लुम्बिनीमा अपनत्वको खोजी

अनुहारका अनेक आकारहरू। परिहनले छुट्याएका फरक पहिचानहरू। भूगोलले बाँडेका भिन्न परिचयहरू। धर्मले विभक्त तमाम आस्थाहरू। ती सबै एउटै उद्देश्य लिएर पुग्छन् सायद लुम्बिनी। 
 
किनकि गौतम बुद्धको जन्मस्थल मायावती मन्दिरपरिसरमा सबैको चाल मन्द बन्छ। सुस्त देखिन्छ। शान्त र सौम्य लाग्छ । अशोका स्तम्भ नेर उभिएर कञ्चन पार्छन् मुहार, आगन्तुकले।
 
तीन वर्षकै दौरानमा धेरै फेरिएको छ लुम्बिनी। तीन वर्षपहिले उजाड र रित्तो चार नम्बर गेटको किनारभरि यतिबेला तारे स्तरका होटेलले ढाकिँदै गएको छ। अत्याधुनिक सुविधाले उखरमाउलो गर्मी र मुटु काँप्ने चिसोको प्रवाह नहुने भएको छ।
 
मायावतीको आँगन कुनै वसन्त आएको मौसमभन्दा कम्ती लाग्दैन। तीन वर्ष पहिले नयाँ निर्माणको क्रम चलिरहेको थियो। मायावती छेउमै भताभुंग र लथालिंग लाग्थ्यो। त्यो अवस्था अहिले अलिक पर सरेको छ। 
 
मायावती मन्दिरको डिलदेखि अखण्ड ज्योतिको बीचमा रातो इँटा बिछ्याइएको बाटो लडीबुडी गरौं झैं स्निग्ध पारिएको छ। ज्योतिको अघिल्तिर 'बेबी बुद्ध'को सुनौलो प्रतिमा खडा छ। जसले आउने हरेक आगन्तुकलाई सौम्यतापूर्वक नियालिरहेको भान हुन्छ। 
 
अनि शान्तिको 'तथास्तु' भनिरहे झैं लाग्छ।http://www.annapurnapost.com/Modules/News/Image/Default/
मायावतीको भित्री सर्किटसँगै बेबी बुद्धको दाहिनेपट्टि बडो कौशलताले बनाइएको सूचना केन्द्र जिज्ञासुहरूको अनुपम खुराक बनेको छ। 'बेबी बुद्ध', भित्री सर्किट र सूचना केन्द्र लुम्बिनी गुरुयोजना इतरका निर्माणहरू हुन्। पूर्वउपाध्यक्ष कर्मोसम्बो शेर्पाको तजबिजमा यी संरचना बनाइएपछि उन्ले निकै आलोचनासमेत खेप्नुपरेको पूर्वसदस्य अम्बिका कोहार स्मरण गर्छन्।
 
अखण्ड ज्योतिदेखि अघिल्तिरको लुम्बिनी यतिबेला पुनर्निर्माणका क्रममा छ। कृत्रिम नहरको पानी सुकाइएको छ। दुवै किनारको बाटो निर्माणका लागि भत्काइएको छ । पानी परेको दिन हिलाम्यबाहेक कुनै सुन्दरता त्यहाँ पाइँदैन। 
 
सूचना केन्द्रको पछाडिपट्टि विद्युतीय रिक्सा सञ्चालनमै नल्याएर खातका खात थन्क्याइएका छन्। आगन्तुकले घन्टौं पैदल हिँडेर देख्न नसक्ने दृश्य छोटो समयमै अवलोकन गर्न सकुन् भनेर ल्याइएका ई-रिक्सा आपसी विवादले नचलाई थन्क्याएको जानकारी दिन्छन् कोहार।
 
यतिबेला बुद्धले प्रयोगमा ल्याएका अद्वितीय र अलौकिक वस्तुहरूको संग्रहालय पनि आगन्तुकका लागि खुला छैनन्। म्युजियमको वरपर उस्तै कौशलमा तमाम् संरचना निर्माणको क्रमले त्यो अवसरमा बन्देज लगाइएको छ। 
 
