व शीर्ष तहबाट पुरा भएन।'
केन्द्रीय सदस्य प्रदिप पौडेलले प्रधानमन्त्रीबाट बहुमत नपुग्न प्रस्ट हुँदा हुँदै उम्मेदवारी दिएर नेतृत्वले गल्ती गरेको धारणा राखे। 'म लडेको भए जित्थे उ लड्दा हार्यो् भन्ने कुरा नै गलत हो,' केन्द्रीय सदस्स्य पौडेलले भने, 'सेनापति नै सहभागि भएको युद्ध हारेपछि अर्को जाँदा तित्थे भन्ने व्यकारको कुरा हो।'
सरकार, राष्ट्रपति, सभामुख गुमेपनि कांग्रेस सबैभन्दा ठूलो दल भएकाले संसदमा नेतृत्वदायि भूमिका खेल्नु पर्ने धारणा राखे। 'हामी सरकार र सडक दुबै ठाउँमा छैनौ, अब हामीले संसदमा नेतृत्वदायि भूमिका खेल्नु पर्छ' उनले भने, 'अन्यथा हामी भूमिका बिहीन हुन्छौ।' उनले छाँया सरकार गठन गरेर अघि नबढ्ने नेतृत्वलाई सुझाएका छन्। कांग्रेस नेतृत्वको सरकारले संसदमा पेस गरेको संविधान संश्ोधानको प्रस्तावले मात्र मधेसको समस्या समाधान नहुने भन्दै सीमांकनसहितको विषयमा पनि पार्टीको स्पष्ट धारणा बाहिर ल्याउन नेतृत्वलाई सुझाएका छन्।
केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले पाटी अहिलेको अवस्थामा पुगनुको जिम्मेवारी शीर्ष ती नेताले लिनु पर्ने तर्क गरे। 'यसलाई हल्कारुपमा नलिनुस्, कार्यकर्ता धेरै निरास भएका छन्,' पाण्डेले भने, 'शक्ति केनद्रहरुसँग अन्तरङ्ग बसेकालाई पछि राख्नुस् र नयाँलाई भूमिका दिनुस्।' केन्द्रीय सदस्य धनराज गुरुङले पार्टीलाई रसातलमा पुर्या्उन तीन जना नेता एकै ठाउँमा उभिएको आरोप लगाए। केन्द्रीय सदस्य सुजाता कोइरालाले साधुसन्तबाट अब पार्टी नचल्ने तर्क गरीन्। केन्द्रीय सदस्य गगन थापाले कांग्रेसले अरुका चस्माले हेर्दा समस्या भएको बताए।
|
0 comments:
Post a Comment