|
महोत्तरी, ६ असोज । मधेस आन्दोलनका कारण यातायात ठप्प भएपछि जनकपुर अञ्चलभरि अत्यावश्यक औषधिको अभाव देखिएको छ । तत्कालै चाहिने औषधि बजारमा अभाव भएपछि स्थानियहरु झन चिन्तित बनेका छन् । जनकपुर अञ्चल औषधि व्यवसायी सङ्घका उपाध्यक्ष शम्भुप्रसाद भट्टराईले सर्लाही, महोत्तरी, सिन्धुली, धनुषा, रामेछाप र दोलखा जिल्लामा सञ्चालित औषधि पसलमा औषधिको चरम अभाव हुँदै गरेको बताए । रक्तचाप, मधुमेह, मुटुरोग लगायतका बिरामीले दैनिक खाने ५० पैसाको क्याप्सुलको पनि अभाव देखिएपछि बिरामी निकै मारमा परेका सङ्घका उपाध्यक्ष भट्टराइले बताए ।
‘नभई नहुने, दैनिक चाहिने औषधि सकिएको एक हप्ता भयो’ शान्ता मेडिकल हल बर्दिवासकी सञ्चालिका मन्दिरा भट्टराईले भनिन् ‘पे्रसर, सुगरजस्ता १०० बिरामी मेरो औषधि पसलको दैनिक ग्राहक छन् । उनीहरुले औषधि किन्न पाएका छैनन् ।’
बिरामीलाई सबैभन्दा पहिला प्रयोग गरिने स्लाइन पानी पनि आफूसँग नरहेको निशान्त फार्मेसी गौशाला, महोत्तरीका सञ्चालक नरेशप्रसाद गुप्ताको गुनासो छ । विगत ४० दिनदेखि मधेसमा आन्दोलन चलिरहेको छ । सडकमा सवारी गुड्न छाडेपछि औषधि ढुवानीका लागि समस्या भएको जनकपुर अञ्चल औषधि व्यवसायीहरुले बताएका छन् । हवाई मार्गबाट पनि औषधि लान सक्ने अवस्था नरहेको बताइएको छ ।
|
0 comments:
Post a Comment