|
लहान, १६ कात्तिक । संयुक्त मधेसी मोर्चाले विगत अढाइ महिनादेखि जारी राखेको आमहडतालको मौका छोपी सिरहामा खाना पकाउने ग्यासको कालाबजारी बढेको छ । आमहडतालका कारण यातायातका साधन नचलेको भन्दै व्यापारीले खाना पकाउने ग्यासको कालोबजारी गर्दै आएका हुन् । बजारमा खाना पकाउने ग्यास थोरै सङ्ख्यामा आउने गरेको मौका छोपी स्थानीय व्यापारीहरु ग्यासको कृत्रिम अभाव देखाउँदै कालोबजारी गर्दै आएको उपभोक्ताको गुनासो छ ।
ग्यासको अभाव देखाउँदै स्थानीय ग्यास विक्रेताले तोकिएको मूल्यभन्दा बढी मूल्यमा ग्यासका सिलिन्डर बिक्री गर्दै आएको स्थानीय उपभोक्ता फिरोज सिद्धिकीको गुनासो छ । एक सिलिन्डर ग्यासको बिक्री मूल्य एक हजार ४०० भए पनि स्थानीय ग्यासका विक्रेताले एक सिलिन्डर दुई हजारदेखि दुई हजार ५०० सम्ममा बिक्री गर्दै आएको उनको भनाई छ ।
वर्षेनी चाडपर्वको समयमा बजार अनुगमन हुने गरे पनि यसवर्ष कुनै निकायले बजार अनुगमन नगर्दा स्थानीय व्यापारीले उपभोग्य सामानको मनपरी ढङ्गबाट मूल्य बढाएर बिक्री वितरण गर्दै आएका छन् । बजार अनुगमनको जिम्मेवार निकाय स्थानीय प्रशासन, खाद्य तथा गुण नियन्त्रण कार्यालयलगायतले लामो समयदेखि बजार अनुगमन नगर्दा स्थानीय व्यापारीले म्याद गुज्रेका अखाद्य वस्तुहरुको समेत बिक्री वितरण गर्दै आएको राष्ट्रिय उपभोक्ता मञ्च सिरहाका अध्यक्ष रामानन्द गुप्ताको भनाइ छ ।
यता सिरहाका प्रमुख जिल्ला अधिकारी डा मानबहादुर विश्वकर्माले ग्यासको कालोबजारी भइरहेको आफूसमक्ष पनि गुनासो आएको स्वीकार्दै ग्यासको कालोबजारी अनुगमनका लागि स्थानीय प्रहरी युनिटलाई निर्देशन दिइसकेको बताए ।
|
0 comments:
Post a Comment