|
काठमाडौं: ग्यास बितरण प्रणालीलाई पारदर्शी र व्यवस्थित बनाउन सरकारले कन्ट्रोल रुम स्थापना गर्ने निर्णय गरेको छ।
वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो।मन्त्रालयका प्रवक्ता शम्भु घिमिरेले गृहमन्त्रालय, वाणिज्य मन्त्रालय, वाणिज्य विभाग, निगम, ग्यास उद्योगीसहितको सहकार्यमा बबरमहलस्थित नेपाल आयल निगमको हातामा ‘कन्ट्रोल रुम’ स्थापना गर्ने जानकारी दिए।
वाणिज्य विभागका निर्देशक हरिनारायण बेल्वासेको संयोजकत्वमा सरोकारवाला निकायको प्रतिनिधित्व हुने गरी यो रुम मंगलबार नै स्थापना हुँदैछ।ग्यासको वास्तविक आपूर्ति र ग्यास आपूर्तिसँगै बितरण प्रणालीको बारेमा यथार्थ सूचना सार्वजनिक गर्न कन्ट्रोल रुम स्थापना गर्न लागिएको हो।
यो रुममार्फत ग्यासको आपूर्ति र वितरण प्रणालीमा निगरानीसमेत गरिनेछ।'कति परिमाणमा ग्यास आयो, कहिले कहाँबाट वितरण हुनेछ, कति परिमाणमा वितरण गर्नेलगायतका बारेमा यथार्थ जानकारी सर्वसाधारणले नपाउँदा उनीहरू लामो लाइनमा बस्न बाध्य छन्', उनले भने, 'यस्ता समस्या समाधान गर्न कन्ट्रोल रुम स्थापना गर्न लागेका छौं।
यो रुमबाट सर्वसाधारणले कहिले कहाँबाट कति परिमाणमा ग्यास वितरण हुन्छ भन्ने बारेमा अग्रिम जानकारी पाउन सक्षम हुनेछन्। मन्त्रालयले उद्योगको आधिकारिक डिलरमार्फत मात्रै ग्यास वितरण गर्ने निर्णय पनि गरेको छ।
उद्योगको परिसरबाट वितरण हुँदा सर्वसाधारण लाभान्वित हुन नसकेको ठहर गर्दै मन्त्रालयले डिलरमार्फत वितरण गर्ने व्यवस्था मिलाएको हो।
|

0 comments:
Post a Comment