|
रसुवा, १७ कात्तिक । मंगलबार दिउँसो रसुवाको राम्चेमा भएको यात्रुवहाक बस दुर्घटनामा मर्नेको संख्या ३० पुगेको छ ।
काठमाडौँबाट रसुवाको चिलिमेतर्फ आउँदै गरेको ना३ख ५७०६ नम्बरको बस दिउँसो १ बजे पासाङल्हामु सडकखण्डको राम्चे गाविस–३ ग्राङमा दुर्घटना हुँदा ३० जनाको मृत्यु हुनुका साथै ३० जना भन्दा बढी घाइते भएका छन् ।
बस दुर्घटनामा ज्यान गुमाउनेमा एक बालकसहित १८ जना पुरुष र १२ महिला रहेको भएपनि उनीहरुको सनाखत भने भएको छैन । बसको क्षमता भन्दा निकै धेरै बसभित्र र छतमा गरी करिब एक सयभन्दा बढी यात्रु सवार रहेको अनुमान गरिए पनि एकिन यात्रुको संख्या भने आएको छैन। घाइतेहरुको धुन्चे अस्पताल, त्रिशुली अस्पताल र काठमाडौंको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । कतिपयले बसको छतबाट हाम फालेर ज्यान जोगाएका छन् ।
बस ग्राङस्थित भीरबाट पाँच सय मिटर भन्दा तल बस खसे लगत्तै घाइतेको उद्धार कार्य गर्नुका साथै त्यसपछि मृतकको शव संकलनपछि अहिले मृतकको सनाखत र पोष्टमार्टम गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
इन्धनको अभावसँगै सार्वजनिक यातायातका साधनको प्रयाप्त उपलब्ध नभएपछि बसहरुमा क्षमता भन्दा बढी यात्रा गर्नु र गराउनु पर्ने बाध्यात्मक अवस्थाका कारण सो दुर्घटनामा धेरै मानवीय क्षति व्यहोर्नु परेको हो ।
|
0 comments:
Post a Comment