|
विश्वका विभिन्न मुलुकले आक्रमणको निन्दा गरिरहेका छन्। पेरिसलाई परेको यो पीडामा विश्वविख्यात सेलिब्रेटीहरूले पनि मल्हम लगाउने प्रयास गरेका छन्।
सामाजिक सञ्जालमार्फत हलिउड सेलिब्रटीले आक्रमणको निन्दा गर्दै आक्रमणमा परी ज्यान गुमाएका फ्रान्सेली नागरिकप्रति समवेदना प्रकट गरिरहेका छन्।
आक्रमणको निन्दा गर्दै आवाज उठाउनेमा क्यानेडेली गायक जस्टिन विबरदेखि टेलर स्विफ्ट, लिन्डसे लोहन, वियोन्से, डेमी लोभाटोसम्मका सेलिब्रेटी छन्।
‘पेरिसमा भएको दुःखद घटनाप्रति दुःखी छु र आक्रमणमा परी ज्यान गुमाउनेहरूका आफन्तजनलाई सम्हालिन आग्रह गर्छु, सबैलाई धेरैधेरै माया पनि’, जस्टिनले इन्टाग्राममा उल्लेख गरेका छन्।
गायिका टेलर स्विफ्टले पेरिस घटनाले आफ्नो मन रोइरहेको र सबैका लागि प्रार्थना गरिरहेको जनाएकी छन्। वर्ष २०१५ मा सबभन्दा धेरै कमाउने गायिकाहरूको सूचीमा परेर चर्चामा रहेकी टेलरले भनेकी छन्, ‘हामी पीडितका साथमा छौं।'
त्यसैगरी अर्की गायिका लिन्ड्से लोहनले घटनाप्रति दुःख व्यक्त गर्दै मानिसले शान्तिपूर्ण रूपमा बाँच्न पाउनुपर्ने विचार व्यक्त गरेकी छन्। उनले एकअर्कामा माया बाँड्न आग्रह गर्दै लडाइँ झगडा नगर्न आग्रह पनि गरेकी छन्।
अमेरिकी टेलिभिजन पर्सनालिटी एवं निर्मात्री क्रिस जेनरले पेरिसमा भएको घटनाप्रति दुःख व्यक्त गर्दै पीडितलाई सबैको मायाको खाँचो भएको बताएकी छन्।
विश्वचर्चित गायिका वियोन्से, मोडेल एवं टेलिभिजन पर्सनालिटी केली जेनर, गायिका एवं मोडेल डेमी लोभाटोलगायतका दर्जनौं सेलिब्रेटीले पेरिसका लागि प्रार्थना गरी पीडितको समर्थनमा आवाज उठाइरहेका छन्। यो क्रम बढ्दो छ। एजेन्सी
|
0 comments:
Post a Comment