|
काठमाडौँ ३ मंसिर ।गोंगबुस्थित देवकोटा सप्लायर्स(ग्यास डिलर) मा बुधबार बिहान करिब १० बजे ग्यास लिने उपभोक्ताको भिड थियो । पहिल्यै नाम टिपाएका उपभोक्ताले ग्यास पाएकै थिएनन्, ३ जना प्रहरीले ४ वटा खाली सिलिन्डर ल्याएर पसलमा छाडिदिए । ती प्रहरीले पसलेलाई आदेश दिए, ‘हामीले ४ वटा खाली सिलिन्डर ल्याएका छौँ । यो भाइलाई मिलाएर ग्यास पठाइदिनू ।’ लगत्तै अर्का एक प्रहरी (पहिलेका वरिष्ठ देखिने) आएर ४ सिलिन्डर ग्यास दिन सञ्चालकलाई राजी गराए ।
यी दृश्य देखेपछि बिहानदेखि ग्यास पाउने आशामा पसलमा बसेका उपभोक्ता अवाक भए । प्रहरी गएपछि भीडबाट एकजना उपभोक्ताले भने, ‘प्रहरीको बर्दीमा आयो भने त हामीले सजिलै ग्यास पाउने रहेछौँ ।’ केही छिनमै फेरि अर्को एकजना प्रहरी आए । उनले कसैलाई फोन गरे । केही क्षणमै एक पु्रुष र एक महिला आइपुगे । पुरुषचाँहि गीता ब्रान्डको सिलिन्डर लिएर आएका थिए । उक्त सिलिन्डर आफ्नो पसलमा नभएकाले साटफेर गर्न गाह्रो भएको कर्मचारीले बताए । तर, ती प्रहरीले ‘आफ्नो मान्छे हो, मिलाइदिनुपर्यो’ भने । आफूले सिफारिस गरेका महिला–पुरुषले ग्यास पाएपछि ती प्रहरी मोटरसाइकलमा हुँइकिए ।
पसलमा ग्यास आउने खबर पाएर जम्मा भएका सर्वसाधारणलाई भने नागरिकताको फोटोकपीसहित खाली सिलिन्डर छाडेर जान पसलेले अनुरोध गरे । ग्यास नपाएपछि पसलेले भनेजस्तो गर्नुको विकल्प उपभोक्तासँग थिएन । उनीहरूले हप्ता दिनदेखि महिना दिनसम्म कुर्नुपर्ने भनेर पसलका कर्मचारी सम्झाउँदै थिए । ‘अहिले आएको ग्यास पहिला नै नाम टिपाएकालाई वितरण हुदैँछ,’ ती कर्मचारीले भने,‘त्यसैले बुधबार नाम टिपाएकाको पालो त कम्तीमा एक सातापछि मात्रै आउँछ, फोन गर्नुहोला ।’आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
|
0 comments:
Post a Comment