|
भूमिगत कालमा पार्टी बाहिर बाबुरामको चर्चा जति बढ्दै गयो, पार्टीभित्र चाहिँ उनलाई बदनाम मात्रै गरिएन, ०६१ सालसम्म आइपुग्दा रोल्पाको एउटा घरमा बन्दी बनाएर राखियो । बाबुरामका समर्थक देवेन्द्र पौडेल, देवेन्द्र पराजुली लगायतका नेतालाई पार्टीभित्रै चरम शारीरिक यातना दिइयो।
प्रचण्डसँग २५ वर्षसम्म सँगै रहेर पनि सौतेनी छोराको जस्तो व्यवहार खेप्दै आएका डा. भट्टराईको तीनदशक लामो राजनीतिक जीवन निकै उतार-चढावपूर्ण छ । डा. भट्टराई माओवादीमै लागेर प्रधानमन्त्रीसम्म बन्न सफल भए । र, सँगैसँगै आँशु खसाल्नुपर्ने अवस्थामा पनि पुगे ।
प्रचण्डसँग एकता गर्नुअघि :
गोरखाको किसान परिवारमा जन्मिएका डा. बाबुराम भट्टराई एलएलसीका बोर्डफस्ट हुन् । ६ वर्षकै उमेरदेखि राजाविरोधी भावना जागृत भए पनि स्कुले जीवनमा राजनीतिमा सक्रिय नभएका डा. बाबुराम भट्टराई पढाइमा अब्बल थिए।
एसएलसीपछि डा. भट्टराईले काठमाडौं आएर अमृत साइन्स कलेजमा पढे । त्यहीँ पढ्दापढ्दै राजनीतिमा सक्रियता देखाउने गरे पनि उनले भारतमा गई अध्ययन गर्न थालेपछि औपचारिक राजनीति थालेका हुन् । आईएस्सीमा सर्वप्रथम भएपछि उनी कोलम्बो प्लानअन्तरगत इन्जिनियरिङ्ग पढ्न भारतको चण्डीगढ गए । त्यतिबेला तत्कालीन भारतका प्रधानमन्त्री मनमोहन सिंहले सोही कलेजमा पढाउँथे।
चण्डीगढमा ०३३ सालमा भट्टराईकै नेतृत्वमा नेपाली विद्यार्थी संघ भन्ने संगठन स्थापना भयो । उनी विद्यार्थी राजनीतिमा सक्रिय बने । ०३४ मा इन्जिनियरिङ्गमा ग्य्राजुयट गरिसकेपछि पोष्ट ग्य्राजुयट गर्न दिल्ली गएका बाबुरामले आफ्नो योजनामा अखिल भारत नेपाली विद्यार्थी संघ गठन गरे । भारतमा प्रवासी नेपाली विद्यार्थीहरुको यो पहिलो संगठन थियो।
वि.सं.०३७ सालमा बरिष्ठ वाम नेता मोहनविक्रम सिंहमार्फत् पार्टीको सदस्यता लिएका बाबुराम ०३७ पछाडि अखिल भारत नेपाली एकता समाजको पश्चिमोत्तर समितिको सभापति बनेका उनी त्यसपछि मजदुरहरुका बीचमा राजनीतिक काममा खटिएका थिए । उनी ०४२ सालमा दिल्लीबाट काठमाडौं फर्किए र मसालको काठमाडौं जिल्ला सेक्रेटरी एवं बाग्मती ब्यूरो सदस्य भएर कम्युनिष्ट पार्टीको राजनीति सुरु गरे।
मसाल छाडेर ०४८ एकताकेन्द्रसँग एकता गरेपछि प्रचण्ड र बाबुरामको औपचारिक सहकार्य सुरु भएको हो । ०५१ सालदेखि माओवादी जनयुद्ध शुरु भएपछि प्रचण्ड बाबुराम एकता अरु निकट भयो । त्यसो त पञ्चायती व्यवस्थाविरुद्ध जनआन्दोलन हुँदा बाबुराम भट्टराई र प्रचण्ड एउटै मोर्चामा थिए ।