लुम्बिनी बसपार्कभरि यत्रतत्र खडा गरिएका पसल र चमेनागृहले त्यसको शोभा र खुलापन उकुसमुकुस बनाएको स्थानीय सुहेलअहमद खान महसुस गर्छन्।
लुम्बिनीसँग आसपासका बासिन्दाको आफ्नै सम्बन्ध छ। गहिरो साइनो छ । ती चाहे हिन्दु होऊन्। चाहे बौद्धिष्ट होऊन या हुन् मुस्लिम। 
 
मायादेवीको पश्चिम-उत्तरमा मुस्लिम समुदायको खँदिलो बस्ती छ। हरेक बस्तीमा उनीहरूको आफ्नै धर्म पुकार्ने मस्जिद छ। साँझबिहान 'अल्लाह'पुकार्ने मुस्लिम पनि दिउँसो लुम्बिनीको सुन्दर हरियालीमा एक निमेष शान्तिका लागि पस्न कुनै विभेद नठान्ने सुहेल खान बताउँछन्। 
 
प्रचण्ड गर्मी हुँदा दिउँसो पडरिया चोकको मस्तिद किनारमा रहेको लहरेपीपलको चौतारीमा एक मेसै भएर हिन्दु मुस्लिम शीतल मारिरहेका हुन्छन्।सयौं बिगाहमा फैलिएको विश्वकै चर्चित यो शान्ति भूमि अझै उर्वर भने भइसकेको भान हुँदैन। किन त ? प्रश्न स्वाभाविक हो। 
 
आगन्तुकलाई सहजै घुम्ने साधनको सुविधा छैन । सामान्य आर्थिक अवस्थाका फिरन्तेदेखि उच्च हैसियतकालाई समेट्न सकिएको छैन। आवश्यक सुविधा नभैदिँदा एक दिनका लागि लुम्बिनी घुम्न मन गर्नेले झझल्को मात्रै बोकेर फर्किने गरेका हुन्छन्।
 
पडरिया गाउँदेखि मायावती जाने अर्को मार्ग बोर्डले धेरै पहिला पास गरे पनि निर्माणमा अझै तदारुकता देखाइएको छैन । प्राथमिक स्वास्थ्य केन्द्रको सडक अस्तव्यस्त छ। यो सबै हुनुमा अपनत्वको अभाव देख्छन् स्थानीय बासिन्दा तथा बोर्डका पूर्वसदस्य कोहार। 
 
यहाँका लागि सरकारले बोर्डका उपाध्यक्ष, सदस्य सचिवलगायत नियुक्त गर्छ। नियुक्ति पाउने उच्चतहमा भने कहिल्यै स्थानीय नागरिकलाई मौका दिइँदैन। कोहार बाहिरबाट नियुक्त भएर आउनेले जागिरे मानसिकता बनाएर आउने भएकाले नै यहाँका मसिना कुरामा ध्यान नदिने गरेको दाबी गर्छन्।
 
त्यतिमात्रै होइन टुर गाइडदेखि कर्मचारीसम्म बाहिरबाटै मान्छे झिकाएर राख्नाले पनि यहाँका बासिन्दा लुम्बिनीको विकास र व्यवस्थापनसँग बेमतलवी बन्दै गएका देखिन्छन्। लुम्बिनी विकास कोषले २०३७ सालमा जग्गा अधिग्रहण गर्दा बाबुबाजेको जग्गा गुमाएका अब्दुल गफ्फर मुसलमान पनि यही पीडामा छन्। 
'लुम्बिनी बनेकोमा हामीलाई गर्व थियो, विस्तारै अवसर बाहिरकाले लिँदै गए', अब्दुलले भने, ‘हाम्रो त भएको जायजेथासमेत अधिग्रहणमा परेर सुकुमबासी पो बन्यौं।' व्यवस्थापन विषयमा स्नातक सकेका उनले टुर गाइटको तालिमसमेत लिएका छन्। 
 
