|
सोमालियाको राजधानी मोगादिशुस्थित एक चर्चित होटलमा गरिएका दुईवटा कार बम हमलामा कम्तीमा पन्ध्र जनाको ज्यान गएको छ।
मारिनेहरुमा एकजना सांसद तथा चार वर्ष अघि राजधानीबाट अल शबाब विद्रोहीहरुलाई धपाउने कारवाहीको नेतृत्व गरेका सेनाका जनरल पनि छन्।
सो हमलामा घाइते भएका एकजना फोटो पत्रकार फैसल ओमारले भने, "मैले फोटोहरु लिइरहेको बेला विष्फोटक पदार्थले भरिएको एउटा मोटर म नजीकै आएर विष्फोट भयो। म भुईंमा लडें र रगत बग्न थाल्यो। मसंगै रहेका अर्का पत्रकारको भने मृ्त्यु भयो। भाग्यले गर्दा म बाँच्न सफल भएँ।" उग्रवादीहरुले कैयौं घन्टासम्म कब्जा गरेको सो होटलमा अहिले आफुहरुले नियन्त्रण कायम गरेको अधिकारीहरुले जनाएका छन्।
धावा
प्रहरीका अनुसार उग्रवादीहरुले राजधानी मोगादिशुस्थित सहाफी होटल परिसरमा एकाबिहानै दुईवटा कार बम विष्फोट गराएपछि होटलभित्र धावा बोलेका थिए।
त्यसपछि कैयौं घन्टासम्म उनीहरुको सुरक्षादलहरुसंग दोहोरो गोली हानाहान भएको थियो।
अधिकारीहरुले अफ्रिकी संघका सैनिक तथा सुरक्षा दलहरुले अहिले होटलमाथि नियन्त्रण कायम गरिसकेको जनाएका छन्।
कम्तीमा पन्ध्रजनाको ज्यान गएको र मारिनेहरुमा एकजना सैनिक जनरल, एकजना सांसद तथा सो होटलका मालिक पनि छन्।
हमलामा मारिने जनरल अब्दिकरिम धागावदनले सन् २०११ मा अल शबाब उग्रवादीहरुलाई राजधानीबाट हटाउन गरिएको कारवाहीको नेतृत्व गरेका थिए।
अल शबाबले सो हमलाको जिम्मा लिएको छ।
रणनीति
बीबीसी विश्व सेवाकी अफ्रिका सम्पादक मेरी हार्पर भन्छिन्, यसअघि अल शबाब विद्रोहीहरुले मोगादिशुमा दिउँसो वा बेलुका हमला गर्ने गर्दथे। तर यसपटक उनीहरुले तिनका रणनीतिमा परिवर्तन गरेजस्तो देखिन्छ।
हाम्रा संवाददाता भन्छन्, गत केही समय यता मोगादिशुमा सुरक्षा स्थितिमा सुधार आएको छ, तर अल कायदासंग आबद्ध अल शबाबले राजधानीमा पटक पटक हमलाहरु गर्ने गर्दछ।
यी हमला जिहादी लडाकुहरु तथा अफ्रिकी संघको सैन्यबीच इथियोपियासंग सीमा जोडिएको बकुल प्रान्तमा भीडन्त भएको एक दिनपछि गरिएका हुन्।
अफ्रिकी संघले सोमालियाको सरकारलाई अल शबाबसंगको लडाईंमा सघाइ रहेको छ।
अल शबाब उग्रवादीहरुले सन् २००६ मा राजधानी मोगादिशु लगायत देशका दक्षिणी भागमा नियन्त्रण जमाएका थिए। पछि इथियोपियाली सैन्यको मदतबाट सोमालियाको अन्तरिम सरकारप्रति वफादार सैन्यले उनीहरुलाई राजधानीबाट धपाएका थिए।
हमला
तर त्यसयता अल शबाबले मोगादिशु र छिमेकी मुलुकहरुमा पनि पटक पटक हमलाहरु गर्दै आएको छ।
चार वर्ष अघि केन्याले सोमालियाको सीमाभित्र प्रवेश गरी आफुहरुमाथि गरेको हमलाको बदला लिन यसै वर्ष अप्रिल महिनामा अल शबाब उग्रवादीहरुले केन्याको गरिसा विश्वविद्यालय कलेजमा हमला गरी झण्डै डेढसय जनाको ज्यान लिएका थिए।
झण्डै दुई दशकसम्म औपचारिक संसद विना नै सन्चालन भैरेहेको सोमालियामा सन् २०१२ मा अन्तर्राष्ट्रिय समर्थनप्राप्त सरकार स्थापना गरिएको थियो।
तर अफ्रिकी मुलुक सोमालियाले थुप्रै आर्थिक तथा सुरक्षा चुनौतीहरु व्यहोरिरहेको छ।
|
0 comments:
Post a Comment