मोहनविक्रम नेतृत्वको पातलो मसाल, प्रचण्ड नेतृत्वको मोटो मशाल र रुपचन्द्र विश्वकर्मा नेतृत्वको पार्टी आपसमा मिलेर ‘संयुक्त राष्ट्रिय जनआन्दोलन’ नामक साझा मोर्चा बनाइएको थियो, जसको संयोजकमा डा. भट्टराई नियुक्त भएका थिए । तर, डा. भट्टराईको पार्टी आवद्धता चाँहि प्रचण्डसँग नभई मोहनविक्रमसँग थियो।
बहुदल आएपछि डा. भट्टराईले संविधानसभाको पक्षमा आवाज उठाए भने प्रचण्डले संविधानसभाको कुरा गर्नेहरुलाई संविधानसभा विरोधी भन्दै लेख लेखे । संविधानसभाकै नाराका कारण उनीहरुको मोर्चा निश्क्रिय भयो । बुहदल आएपछि ०४८ सालमा प्रचण्ड र निर्मल लामा, नारयाण्काजी श्रेष्ठहरुवीच पार्टी एकता भई नेकपा एकताकेन्द्र गठन भयो । डा. बाबुराम भट्टराईले पनि मोहनविक्रम सिंहको पार्टीबाट विद्रोह गरे।
त्यसपछि हरिबोल गजुरेलको नेतृत्वमा डा.बाबुराम भट्टराई, टोपबहादुर रायमाझी, राम कार्की लगायतका नेताहरु प्रचण्डको पार्टीमा विलय भए । त्यहीँदेखि ०७२ सालसम्म प्रचण्ड र बाबुराम एउटै पार्टीमा लामो समयसम्म रहे।
काठमाडौंको त्यो ’दाह्रीवाल’ बाबुराम :
बाबुरामहरुसँग पार्टी एकता गरेपछि पनि प्रचण्ड भूमिगतै रहे भने बाबुरामको नेतृत्वमा संयुक्त जनमोर्चा नेपाल गठन भयो । संयुक्त जनमोर्चाले ०४८ सालको चुनावमा ९ सीट जितेको थियो । लीलामणि पोख्रेलहरुले त्यसबेला संसदमा भूमिका खेलेका थिए भने डा. भट्टराईले सडकको मोर्चा सम्हालेका थिए । चे ग्वेभाराका जस्तै दाह्री पालेका बाबुरामले जुलसमा मसाल बोकेको तस्वीरहरु अहिले पनि हेर्न पाइन्छन् ।
बागबजारको भित्तोमा नारा लेख्न खोज्दा एमाले अखिलका रुपनारायण श्रेष्ठहरुले बाबुराममाथि खुकुरी प्रहार गर्न खोजेको काण्ड त्यही बेलाको हो।
जनादेश साप्ताहिक र झिल्कोमा लेखहरु लेखिरहने डा. भट्टराईलाई प्रचण्ड र मोहन वैद्यहरुले आफ्नो पार्टीमा लिएर वैधानिक मोर्चाको जिम्मेवारी दिए पनि एकदमै शंकाको नजरले हेर्थे । बाबुरामलाई उनीहरु शहरिया बुद्धिजीवी एवं बुर्जुवाका रुपमा हेर्थे र अविश्वास गर्थे । यही क्रममा जनयुद्ध सुरु गर्नुअघि केही समय बाबुरामलाई संयुक्त मोर्चाबाट हटाएर पम्फा भुसाललाई संयोजक बनाइएको थियो । पछि फेरि बाबुरामलाई नै पुनर्बहाली गरियो।
बाबुराम भाग्ने प्रचण्डको आशंका :
माओवादीले जनयुद्ध सुरु गर्नुअघि सरकारलाई ४० बुँदे मागपत्र बाबुरामकै नेतृत्वमा बुझाइएको थियो । तर, प्रचण्ड र वैद्यलाई के आशंका थियो भने जनयुद्ध सुरु भएपछि बाबुरामले पार्टी छाड्नेछन् र युद्धमा जान डराउने छन्। तर, बाबुरामले काठमाडौंको घर बेचेर सपरिवार जनयुद्धमा जाने निर्णय गरे । हिसिला पनि कलेजको जागिर छाडेर भूमिगत भइन् । जनयुद्ध कालभरि बाबुाराले प्रचण्डलाई साथ दिए । उनी जनयुद्धमा लाग्दैनन् भन्ने प्रचण्ड समूहको अनुमान गलत सावित भयो । बरु साथ दिने ठानिएका नारायणकाजी श्रेष्ठहरुको समूह जनयुद्धको कार्यदिशासँग असहमत भई अलग्गियो।
प्रचण्डपथसँगै किचलो :
जनयुद्ध सुरु भएको अढाइ वर्षपछि प्रचण्ड र बाबुरामवीच दुई लाइन संघर्ष देखापर्यो । पार्टी बाहिर बाबुरामको नाम र तस्वीर हाइलाइट हुन थालेको थियो भने प्रचण्डको तस्वीरसम्म बजारमा सार्वजनिक भएको थिएन । प्रचण्ड कोहो, ज्ञानेन्द्र पो हो कि भन्ने आशंका आम मानिसहरुमा थियो । फलस्पस्वरुप ०५४ को चौथो विस्तारिक बैठकले प्रचण्डको फोटो सार्वजनिक गर्ने, पार्टीमा प्रचण्डलाई प्राधिकार सुम्पने र ’प्रचण्डपथ’ अंगीकार गर्नेबारे छलफल अघि बढ्यो, जसलाई बाबुरामले व्यक्तिवादको संज्ञा दिँदै विरोध गरे।
तर, प्रचण्डलाई नेतृत्व स्थापित गर्ने र नेतृत्व केन्द्रीकरण गर्ने यो प्रस्तावलाई ०५७ सालको दोस्रो राष्ट्रिय सम्मेलनले औपचारिकता दियो । यो निर्णयपछि विस्तारै बजारमा प्रचण्डको व्यक्तित्वले बाबुरामको नामलाई रिप्लेस गर्न थाल्यो । पार्टीमा प्रचण्डको पकड पहिल्यैदेखि एकछत्र थियो । बाबुरामलाई तलदेखि माथिसम्म शंकालु नजरले हुर्ने स्कुलिङ थियो।
पार्टीमा भट्टराईको वैचारिक हस्तक्षेप :
संगठनमा कमजोर प्रभाव भए पनि प्रचण्डले बाबुरामलाई नीति निर्माणको उच्च तहमा लगेर सम्मान गरेका थिएनन् भन्नु प्रचण्डमाथिको अन्याय हुनेछ । विस्तारै बाबुरामले युद्धमा रहेको माओवादी पार्टीलाई संविधानसभाको नारामा सहमत गराए । कांग्रेस र एमालेसँग मिलेर लोकतन्त्रको नारामा सहकार्य गर्नुपर्ने १२ बुँदे समझदारीसम्म तानेर ल्याए।
सरकार र माओवादीवीचको वार्ताको समेत नेतृत्व गरेका भट्टराईले नै माओवादीलाई शान्ति र संविधानको एजेन्डामा तानेर ल्याएका हुन् । तर, उनको लाइनमा प्रचण्ड कन्भिन्स नभएको भए यो सम्भव थिएन । माओवादीमा भन्ने गरिन्थ्यो, वार्ता, शान्ति र संविधानको लाइन बाबुरामको हो र विद्रोहको लाइन मोहन वैद्यको हो।
तर, वैद्य भारतमा जेल परेको मौकामा सिंगै माओवादीलाई शान्ति र संविधानको कार्यदिशामा डोर्याउने र प्रचण्डलाई आफ्नो लाइनमा हिँडाउन बाबुराम सफल भएकै हुन् । पार्टीभित्रको फरक मत नेपाल साप्ताहिकमा सार्वजनिक गरेको लगायतको आरोपमा रोल्पाको एउटा घरमा बाबुरामलाई लालसेनाले थुनेर राखेका बेला ज्ञानेन्द्रले सत्ता हातमा लिएका थिए । ज्ञानेन्द्रले माघ १९ को कु गर्दा रोल्पामा फुण्टीबाङमा माओवादीको बैठक चलिरहेको थियो । ज्ञानेन्द्रले वार्तामा बोलाउने प्रचण्डलाई आशा थियो, तर उनले माओवादीलाई आतंककारी घोषणा गरिदिएका थिए।
त्यतिबेला पार्टीमा प्रचण्ड राष्ट्रवादीसित मिलेर भारतसँग सुरुङ युद्ध गर्नुपर्ने लाइनमा थिए भने बाबुराम चाँहि कांग्रेस र एमालेसँग मिलेर ज्ञानेन्द्रको निरंकुशताविरुद्ध लड्नुपर्ने लाइनमा थिए । अन्ततः ज्ञानेन्द्रले माओवादीप्रति कडा रुप अपनाएपछि प्रचण्डले बाबुरामको कारवाही फुकुवा गरे । बाबुरामले प्रचण्डलाई दिल्ली लिएर गए र त्यसपछि १२ बुँदे समझदारी भयो र राजनीतिले अहिलेसम्मको कोर्ष समात्यो । शान्ति प्रक्रियामा आएपछि पनि मोहन वैद्य समूहले पार्टीलाई विद्रोहको लाइनमा तान्न खोज्यो । यही क्रममा पार्टी फुट्यो । बाबुरामले भने संविधानसभाबाट संविधान बनाउने लाइनलाई अघि बढाए । प्रचण्ड र बाबुराम यसवीचमा एक साथ रहे । सेना समायोजन भयो र संविधानसभाको कोर्ष पूरा भयो।
शान्तिकालको खटपट र धोबीघाट :
शान्ति प्रक्रियामा आएपछि पनि प्रचण्ड र बाबुरामको सम्बन्ध उतार चढावपूर्ण रह्यो । बाबुरामले पार्टीभित्र पटक-पटक फरक मत राख्दै आए । यद्यपि हेटौंडामा आयोजित महाधिवेशनमा भने प्रचण्ड र बाबुरामवीच राजनीतिक एकता भयो। यसैक्रममा ललितपुरको धोबीघाट काण्ड एमाओवादीभित्रको चर्चित मानिन्छ । वैद्यसमूह र नारायणकाजी समूहले मिलेर धोबीघाटमा आयोजना गरेको भेलाबाट पार्टीको नेतृत्व हत्याउन खोजिएको आरोप प्रचण्डले बाबुराममाथि लगाए।
हेटौडा महाधिवेशनमा प्रचण्ड र बाबुरामवीच दुरी कम भए पनि फेरि अन्तरविरोध चुलियो । यसैक्रममा बिराटनगरमा आयोजित राष्ट्रिय सम्मेलन नै छाडेर बाबुराम समूह बाहिरियो । त्यसयता भट्टराई समूहले समानान्तर कमिटी चलाएको आरोप निरन्तर खेप्दै आयो।
प्रधानमन्त्रीका रुपमा १८ महिना :
माओवादी शान्ति प्रक्रियामा आइसकेपछि भएको ऐतिहासिक पहिलो संविधानसभा निर्वाचनमा सबैभन्दा बढी मत ल्याएका बाबुराम ०६८ सालमा नेपालको ३५ औं प्रधानमन्त्री भए । वि.सं.०६८ साल भदौ ११ गते व्यवस्थापिका संसदमा भएको निर्वाचनबाट बहुमत प्राप्त गरी मुलुकको ३५ औं प्रधानमन्त्री बनेका उनले करिव १८ महिना राज्य सञ्चालन गरे।
भट्टराईकै प्रधानमन्त्रित्वकालमा माओवादी सेनाका लडाकूहरुको नेपाली सेनामा समायोजन र हतियार व्यवस्थापनसहित शान्ति प्रक्रियाको सबैभन्दा महत्वपूर्ण काम सम्पन्न भयो । सरकारको नेतृत्व गर्दा काठमाडौंको सडक विस्तारसहितका महत्वपूर्ण काम गरी चर्चा बटुलेका भट्टराई पहिलो संविधानसभाबाट संविधान बनाउन असफल बने।
भट्टराईकै कार्यकालमा पहिलो संविधानसभा विघटन भएपछि भए मुलुककै सबैभन्दा ठूलो पार्टी विभाजित भएर छिन्नभिन्न भयो । यद्यपि दोस्रो संविधानसभाको निर्वाचन सम्पन्न भई नयाँ संविधान जारी भइसकेपछि तिनै एकीकृत माओवादीका नेता भट्टराईले अन्ततः असोज ९ गते शनिवार माओवादी पार्टी नै परित्याग गर्न पुगेका छन्।
साथीहरु छुटे, भविश्य अन्यौल :
एमाओवादीभित्र टोपबहादुर रायमाझी, देवेन्द्र पौडेल, हिसिला यमी, प्रभु साह, गंगानारायण श्रेष्ठ, रामरिझन यादव, वामदेव क्षेत्री, डोरप्रसाद उपाध्याय, हेमराज भण्डारीलगायतका नेताहरु डा. भट्टराईका निकट मानिन्छन् । तर, पार्टी परित्याग गर्दा भट्टराईले एक्लै छाडेका छन्। पछिल्लो समयमा मधेसी नेता रामचन्द्र झा, रामकुमार शर्मा, महेन्द्र पासवान लगायतले डा. भट्टराईलाई साथ दिने देखिएको थियो । कतिपयले भट्टराईका सहयोगीहरु अब के गर्लान् भन्ने प्रश्न पनि उठाएका छन् यतिबेला । पार्टी परित्याग गर्दा डा. भट्टराईले अब के गर्ने भन्ने खासै खुलासा गरेका छैनन् । उनले सामान्य नेपाली नागरिकका रुपमा देशको सेवा गर्ने बताएका छन्।
पार्टी छाडेको घोषणासँगै अब डा. भट्टराईमाथि पार्टी भित्र र बाहिरबाट चर्को आलोचना वा टिप्पणी भइहरेको छ र हुनै नै छ । तर, त्यो भन्द रोचक प्रश्न त यो छ कि बाबुराम भट्टराईविनाको माओवादी पार्टी अब कस्तो होला ? कसैले माने पनि या नमाने पनि माओवादी आन्दोलनमा डा. भट्टराई त्यस्ता पात्र हुन्, जसले माओवादीलाई वौद्धिक वर्गप्रति आकर्षण गराए । फिलिपिन्स र पेरुको बाटोमा हिँड्न लागेको माओवादीलाई काठमाडौंसम्म ल्याएर छाडिदिए । यसक्रममा उनले प्रचण्डको ढाडमा टेकेर संविधानसभा र गणतन्त्रको आफ्नो मिसन पूरा गराई माओवादीबाट विदा भए।
बाबुराम भट्टराई त्यस्ता अभागी पात्र हुन्, जसले २५ वर्षको उर्जाशील समय बिताएको आफ्नै पार्टीभित्र सधैं अपमान र बदनामीको शिकार बन्नुपर्यो । र, अहिले फेरि माओवादीमा लगाएका गुन बिर्सेर उनीमाथि माओवादीहरुले गाली बर्साइरहेका छन् । भनिन्छ, कम्युनिष्टको जातै बैगुनी । काम गुरुञ्जेल आफ्नो, छाडेपछि पराई। अब सामान्य नागरिक भएर बस्छु भन्ने आफ्नो सहयात्रीलाई धन्यवाद दिने संस्कार कम्युनिष्टहरुको स्कुलिङमा छैन । त्यसैले अब निश्चित छ, बाबुरामले आफ्नै सहयात्रीको व्यवहारबाट धेरै रुनुपर्ने देखिन्छ।अनलाईनखबरबाट
|
0 comments:
Post a Comment