|
आश्विन १०, २०७२- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आइतबार विश्वमै धेरै मानिसले प्रयोग गर्ने सामाजिक सञ्जाल फेसबुकको अमेरिकास्थित मुख्यालय भ्रमण गर्दै छन् । दुई साताअघि नै फेसबुकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मार्क जुकरबर्गले मोदीले फेसबुकको मुख्यालय भ्रमण गर्ने र उक्त अवसरमा लाइभ भिडियो च्याट गर्ने जानकारी दिएका थिए ।
संयुक्त राष्ट्रसंघको ७० औं महासभामा भाग लिन अमेरिका पुगेका मोदीले फेसबुकको मुख्यालय पनि भ्रमण गर्न लागेका हुन् । जुकरबर्गले फेसबुक प्रयोगकर्ताले मोदीलाई आफूले जान्न चाहेका प्रश्नहरु सोध्न आग्रह गरेका छन् । जुकरबर्गले आफ्नो स्ट्याटसको कमेन्टस्मा प्रश्नहरु सोध्न आग्रह गरेका छन् । मोदीले ती प्रश्नको जवाफ लाइभ च्याटमार्फत दिने बताइएको छ ।
मोदीले जुकरबर्गसँगै रहेर प्यासिफिक समय अनुसार बिहान साढे नौ बजे (नेपाली समयअनुसार राति सवा १० बजे) बाट लाइभ च्याट सुरु गर्नेछन् ।जुकरबर्गले मोदीसँग लाइभ च्याट गर्ने भनेपछि नेपाल र नेपाल बाहिर रहेका नेपालीहरुले जकुरबर्गको स्ट्याटसमा थुप्रै प्रश्न राखेका छन् । नेपालले गत आइतबार नयाँ संविधान जारी गरेपछि 'अघोषित नाकाबन्दी' गरेकोमा असन्तुष्टि जनाउँदै नेपालीहरुले मोदीमाथि प्रश्न राखेका छन् ।
अहिलेसम्म ५० हजारभन्दा बढी कमेन्टस्मा मोदीलाई प्रश्न आइसकेका छन् । त्यसमा क्यान्डीक्रसदेखि सामाजिक सञ्जाल र नेपाल भारतको सम्बन्धका विषयका जिज्ञासा राखिएका छन् ।
|
0 comments:
Post a Comment