|
काठमाडौं, २२ माघ । आन्दोलनरत मधेशी मोर्चा घटक सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोसँग प्रधानमन्त्री केपी शर्मा ओली र एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच टेलिफोन वार्ता भएको छ ।
अध्यक्ष प्रचण्डले शुक्रबार बिहान र प्रधानमन्त्री ओलीले दिउँसो टेलिफोन गरी औपचारिक रुपका नाका कहिले खुल्ने हो भनी जिज्ञासा राखेका छन् । जवाफमा उनले यस विषयमा मोर्चाको बैठक बसेर मात्रै निर्णय लिइने बताए । यद्यपी शुक्रबारबाट साढे पाँच महिना देखि अवरुद्ध बनेको वीरगञ्ज नाका खुलेको छ ।
सबै नाका अवरुद्ध गर्ने भएमात्रै वीरगञ्जनाकामा अवरोध गर्नुपर्ने विचार राखेका महतोले एउटा मात्रै नाका अवरोध गर्दा तस्करलाई फाइदा पुगेको बताए ।
हालै विहारको तीनदिने राजनीतिक भेटघाट सम्पन्न गरी स्वदेश फर्केका महतोले वीरगञ्जनाका चाँडै खुल्ने बताएको भोलिपल्टै शुक्रबार सो नाका सूचारु भएको हो ।
नाका खुलेकोमा प्रधानमन्त्री र प्रचण्डले महतोलाई धन्यवाद दिँदै मोर्चाको मागका विषयमा आफूहरु सकारात्मक रहेको प्रतिक्रिया दिए । हाल विराटनगरमा रहेका महतोलाई काठमाडौं फर्कन आग्रह गरेका द्वयशीर्ष नेताले मिलेर समस्या समाधान गर्नुपर्ने बताएका छन् ।
|
0 comments:
Post a Comment