लुम्बिनी विकासमा स्थानीयलाई प्राथमिकता दिने प्रतिबद्धता कार्यान्वयन नहुँदा उनी स्थानीय ग्रिन लुम्बिनी होटेलमा वेटर हुन बाध्य छन्। अब्दुुलजस्ता अघिग्रहणमा परेका परिवार र स्थानीयबाट लुम्बिनी विकास कोषले ७० प्रतिशत रोजगारीमा लिने निर्णय गरेको छ। आफू बोर्डको सदस्य रहँदा त्यो विषय उठाउँदा उच्च पदस्थहरूले कहिल्यै नसुनेको पीडा बोकेर बसेका छन् कोहार पनि।
 
बाहिरबाट राजनीतिक नियुुक्ति पाएर जानेहरूले स्थानीयको भावना नसमेटिदिँदा लुम्बिनी र बोधगयाको सम्बन्ध गाँसिनसमेत निकै समय लागेको र लाग्ने देख्छन् उनीहरू। जग्गा अधिग्रहणमा परेर सुकुमबासीको नियति भोग्न बाध्य समिर साह पनि अवसर आफूले नपाएपछि आफ्नो गाउँसमाजको मानिसले पाउँदा चित्त बुझाउन सकिने अवस्थामा छन्।
 
बुद्धको विषयलाई लिएर नेपाल र भारतबीच जहिले विवाद बल्झिन्छ। यहाँका जनता भने कुरा प्रस्ट देख्छन् तर त्यसलाई प्रस्ट्याउन नसकेको उनीहरूको ठम्याइ छ। स्थानीयलाई उपेक्षा गरिँदा नै धेरै कुरामा उर्जा कमजोर भएको उनीहरू गुनासो गर्छन्। 
 
बुद्ध सिद्धार्थ गौतमका रूपमा लुम्बिनीमा जन्मिए। हाल भारतको बोधगयामा ज्ञान प्राप्त गरेको सत्य हो। उनले भारतको कुसीनगरमा देहत्याग गरेको इतिहास स्थानीय सुनाउँछन्।
 
यही मान्यतालाई टेकेर मानव रूपमा बुद्ध नेपालमा जन्मिएका र बुद्धत्व भारतको बोधगयामा प्राप्त गरेकाले कुरा प्रष्ट्याउन नसक्दा विवाद देखिने पूर्वसदस्य अम्बिका कोहार बताउँछन्। विकास कोष, सरकार र स्थानीय जनताको सम्बन्ध सुमधुर बनाएर अगाडि बढ्न सके नेपाल-भारतबीचको बुद्ध सर्किट निर्माणले आकार लिने उनी देख्छन्। 
 
त्यो गर्न सकिए बुद्ध बारेको विवाद पनि सदाका लागि समाप्त भएर बुद्ध पर्यटनबाट दुवै देशले मनग्य आम्दानी र मित्रता कायम गर्न सक्ने उनको ठम्याइ छ ।
स्रोत र साधनमाथिको पहुँच स्थानीयतहमा पहिलो हुनु प्राकृतिक न्याय पनि हो। 
 
लुम्बिनीकै माटोमा जन्मिएर त्यही माटोमा लडीबुडी गर्दै गरेकालाई त्यसको अपनत्व दिन सक्नु न्यायिक आवश्यकता होइन भन्न सकिन्न। त्यसो गर्न सके बुद्ध पर्यटनको फाइदा सोचेभन्दा चाँडो र धेरै सिंगो मुलुकले लिन सक्नेछ।
 
फरक भाषा, भिन्दै धर्म अनेक अनुहारले लुम्बिनीलाई उस्तै गरी हेर्छन् भने लुम्बिनीवासीलाई राज्यले अलग नजरले किन हेर्नु!
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment